जलाधारले संरक्षण गरेकाे चिटिक्क ढुंगेधारा

जुम्लाको प्रसिद्ध पर्यटकीय गन्तव्य गुठीचौरकाे फराकिलो पाटनकाे एक छेउमा आकर्षक डिजाइकाे ढुंगेधारा छ। भेडाबाख्रा अनुसन्धान केन्द्रकाे घेराबारसँग जाेडिएकाे ढुंगेधारा सडक निर्माणको क्रममा खनिएको माटो र पहिराेले पुरिएको थियो।

हिन्दु र बाैद्ध कलामा मिश्रित शैली देखिने ढुंगेधारालाई बाटाे हिँड्ने बटुवाले देवल धारा भनि नामाकरण गरेका छन्। बाटाेमुनि पानीको मुहानमा बनाइएकाे ढुंगेधारा आवतजावत गर्ने बटुवाकाे लागि तिर्खा मेट्ने र थकाइ मार्ने चाैतारीसमेत हाे।

सडक खन्नुभन्दा अगाडि वर्षामा गाई, भैंसी र घाेडी चराउन जाने गाेठाला र बटुवाकाे पानी खाने गतिलाे मुहान सडक खनेपछि जम्मा भएकाे माटाे र त्यहीँ आएकाे पहिराेका कारण पुरिएकाे स्थानीयको भनाइ छ।

हिन्दु र बाैद्ध कला शैली मिसिएका देवलहरु खास गरी खस साम्राज्यकालीन अवस्था र त्यसपछिका टाकुरे राजाकाे पालामा निर्माण भएकाे देखिन्छ। तर केही गाउँघरमा यसरी निर्माण भएका अधिकांश स्मारकहरुलाई पाण्डवले बनाएकाे भनेर किंवदन्ती निर्माण गरिएकाे छ।

ठिक यसरी नै गुठीचाैर नजिकै रहेकाे देवल धाराको निर्माणबारे एउटा किंवदन्ती छ। पाँच भाइ पाण्डव एक हप्ता यहाँ बसेर त्यो धारा निर्माण गरी पानी खाएको स्थानीय तुला बोहोराले बताए।

उनका अनुसार पाण्डवहरु अगेनामा भात बिसाएर वरिपरि घुमुन्जेल नपाकेकाे हुनाले उक्त ठाउँमा धान नपाक्ने निष्कर्षसहित निस्किएका थिए। उक्त क्षेत्र वरपर धान खेती हुँदैन।

देवलकाे आकारमा निर्माण गरिएकाे ढुंगेधारामा कलात्मक ढंगले ढुंगा काटिएकाे छ। यस्ताे ऐतिहासिक र पुरातात्त्विक महत्व बाेकेकाे ढुंगेधारा पुरिएकाे खबर पाएपछि संरक्षणमा लागेकाे भू तथा जालाधार व्यवस्थापन कार्यालयका प्रमुख हिमालय साउदले बताए।

‘हामीले त्यो पानीको मुहान संरक्षणका लागि लगानी गरेका हाैं’, उनले भने, ‘कंक्रिट संरचनामा नजाने र पुरातात्त्विक महत्व बाेकेकाे ढुंगेधारा संरक्षण गर्ने शर्तमा लगानी गरिएकाे हाे।’

उनका अनुसार उक्त ढुंगेधारा उत्खननका निम्ति जउलेधारा पानी मुहान संरक्षण समिति नामक उपभोक्ता समिति निर्माण गरिएकाे थियाे। दुईवटा एकैनासे धारासँगै भएकाे हुनाले ती धारालाई जउले धारा भनिएकाे हाे। स्थानीय भाषाअनुसार जउले भनेकाे जुम्ल्याहा हाे।

‘जउलेधारा उत्खननका निम्ति लागि १८ लाख ७७ हजार ४५० रुपैयाँ लागत रहेको छ,’ साउदले भने, ‘यसमा कार्यालयकाे लागानी १४ लाख ४० हजार रहेकाे छ भने बाँकी जनश्रमदानबाट बनेकाे छ।’

पुरिएकाे ढुंगेधारा उत्खनन मात्रै गरिएकाे छैन। बरु त्यसलाई कहिले पुरिन नदिने गरी वरिपरि ग्याबिन जालीसमेत हालेर संरक्षण गरिएकाे छ। जसले उत्खनन गरिएकाे ढुंगेधारा अब लामाे समयसम्म संरक्षित हुनेछ।

पछिल्लो समय जलाधार व्यवस्थापन अतिआवश्यक बन्दै गएकाे छ। जल, जमिन, जंगल, जडीबुटी रहेकाे खण्डमा वन जंगल, कृषियोग्य भूमि रहने उनले बताए।

‘खानेपानी, पशुपक्षी, कृषि, जैविक विविधता, पर्यटन सबैकाे आधार मुहान हाे,’ उनले थपे, ‘यी पानीका स्रोत मात्रै संरक्षण गर्न सकेकाे खण्डमा जलवायु र वातावरण परिवर्तनका नकारात्मक असरहरुलाई कम गर्न सकिन्छ।’

पछिल्ला दिनमा मुहानमा पानीको मात्रा घट्ने र मुहान सुक्ने क्रम बढ्दो रहेको गुठीचौर गाउँपालिका-२ कोल्त्याका तुल बोहोराले बताए। ‘गाउँघरसम्म जाने सड खन्दा उपयुक्त विधि नअपनाउँदा पानीका मुहान पुरिने र सुक्ने समस्या आइरहेका छन्’, उनले भने।

उनका अनुसार इतिहाससँग जोडिएको ढुंगेधारा बाढीपहिरोले पुरेपछि उत्खनन गरी पुनःनिर्माण गरिएकाे हाे।

भू तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाले हुम्ला, डोल्पा, मुगु, कालिकोट र जुम्लमा पानीका मूल सुक्ने समस्या देखिएपछि पोखरी पुनःस्थापना, आकाशे पानी सङ्कलन, मूल पुनर्भरणका कार्यक्रम र बाढी पहिरोको जोखिम रहेका ठाउँमा तटबन्धन गर्दै आएको छ।

प्रकाशित मिति: : 2023-07-21 11:44:00

प्रतिकृया दिनुहोस्