संगीतर एवम् रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीका गीत रेडियोमा बजाउन प्रतिबन्ध लगाइएको छ। नेपाली रेडियोका संगठनले उनका गीत बनाउन प्रतिबन्ध लगाएका हुन्।
बिहीबार विज्ञप्ति जारी गर्दै स्वतन्त्र रेडियो सम्बद्ध छाता संगठन रेडियो ब्रोडकास्टर्स फोरम (आर.बी.एफ) नेपाल, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बिएएन) र सामुदायिक रेडियो प्रसारक संघ (एक्योर्याब)ले रेडियोमा अधिकारीका गीत नबजाउने बताएका छन्।
अधिकारीले रेडियोलाई अपमान गर्दै केही दिनअघि फेसबुकमा स्टाटस लेखेका थिए। रेडियोले गीत बजाएर रोयल्टी नतिरेको विषयलाई लिएर संगीतकार अघिकारीले रेडियोप्रति अभिव्यक्ति दिएका थिए। उनको अभिव्यक्तिको भ्रत्सना गर्दै रेडियोका संगठनहरुले विज्ञप्ति जारी गरेका हुन्।
जारी विज्ञप्तिमा भनिएको छ,‘सञ्चारमाध्यमलाई लक्षित गर्दै प्रसारण गृहमा आक्रमण गर्नेसम्मको अभिव्यक्ति दिनु पक्कै पनि विधि, विधान र लोकतान्त्रिक चरित्र विपरीतको कार्य भएकाले यस्तो अराजक अभिव्यक्तिले समग्र स्वतन्त्र रेडियो र नेपाली संगीत क्षेत्रबीचको सुमधुर सम्बन्धमा समेत नकारात्मक प्रभाव पार्न सक्ने कुराको महसुस गर्दै उहाँका सम्पूर्ण सांगीतिक कृतिहरु रेडियोबाट प्रसारण गर्न नसकिने व्यहोरा जानकारी गराउँदछौँ।’
विज्ञप्तिमा आरबीएफ नेपालका अध्यक्ष आरके श्रेष्ठ, बानका अध्यक्ष कुमार भट्टाई र अकोराबका अध्यक्ष अर्जुन गिरीले हस्ताक्षर गरेका छन्। राज्यको चौथो अंग सञ्चार माध्यमलाई नेपाल सरकरसँग आमसंञ्चार गृहको सुरक्षाको माग समेत गरेका छन्।
संगीतकार अधिकारीले रोयल्टी विवादलाई लिएर तुच्छ शब्दमा स्टाटस लेखेका थिए। ‘तोरीहरु तिमीहरु जस्तो फुलको माला लगाएर मञ्चमा आसन ग्रहण गर्न मात्रै हामी यो कठिन अभियानमा आएका हैनौं। हामीले तिमीहरु जस्ता हजारौं खाले लुटेरा लाउकेहरुसङ्ग लडेर रोयल्टी ल्याएका छौं र त्यसलाई वास्तविक हकदार स्रष्टासम्म पुर्याएका छौं। श्रष्टाको बौध्दिक सम्पत्ती बिना रोयल्टी आफ्नो रेडियोमा बजाएर स्रष्टा मार्ने तिमीहरु हौ लाउके हो।’