जिरो टु वान ईभेन्ट म्यानेज्मेन्ट कम्पनीले आगामी शनिबार र आईतबार युएईमा आयोजना गर्ने सांगीतिक कार्यक्रममा लोकप्रिय गायक नितेषजंग कुँवर र समृद्धि राईले प्रस्तुति दिने भएका छन्।
गायक कुँवरले झन्डै ६ वर्ष पछि युएईमा सांगीतिक प्रस्तुति दिन लागेका हुन्। युएईको दुबई र अबुधाबीमा आयोजना हुने सांगीतिक कार्यक्रम 'आउनैपर्छ नाईट २' मा कुँवरसँगै चर्चित गायिका समृद्धि राईले सांगीतिक प्रस्तुति राख्ने आयोजकले जनाएको छ।
कार्यक्रममा नेपालकै चर्चित लेडिज डिजे 'नानी' र युएईको चर्चित नेपाली ब्याण्ड काब्याको समेत प्रस्तुति रहने बताइएको छ।
चर्चित होस्ट सरुले सञ्चालन गर्ने कार्यक्रम आगामी जुलाई २९ (शनिबार) दुबईको याक एण्ड यति क्लबमा आयोजना हुनेछ भने आईतबार (जुलाई ३०) अबुधाबीको मनिला बे क्लबमा हुनेछ। जिरो टु वान ईभेन्ट म्यानेज्मेन्ट कम्पनीले युएईका विभिन्न शहरहरूमा यस्ता सांगीतिक कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई विशुद्ध मनोरञ्जन प्रदान गर्न 'आउनैपर्छ नाईट २' आयोजना गरिएको हुनाले सबै नेपालीहरूलाई कार्यक्रममा आउन आयोजक दिपेन शाही ठकुरीले आग्रह गरेका छन्।