ट्रम्पद्वारा फौजदारी मुद्दा लागे पनि उम्मेदवारीबाट पछि नहट्ने घोषणा

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले आफूलाई फौजदारी मुद्दा लागे पनि आफू उम्मेदवार हुने बताएका छन्।

मध्यपश्चिम राज्य आइवामा शुक्रबार राति रिपब्लिकन पार्टीले उम्मेदवार आकांक्षीहरूका लागि आयोजना गरेको लिंकन डिनरमा सहभागीहरूलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन्।

उनले आफूले मात्र अर्को वर्ष हुने राष्ट्रपति चुनावमा डेमोक्रेटिक उम्मेदवारलाई हराउन सक्ने बताउँदै रिपब्लिकनहरूले आफूलाई छान्नुपर्ने बताए। उनले आफूले जित्ने भएकाले नै डेमोक्रेट्सहरूले नियोजित रूपमा विभिन्न मुद्दा लगाएको पनि बताए।

आगामी वर्षको राष्ट्रपति चुनावका लागि रिपब्लिकन पार्टीबाट ट्रम्पलगायत १२ जना आकांक्षी रहेका छन्। क्रिस क्रिस्टीबाहेक अन्य ११ जना आकांक्षी नै सहभागी कार्यक्रममा हरेक आकांक्षीले १० मिनेट समय पाएका थिए। 

रिपब्लिकन पार्टीमा एक दर्जन आकांक्षीहरूको भिँड भए पनि मत सर्भेक्षणमा ट्रम्प ठूलो मतान्तरले अगाडि रहेका छन्। हिजै साँंझ सार्वजनिक गरिएको मर्त सर्भेक्षणमा ट्रम्पले ५२.४ प्रतिशत र डे सान्तिसले १५.५ प्रतिशत समर्थन पाएका छन् भने अन्य आकांक्षीको समर्थन भने १० प्रतिशतभन्दा कम छ। 

यसरी एकातिर रिपब्लिकन पार्टीमा ट्रम्पको लोकप्रियता बढिरहेको छ भने अर्कोतिर उनीबिरूद्ध कानूनको हात पनि लामो हुँदैछ 

यसअघि नै उनीविरूद्ध दुईवटा फौजदारी मुद्दा खेपिरहेका छन् भने तेस्रो मुद्दा पनि दायर गरिने क्रममा छ। अब उनले सन् २०२१ जनवरी ६ मा भएको क्यापिटल हुलदंगाको मुद्दाको सामना गर्नुपर्ने छ।

उनीविरूद्धको तेस्रो मुद्दा भने पेचिलो हुने अनुमान गरिँदैछ। त्यसो भयो भने ट्रम्प जेल जान पनि सक्छन्। तर, जेल नै गए पनि उनलाई उम्मेदवार हुनबाट रोक्ने कानुनी व्यवस्था अमेरिकामा छैन। किनकि, अमेरिकामा यस्तो परिस्थिति आउला भन्ने कल्पना नै गरिएको थिएन।

जेलबाटै ट्रम्पले चुनाव जिते भनेचाँहि के हुन्छ? यो सम्भावित प्रश्नको उत्तर अहिले अमेरिकासँग छैन।

प्रकाशित मिति: : 2023-07-29 23:32:00

प्रतिकृया दिनुहोस्