अवैध सम्पत्ति आर्जन गरेको आरोपमा कोलम्बियाली राष्ट्रपतिका छोरा पक्राउ

कोलम्बियाका राष्ट्रपतिका छोरा निकोलस पेट्रोलाई अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा पक्राउ गरिएको छ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले आफ्ना छोरा निकोलसलाई आफ्नोे चुनावी अभियानसँग जोडिएको एक घोटालामा अवैध सम्पत्ति आर्जन गरेको आरोपमा पक्राउ गरिएको शनिबार बताएका हुन्।

कोलम्बियाका पहिलो वामपन्थी राष्ट्रपतिले ट्विटरमा लेखेका छन्, 'प्रहरीले उहाँका छोरा निकोलस र निकोलसकी पूर्वपत्नी डेयुरिस भास्केजलाई पक्राउ गरेको छ।'

निकोलस पेट्रोले सन् २०२२ मा आफ्ना पिताको सफल राष्ट्रपतीय अभियानका लागि लागुऔषध तस्कर र अरू तस्करहरूबाट ठूलो रकम लिएको र त्यसको प्रयोग उत्तरी सहर ब्यारान्क्विलामा विलासितामा बस्नका लागि प्रयोग गरेको गएको मार्चमा आरोप लगाइएको थियो।

पेट्रोले लेखेका छन्, 'म मेरो छोरालाई भाग्य र शक्तिको कामना गर्दछु। यी घटनाहरूले उनको चरित्र निर्माण गरोस् र तिनले आफ्ना गल्तीहरू प्रतिविम्बित गरून्।'

'एक व्यक्ति र बुबाको रूपमा यति धेरै आत्म–विनाश देख्दा पीडा हुन्छ,' उनले थपे।

अभियोजकले राष्ट्रपतिका छोरा पेट्रोलाई अवैध रूपमा सम्पत्ति आर्जन गरेको र यसको अवैध सम्वर्द्धनको आरोपमा पक्राउ गरिएको पुष्टि गरेका छन्।

यो प्रकरण सार्वजनिक भएदेखि राष्ट्रपति पेट्रोले देशका शक्तिशाली कोकिन मालिकहरूबाट पैसा प्राप्त गरेको आरोपको खण्डन गर्दै आएका थिए। उनी आफैँले आफ्नो छोरामाथि छानबिन गर्न आग्रह गरेका थिए।

निकोलस पेट्रो उत्तरी एटलान्टिक विभागमा आफ्नो पिताको पार्टीका लागि सांसद थिए। निकोलसको बैंक रेकर्डहरूबाट उनीसँग सांसदका रूपमा आर्जन हुने सम्पत्तिको तुलनामा धेरै पैसा देखिएको जनाइएको छ। 

प्रकाशित मिति: : 2023-07-30 05:35:00

प्रतिकृया दिनुहोस्