आराध्यलक्ष्मी खड्गीको ‘मतिनाया देशय्’ (मायाको देशमा) म्युजिक भिडियो सार्वजनिक भएको छ।
बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच उक्त गीतको भिडियोसहित सार्वजनिक गरिएकाे हाे।
लामो समयदेखि नेपाली गीतसंगीत, चलचित्रमा अभिनय गरिसकेकी नायिका खड्गीले आफ्नै स्वरमा पहिलो गीत सार्वजनिक गरेका हुन्।
राम खड्गी र सुर्जलक्ष्मी खड्गी प्रस्तुतकर्ताको रुपमा छन् भने भिडियोमा विजयमान सिंहले साथ दिएका छन्।
मोडल सिंह अमेरिकामा बस्दै आएका नेपाली हुन्। विशेषगरी सांस्कृतिक सेवा तथा समाजसेवामा संलग्न सिंह नेवाः गुठी न्यूयोर्कका अध्यक्ष हुन्।
वीरेनकुमार शाक्यद्वारा संगीत गरेको भिडियोको निर्देशक राजेशमान सिंह हुन् भने छायाँकन र सम्पादन सोहन मानन्धरले गरेका हुन्।
विजयमान सिंहको स्वर रहेको ‘भन तिमीलाई’ बोलको नेपाली गीतको भिडियो पनि सोही कार्यक्रममा प्रिमियर गरिएको छ।
मतिना इन्टरटेनमेन्टले निर्माण गरेको यो भिडियोका निर्देशक दिपक श्रेष्ठ हुन् भने गीतकार तथा सगीतकार पनि विजयमान सिंह स्वयं हुन्। यो गीतको भिडियोमा विजयमान सिंहको साथमा पुराना अभिनेत्री नन्दिता केसीले अभिनयमा साथ दिएका छन्।
उक्त कार्यक्रममा अभिनेता मदनकृष्ण श्रेष्ठ प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। गायक जुजुकाजी रन्जित, अभिनेत्री नारायणदेवी प्रधान, संगीत साहित्य तथा चलचित्रका अन्वेषक प्रकाश सायमी र नेपालभाषाका प्रथम चलचित्र पत्रकार विजयरत्न तुलाधर विशेष अतिथीका रुपमा रहेका थिए।