निरन्तर वर्षा जारी रहेपछि कर्णाली नदीमा पानीको बहाव बढ्दै गएको छ।
चिसापानी जलमापन केन्द्रका अनुसार कर्णाली नदीमा पानीको बहाव आज बिहान ५ः५० बजेको मापनअनुसार पानीको सतह नौ मिटर ३३ सेन्टिमिटर पुगेको छ।
पानीको सतह १० मिटर पुगेमा सतर्कता तह र १० मिटर आठ सेन्टिमिटर पुगेमा खतरा तह मानिन्छ। गेज रिडर पार्वती गुरुङले कर्णाली नदीमा पानीको सतह बढ्दै गएकाले सतर्कता अपनाउने आग्रह गरेका छन्।
‘पहाडी क्षेत्रमा भारी वर्षा भएको छ। नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ’, उनले भने, ‘यही रफ्तारमा पानीको सहत बढेमा तटीय क्षेत्रमा जोखिम बढ्छ। जोखिम क्षेत्रका नागरिक सुरक्षित रहनुहोला।’
वर्षा निरन्तर भइरहेकाले कैलालीका टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले जोखिम क्षेत्रमा ‘साइरन बजाएर’ सूचना दिन थालेका छन्। ‘पानीको सहतबारे जानकारी, नदीको अवस्थाबारे जानकारी र अन्य पूर्वतयारीका कुरा साइरनमार्फत सबैलाई निरन्तर जानकारी दिन थालेका छौं’, विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले भने, ‘तालिमप्राप्त टिम, बरघर, नगर प्रहरी, विपद् व्यवस्थापन समितिका सदस्य सबै तयारीमा बसेका छौं।’