क्रूर सेनासँग भाग्दै–भिड्दै ‘विद्राेही बर्मेली’हरू

The Irrawaddy

चिनियाँ सीमा नजिकैको उत्तरी शान राज्यमा ‘म्यान्मारको सत्तासीन सैनिक’ र जनविद्रोही ‘ताआङ नेशनल लिबरेसन आर्मी’ एकअर्कासँग भिडिरहेका छन्।

राज्यमा लडाइँ जारी रहँदा म्युज टाउनशिपका चारवटा गाउँ खाली गरिएको छ। मंगलबार म्यान्मारको ‘जुन्ता’ सेनाले ‘माउन्ट लोई टाय मेन’ नजिकै दुईपटक हवाई आक्रमण गरेको अधिकारीहरूले जनाएका छन्।

सरकारी सेनाले गाउँमाथि आक्रमण गरेपछि ‘जनताले साथ दिएका विद्रोही’हरूले जवाफी कारबाहीसमेत गरे। झडपका कारण ताआङ बस्तीका स्थानीयवासी र अन्य चार गाउँका शान नागरिक विस्थापित छन्। 

‘हामीले गोली र बमबारी सुन्न सक्छौं। लडाइँ चलिरहेको छ। अहिले ताआङ गाउँ र चारवटा शान गाउँ खाली भएका छन्,’ सेई लान्ट गाउँका स्थानीयले भने। 

सरकारी सेना र विद्रोहीबीच लडाइँ भइरहेको एउटा गाउँ ‘ताआङ नेशनल लिबरेसन आर्मी’ले कब्जामा लिएको छ। सेई लान्टका स्थानीयहरू आसपासमा लडाइँ भएका कारण उच्च सतर्कतामा छन्। तर युद्धमैदान भन्दा करिब १ किलोमिटर टाढाको जंगलमा छन्।

‘हामीहरू गाउँ छोड्न चाहँदैनौं। यदि हामीले छोड्यौं भने हामीले सबै गुमाउनेछौं र हाम्रो गाउँ कब्जा हुनेछ,’ एक स्थानीयले भने। 
सेई लान्टको उच्च माध्यमिक विद्यालय चार दिनअघि खोलिएपनि केही बन्द भएको उनीहरूले जनाएका छन्। 

अगस्टको सुरुमा भएको लडाइँका कारण सेई लान्ट गाउँबाट कम्तीमा ५०० बासिन्दाहरू विस्थापित भएका छन्। सोमबार म्यूजको व्यापार क्षेत्र नजिकै पटकपटक हवाई आक्रमण भएको एरावडी पत्रिकाले जनाएको छ।

विद्रोही समूह ‘ताआङ नेशनल लिबरेसन आर्मी’का अनुसार झडपको क्रममा दर्जनौँ सरकारीसैनिकहरू हताहत भएका छन्।
सन् २०२१ मा म्यान्मारको क्रूर सेनाले जननिर्वाचित सरकार अपदस्थ गरी सत्ता कब्जा गरेपछि गाउँ–गाउँ लडाइँ जारी छ।

प्रकाशित मिति: : 2023-08-30 01:35:00

प्रतिकृया दिनुहोस्