पर्यटनविद् ऐरको ‘कञ्चनपुरदेखि कञ्चनजंघा, कवितामय फन्को देशको’ कविताकृति सार्वजनिक

पर्यटनविद् हिकमत सिंह ऐरको कविता सङ्ग्रह ‘कञ्चनपुरदेखि कञ्चनजङ्घा, कवितामय फन्को देशको’ सार्वजनिक भएको छ। शनिबार पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री एन.पि.साउद, साहित्यकार एस.पी.कोइराला र कवि ऐरले संयुक्त रुपमा लोकापर्ण गरेका हुन्।

पर्यटनलाई केन्द्रमा राखेर लेखिएका कवितामा मुलुकका सातै प्रदेसका पर्यटकीय सम्भावना झल्काइएको छ। यो पुस्तक नेपाल चिनाउने आँखीझ्याल बनेको टिप्पणी गरिएको छ। साथै यसमा समाजमा भएका विकृती र विसङ्गतीविरुद्ध कवि मनमा उर्लिएका भावनाहरूसमेत पोखिएको छ।

सरल अनि कलात्मक भाषामा लेखिएका कवितासँगै सम्बन्धित ठाउँका रङ्गीन तस्बिरहरू पनि राखिएका छन्। पुस्तकले पाठकमा नेपालप्रति आत्मगौरव बढाउन र घुमघाम गर्न प्रेरित गर्ने देखिन्छ।

कार्यक्रममा प्रमुख अतिथि साउद, कवि कोइराला, समीक्षक चेतनाथ कँणेल, कवि सुधन सुवेदी, गायक यज्ञराज उपाध्याय, प्रकाशक पवन शाक्य, पत्रकार अमृत भादगाउँलेलगायतले लोकार्पित कृतिका विषयमा बोलेका थिए।

त्यसैगरी कवि दीपा जोसीले ऐरको एउटा कविता वाचन गरेकी थिइन्।

बुक्स हिमालयले प्रकाशन गरेको पुस्तक झलक्क हेर्दा ‘कफीटेबल बुक’को झल्को दिन्छ।

पुस्तकमा कवि ऐर भन्छन्, ‘सातै प्रदेशका हिमाल, पहाड-तराई, चुरेभावरका जङ्गल, नदीनाला, संस्कृति र सम्पदाले भरिपूर्ण अलौकिक देवभूमिका मठमन्दिर, गुम्बा, चैत्य, मौलिक खानपिन, रहनसहन एवम् अन्य विशेषताले भरिपूर्ण गन्तव्यहरूमा बटुलिएका अनुभव र अनुभूतिलाई कवितामा वर्णन गर्ने प्रयास गरेको छु।’

उनी नेपालका ७७ वटै जिल्लामा घुमिसके। सुदूरपश्चिमको कन्चनपुरका ऐरले कलेज जीवनदेखि नै कविता लेख्न थालेका। ‘पहिला-पहिला डायरीमा लेखेर राख्थें’, उनले भने, ‘३–४ वर्ष यता भने मिडियामा छाप्न थालेको हुँ।’

ऐर नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हुन्। हाल पर्यटन सम्पदा तथा संशाेधन विकास महाशाखा प्रमुखका रुपमा कार्यरत उनी बोर्डमा काम गरेको २३ वर्ष भयो।

प्रकाशित मिति: : 2023-09-03 16:45:00

प्रतिकृया दिनुहोस्