प्रधानमन्त्री प्रचण्ड अमेरिका आउँदै तर यो उनको अमेरिकाको भ्रमण हैन

प्रदीप भट्टराई

न्युयोर्क, अमेरिका
फाइल तस्बिर
फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाको न्युयोर्क आउँदैछन् । उनी संयुक्त राष्ट्र संघको ७८औं महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क आउन लागेका हुन् ।

उनको यो भ्रमण अमेरिकाको भ्रमण हैन, संयुक्त राष्ट्र संघको मुख्यालय रहेको अमेरिकाको न्युयोर्कको भ्रमण हो । यो भ्रमणका क्रममा उनी न्युयोर्कमै रहन्छन् र यहीबाट फर्कन्छन् ।

संयुक्त राष्ट्र संघको सदस्य राष्ट्रका सरकार वा राष्ट्रप्रमुखले महासभाको अवसरमा गर्ने यो एक वार्षिक रूटिन भ्रमण हो । तर, नेपालमा भने यो भ्रमणलाई अमेरिकाको भ्रमणका रूपमा भाष्य दिइने गरिएको छ। यो भाष्य पनि सनातनी नै हो । प्रधानमन्त्री प्रचण्डका लागि मात्र हैन, यसअघि नेपालका अरू पनि प्रधानमन्त्रीले गरेेको यही प्रोटोकल भ्रमणलाई अमेरिकाको भ्रमणकै रूपमा भाष्य दिइएकै हो। 

यो एक कर्मकाण्डी भ्रमण हो । यस भ्रमणमा टोली नेताका रूपमा आएका प्रधानमन्त्रीले महासभालाई सम्बोधन गर्ने पालो निश्चित भएको दिन सम्बोधन गर्छन् । प्रधानमन्त्री अलि क्षमतावान छन् भने अरू पनि महत्वपूर्ण बैठकमा सहभागी भएर सम्बोधन गर्छन्। 

यही बीचमा महासभामा सहभागी हुन आएका सरकार प्रमुखहरूसँग साइडलाइन वार्ता पनि हुन सक्छन् । त्यो पनि प्रधानमन्त्रीको व्यक्तित्व र न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपालको दूतावासको नेतृत्व र कार्यक्षमतामा भर पर्छ।

प्रधानमन्त्रीले बढीमा संयुक्त राष्ट्र संघका महासचिवसँग भेटवार्ता गर्छन् । यो भेटवार्ता पनि एक किसिमको कर्मकाण्डी नै हो । 

नेपालका प्रधामन्त्रीका लागि एउटा बम्पर अवसर भने यो मौकामा जुर्छ। त्यो भनको अमेरिकी राष्ट्रपतिसँग हात मिलाउने, उठी उठी भलाकुसारी गर्ने र अमेरिकी राष्ट्रपतिले दिएको रात्रीभोजमा सहभागी हुने । नेपालजस्ता देशका प्रधानमन्त्रीलाई विरलै प्राप्त हुने अवसर हो ।

यसका अतिरिक्त र न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपालको दूतावासले कहिले वासिङ्टन डीसीस्थित नेपाली दूतावाससँग मिलेर र कहिलै एक्लै न्युयोर्कको एक होटलमा स्वागत समारोहको आयोजना गर्छन् । त्यो भोजको निम्तो पाउँने अमेरिकामा रहेका नेपालीहरूको एउटा स्थायी सूची हुन्छ, त्यो सूचीमा रहेकाहरू आएर भोज खान्छन्, केही तस्बिर खिच्छन् र पोष्ट्याउँछन् । यस्तो सूची प्रधानमन्त्रीको राजनीतिक दलका आधारमा केही थपघट हुन्छ।

कहिलेकाँही प्रधानमन्त्रीको दलको अमेरिकास्थित भातृसंगठन दह्रो छ र त्यसका सभापति प्रधानमन्त्रीकै गुटका छन् भने उनले पनि आफ्नै पार्टीका समर्थकलाई बोलाएर स्वागत/अभिनन्दन गर्ने गर्छन् ।

न्युयोर्कमा यति गर्न भ्याएपछि कसैलाई अरू सहरमा पनि गएर आफन्त भेट्न र नेपालको पैसा उडाउन मन हुन्छ, त्यस्तो मन हुनेहरू केही दिन यतै अल्मलिएर विदा पनि मनाउँछन् ।

प्रधानमन्त्री प्रचण्डको  माओवादी सशस्त्र युद्धको सुप्रिम कमाण्डर तथा नेकपा (माओवादी केन्द्र)को  अध्यक्षको रूप अमेरिकी सरकार र यहाँकोे नेपाली डायस्पोराका लागि प्रिय छैन । त्यसैले उनको भ्रमणलाई अमेरिकी सरकारले कसरी लिन्छ ? यहाँको नेपाली डायस्पोराले कसरी लिन्छ ? त्यो भने अझै पनि संसयमै छ ।

यो त भयो कर्मकाण्डी कुरा । यो कर्मकाण्डी रूटिनबाहेक  प्रधानमन्त्री प्रचण्डको केही फरक कार्यक्रम पनि छ कि ?  

यसबारेमा प्रश्न सोध्दा सम्बन्धित अधिकारीहरू केही बताउँदैनन् । अहिलेसम्मको जानकारी अनुसार प्रधानमन्त्री प्रचण्ड सेप्टेम्बर १६ मा अमेरिकाको न्युयोर्कका लागि उड्नेछन् । सेप्टेम्बर १९ मा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई भेट्नेछन् । सेप्टेम्बर २० मा अमेरिकी राष्ट्रपति बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । सेप्टेम्बर २१ मा महासभालाई सम्बोधन गर्नेछन् । सेप्टेम्बर २२ मा चीनको हानझोउतिर उड्नेछन् । उनले संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्त्वाकाङ्क्षा शिखर सम्मेलन लगायतका कार्यक्रमलाई सम्बोधन गर्ने तालिका पनि रहेको छ ।

प्रधानमन्त्री प्रचण्ड खासमा यही कर्मकाण्डका लागि अमेरिका आउन लागेका हुन् । तर, उनको यो भ्रमण अरू प्रधानमन्त्रीको भन्दा अलि फरक हो । किनकि, प्रचण्ड नेपालको प्रधानमन्त्री त हुन् नै, नेपालमा १० वर्षे सशस्त्र युद्धका सुप्रिम कमाण्डर तथा माओवादी कम्युनिष्ट पार्टीका अध्यक्ष पनि हुन् । यस्तो हैसियतको मानिस अमेरिका आएर सकुशल फर्कन पाउँनु नै कम्युनिष्टको क पनि सुन्न नचाहने अमेरिकाको सन्दर्भमा एउटा ठूलो समाचार हो । अझ त्यसमा पनि उनले १७ हजार मानिस मारेको गनेर बसेका धेरै नेपाली अमेरिकामा शरणार्थी भएर बसेका छन् । त्यस्तो आतंकको पर्याय प्रचण्ड नेपालको प्रधानमन्त्रीका रूपमा अमेरिका आउनु र अमेरिकी राष्ट्रपति बाइडेनसँग हात मिलाउनु चानचुने कुरा हैन। यसैका लागि पनि प्रचण्ड संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुने बहानामा अमेरिका आउन लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डको  माओवादी सशस्त्र युद्धको सुप्रिम कमाण्डर तथा नेकपा (माओवादी केन्द्र)को  अध्यक्षको रूप अमेरिकी सरकार र यहाँकोे नेपाली डायस्पोराका लागि प्रिय छैन । त्यसैले उनको भ्रमणलाई अमेरिकी सरकारले कसरी लिन्छ ? यहाँको नेपाली डायस्पोराले कसरी लिन्छ ? त्यो भने अझै पनि संसयमै छ ।

प्रकाशित मिति: : 2023-09-16 07:03:00

प्रतिकृया दिनुहोस्