समाजको क्षयीकरण रोक्न चुक्दै सरकार

BreaknLinks
BreaknLinks

शरीरमा रगताम्य दाग लगाएर शनिबार उज्यालो नहुँदै एक व्यक्ति प्रहरी कार्यालय पुगे। त्यो पनि काठमाडौँको संसद भवनदेखि २०० मिटर टाढा नरहेको प्रहरी कार्यालयमा।

तीनकुनेस्थित नयाँबानेश्वरको प्रहरी वृत्तमा पुग्ने व्यक्ति हुन्, २८ वर्षीय दीपेन्द्र राई। दीपेन्द्र उनै व्यक्ति हुन्, जसले देशकै राजधानी काठमाडौँ महानगरपालिका–३२ स्थित गैह्रीगाउँको दिव्य सःमिलभित्र एउटा कटेरो (झुपडी) मा बस्ने चार जनाको विभत्स हत्या गरे।

शनिबार राति दोलखा घर भइ सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती ५२ वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया सुभद्रा भजेल र मोरङ बेलबारी घर भएका अन्दाजी २० वर्षका नविन राईको सामूहिक हत्या भयो।

उक्त हत्यामा दीपेन्द्रको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हत्या हुनुको कारण खुलिसकेको छैन। मृतक चार जनाको शरीरको विभिन्न ठाउँमा धारिलो हतियार प्रहार गरिएको छ। हत्यामा एक जनाको मात्र संलग्नता हो कि अन्यको पनि संलग्नता छ भन्ने विषयमा प्रहरीले छानबिन समिति गठन गरिसकेको छ।

०००

दुई दिनअघि २८ गते बुवाको मुख हेर्ने दिन। सबैले बुवालाई मिठो मसिनो खुवाए। सक्दो उपहार दिए। नजिक हुनले भेटे। टाढा हुनेले फोनबाटै सम्झिए। दुःख–सुख साटासाट गरे।

तर दाङमा बुवाको मुख हेर्ने दिनमै छोराले बुवाको हत्या गरे। घोराही–५ दलजितपुरका २८ वर्षीय सन्तोष केसीले घरमा सुतेका ५१ वर्षीय बुवा प्रेमबहादुर केसीलाई कुटपिट गरे। छोराको कुटपिटबाट प्रेमको मृत्यु भयो।

कुटपिट गर्नुको कुनै ठुलो कारण थिएन। घरमा ऋण भएको विवाद सधैं भइरहने गर्थ्याे। बुवाको मुख हेर्ने दिनमा बाहिरबाट मादक पदार्थ सेवन गरेर आएका सन्तोषले सुतेका बुवामाथि लात्ती, मुक्का प्रहार गरेर कुटपिट गरे। अहिले उनी प्रहरीको हिरासतमा छन्।

०००

गएको वैशाख ७ गते काठमाडौँको कपनस्थित आफ्नो भाडा पसलमा बसेकी ३५ वर्षीया निरा पाण्डेलाई एक अपरिचित युवक आएर गलामा भएको सुनको सिक्री लुट्न खोजे। त्यसको प्रतिकार गर्दा सिक्री लुट्न खोज्ने भक्तपुर बस्ने विनोद विकले निराको पेटमा चक्कु प्रहार गरे।

यो सिक्री लुट्ने कुनै ठुलो गिरोह थिएन। सामान्य लुटपाटका लागि पसलमा बसेकी निराको हत्या भयो। प्रहरीको अनुसन्धानमा विक पहिले क्यासिनोमा काम गर्थे। पछि काठमाडौँमा बाउन्सरको रुपमा काम गरे। जुवा खेल्ने क्रममा ऋण लागेपछि उनी लुटपाटमा संलग्न भएको र त्यही क्रममा निराको पसलमा पुगेर हत्या गरेको खुलेको थियो।

यी माथिका घटना समाज कसरी क्षयीकरण हुँदै गएको छ भन्ने देखिने दृश्य हुन्। पछिल्लो समयको केही घटना हेर्ने हो भने पसलमा बसेका व्यक्ति, बाटोमा हिँड्दै गरेका व्यक्ति, कुनै कार्यक्रममा सहभागी भएका नेतादेखि विश्वविद्यालयमा शिक्षा प्रदान गर्ने प्राध्यापक कोही सुरक्षित देखिँदैनन्।

अझ आफ्नै सन्तानबाट मारिनु परेको छ। आफ्नै नजिकै साथीभाइबाट मारिनु परेको छ। आफैँले पढाउने विद्यार्थीबाट शिक्षक मारिनु परेको छ। यसले समाजको क्षयीकरण डरलाग्दो रुपमा भइरहेको बताउँछिन्, समाजशास्त्री मिना उप्रेती।

देशमा राजनीतिज्ञदेखि स्थिर सरकार भनिने कर्मचारीतन्त्र सबै देशको सम्पत्ति धोस्त गर्न लागेको घटना बाहिरिरहेको छ। पूर्व प्रधानमन्त्री, गृहमन्त्री, बहालवाला सचिव ठुला भ्रष्टाचार काण्डमा मुछिएका छन्। देशका ठुला व्यापारीदेखि शक्तिमा रहेका हरेक तप्काका व्यक्ति अबैध धन्दामा छन्। 
यसले समाजको क्षयीकरण तीव्र भइरहेको देखाउँछ। समाज क्षयीकरण भएर डरलोग्दो अवस्थामा पुग्दा सरकारले कुनै कदम नचालेको बताउँछिन् उप्रेती।

देशका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदभित्र रोष्टममा उभिएर नागरिकको सुरक्षामा सरकार कटिबद्ध रहेको दाबी गर्छन्। गृहमन्त्री नारायणकाजी श्रेष्ठ सरकार नागरिकको सुरक्षामा संवेदनशील भएर लागेको पटक–पटक भन्दै आइरहेका छन्।

तर देशका नागरिकमाथि दिनदहाडै खुकुरी प्रहार भइरहेको छ। कुनै मेला महोत्सव कसैका लागि सुरक्षित छैन। टोलटोलको ग्याङ फाइट (सामूहिक लडाइँ) हुँदा राज्यका प्रहरी प्रशासन बेखबर हुन्छ।

हप्ता दिनअघि यस्तै घटना धरानमा घट्यो। दुई टोलका दुई समूहका युवाहरुबीच कुटपिट हुँदा दुई जना गम्भीर घाइते भए। घाइते हुनेमा एक जना धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाका भाइ विष्णु र अर्का समूहबाट सन्देश राई हुन्।

उक्त घटना हुनुका पछाडि प्रहरी प्रशासन समयमै नपुगेको धरानका मेयर हर्क सम्पाङदेखि उपमेयर बेघा दाबी गरिरहेका छन्।

पछिल्लो समय जतिपनि आपराधिक घटनाहरु घटिरहेका छन्, ती सबै सरकारको असक्षमता रहेको कारण बताउँछिन्, समाजशास्त्री मिना उप्रेती। उनले मानिस एकले अर्कोको हत्या गर्ने अवस्थामा पुग्नुका पछाडिका विभिन्न कारण हुने भएपनि ती कारण सबै सरकारको असक्षमताले गर्दा हुने गरेको बताइन्।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायतले धेरैजसो घटना रिसिइबी र सामान्य कुरा सहन गर्न नसक्दा हुने गरेको बताए।

अर्का समाजशास्त्री माधव गौतम पश्चिमा संस्कृतिको प्रभाव नेपालमा बढ्दै जाँदा यस्ता आपराधिक मानसिकता बढ्दै गएको बताउँछन्। ‘पश्चिमा संस्कृतको यहाँ प्रभाव बढ्दै गयो। पश्चिमा संस्कृतिको विकास हुँदा यहाँ नैतिक शिक्षा पतन भयो। आदार–सम्मान हराउँदै गयो,’ उनले भने, ‘कसैले कसैको आदार गरेन, सम्मान भएन भने समाजमा नैतिक स्खिलन बढ्दै गयो र आज समाज आपराधिकरण भइरहेको छ।’

देशमा भएको बेरोजगार, बढ्दै गएको एकात्मक परिवार, महँगीको मार, सामाजिक सञ्जालमा बढ्दै गएको विकृति आदि कारणले मानिस आपराधिक बन्दै गएको गौतमको भनाइ छ। उनले सरकारले समयमै यसको निराकरण खोजेन भने अवस्था यस्ता विकृति बढ्दै जाने बताए।

प्रहरी अनुसन्धानबाट पनि प्रेममा विछोड, वैदेशिक रोजगार, एकात्मक परिवार, आर्थिक, शैक्षिक कारणले गर्दा मानिस आपराधिक बन्दै गएको देखाउँछ। सामान्य रिसिबीले गर्दासमेत हत्याको घटना भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनाली बताउँछन्।

‘अहिले मानिसहरु सानोसानो कुरा सहन नसक्ने अवस्थामा देखिँदैनन्। मानिसलाई धेरै कुराले गाँजेको छ, वैदेशिक रोजगार बढ्दो छ, एकात्मक परिवार बढिरहेको छ, आर्थिकसँगै शिक्षा तथा धेरै कारणले असर गरिरहेको छ,’ उनले भने, ‘सामाजिक सञ्जालका कारण संसारको पहुँचमा पुगेकाले मान्छेले राम्रो कुरा ग्रहण गर्दैन र नराम्रो कुरा ग्राहण गर्ने अवस्थाले पनि यस्ता आपराधिक घटना बढ्दो छ।’

साना–साना घटनामा पनि मानिस आवेगमा आउने गरेको उनले बताए। उनले यस्तो घटना न्यूनीकरण गर्नका लागि नैतिक शिक्षा बढाउन जरुरी रहेको बताए।

प्रहरी तथ्यांककाे वर्षमा पाँच सय बढी मानिसको हत्या हुने गरेको छ। आर्थिक वर्ष २०७९/८० मा पाँच सय एक जनाको हत्या भएको छ। जुन तथ्यांकअनुसार दैनिक दुई जनाको हत्या हुने गरेको देखिन्छ।

आर्थिक वर्ष २०७९/८० मा ३ कुल नौ सय ८२ वटा व्यक्ति हत्या प्रयासका घटना भएको छ। त्यसमध्ये ज्यान मार्ने उद्योगका एक सय ३६ घटना काठमाडौँमा भएका पाइएको छ।

अघिल्लो आर्थिक वर्ष आव २०७८/७९ मा पाँच सय ९० जनाको हत्या भएको छ। त्यसमा सबैभन्दा बढी धारिलो हतियार प्रहार गरेर भएको छ।काठमाडौँमा मात्रै ५० वटा घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2023-09-16 21:00:00

प्रतिकृया दिनुहोस्