प्रधानमन्त्री प्रचण्डद्वारा राष्ट्रसंघको एसडीजी सम्मेलनलाई सम्बोधन

प्रदीप भट्टराई

न्युयोर्क. अमेरिका

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संयुक्त राष्ट्रसंघको ७८औं महासभाअन्तर्गत दिगो विकास लक्ष्यहरू (एसडीजी) सम्मेलनलाई सम्बोधन गरेका छन्। उनले अतिकम विकसित राष्ट्रहरू (एलडीसी) मुलुकहरूको तर्फबाट सम्मेलनलाई सम्बोधन गरेका हुन्। नेपाल अतिकम विकसित राष्ट्रहरू (एलडीसी) को अध्यक्षता गरिरहेको छ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कोरोना, जलवायु परिवर्तन र भूराजनीतिक तनावका कारण सन् २०३० भित्र दिगो विकासका लक्ष्य हासिल गर्न कठिन हुने अवस्था देखा परेको बताएका छन्।

पूर्वाधार, खानेपानी र सरसफाइ, खाद्य सुरक्षा, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा लगानीको अभाव पनि दिगो विकासका लक्ष्य हासिल गर्न बाधक बनेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने,  'सन् २०११ को तुलनामा एलडीसी मुलुकको औषत बाह्य ऋण सन् २०२२ मा ४१ प्रतिशतबाट बढेर ५४ प्रतिशत पुगेको छ। उच्च ऋणले यी मुलुकलाई एसडीजीमा लगानी गर्न त बाधा पुगेकै छ, त्यसमाथि ऋणको संकटको जोखिम पनि उत्तिकै छ।'

प्रधानमन्त्री दाहालले एलडीसी मुलुकलाई एसडीसी प्रोत्साहन प्याकेजमार्फत सहुलितयपूर्ण सहायता प्रदान गरिनुपर्ने बताउँदै नेपालको राष्ट्रिय नीति तथा योजनामा पनि एसडीजीलाई समेटिएको बताए।

नेपालले सन् २०२६ सम्म मात्र एलडीसी मुलुकको रूपमा पाउँदै आएको सहयोग प्राप्त गर्ने छ। यसबीचमा नेपालले अति कम विकसित मुलुकहरू (एलडीसी) को श्रेणीबाट माथि उक्लिसक्नु पर्नेछ।

प्रधानमन्त्री प्रचण्ड राष्ट्रसंघको ७८ औं महासभामा नेपाली  प्रमण्डलको नेतृत्व गर्दै सहभागी भैरहेका छन्। न्युयोर्कको स्थानीय समयअनुसार आयतबार विहान आइपुगेका उनी विभिन्न कार्यक्रममा सहभागी भएर शुक्रबार यतैबाट  चीनको भ्रमणमा निस्कनेछन्। 

प्रकाशित मिति: : 2023-09-18 23:54:00

प्रतिकृया दिनुहोस्