‘इशारा’ले सरकारलाई बोलाइरहेका यी शिक्षकहरू (भिडियाे)

सरकारले ५२ वर्ष पुरानो शिक्षा ऐनलाई प्रतिस्थापन गर्न विद्यालय शिक्षासम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरेपछि त्यसका कतिपय बुँदाहरूमा विवाद उत्पन्न भएको छ।

ती बुँदाहरू आफूअनुकुल सच्याउन भन्दै देशभरका शिक्षकहरू आन्दोलनमा उत्रिए। केही शिक्षकका मागलाई सरकारले सम्बोधन गर्ने प्रयास गरेर उनीहरूलाई घर फर्कायो। तर अझै पनि काठमाडौँको सडक नछाडेका कतिपय शिक्षकहरूले आफ्ना मागमा कसैले चासो नदिएको आरोप लगाइरहेका छन्। उनीहरू अझै फर्किएका छैनन्।

विद्यालय शिक्षा (कक्षा १ देखि १२ सम्म) लाई स्थानीय तह मातहत राख्ने विधेयक प्रस्तावमा शिक्षकहरूले गम्भीर रूपमा असन्तुष्टि जनाउँदै विधेयकका दफा नम्बर ७१ देखि ८८ सम्म समावेश व्यवस्था संशोधन गरिनुपर्ने माग आन्दोलनरत थिए।

यसअघि असोज ३ गतेबाट विद्यालय बन्द गरेरै प्रदर्शनमा उत्रिएका शिक्षक र सरकारबीच ७ बुँदे समहति भएको थियो।

नेपाल शिक्षक महासंघले सरकारसँग गरेको ७ बुँदे सहमति धोका भएको भन्दै असन्तुष्ट राहत कोटाका ‘बहिरा’ शिक्षकहरूले पनि आफ्नो आन्दोलन रोकेका छैनन्।महासंघ र सरकारले एकलौटी ढंगबाट सहमति गरेको बताउँदै राष्ट्रिय बहिरा शिक्षक संघले आन्दोलनको कार्यक्रमलाई यथावत् राखेको हो।

राष्ट्रिय बहिरा शिक्षक संघका अध्यक्ष राजेन्द्र प्रसाद शर्माका अनुसार सरकारले आफूहरूलाई केही गर्न सक्दैनन् भनेर आफ्ना मागहरु पूरा नगरेको बताउँछन्।

‘सरकारले हामीले केही गर्न नसक्ने मानेको छ। तर, हामीले सरकारले उपलब्ध गराएका र स्रोतसाधनले भ्याएसम्म आफ्ना जिम्मेवारी पूरा गरेका छौँ’, उनले भने, ‘हामीले शनिबारबाट आन्दोलन सुरू गरेका छौँ, अब हाम्रा माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहन्छ।’

बहिरा शिक्षक संघले विशेष शिक्षाभित्र रहेका शिक्षकहरुलाई स्थायी बनाउनुपर्ने, शिक्षण अनुमतिपत्रको व्यवस्था गर्नुपर्ने र अन्य शिक्षकसरह सेवा सुविधा पाउनुपर्ने माग राख्दै आन्दोलन कायम राखेको हो।

हाल देशभर करार, राहत, स्थायी गरी १५० भन्दा बढी बहिरा शिक्षक कार्यरत छन्। उनीहरूले १४ हजार त्यस्ता बालबालिकालाई पढाइरहेका छन्।

हाल देशभर यस्ता बालबालिका अध्ययनका लागि नेपालभर १७५ वटा विद्यालयमा स्रोत कक्षा सञ्चालन भएका छन् भने २४ वटा भने बहिराहरूको पढाइ हुने आवासीय विद्यालय छन्।

यसैगरी नेपालमा बहिरा विद्यार्थीका लागि कक्षा १२ सम्म पढाइ हुने विद्यालय पनि जम्मा छ वटा मात्रै छन्। काठमाडौँबाहिर साथै सिन्धुली, कास्की, बाग्लुङ, मोरङ र झापामा यस्ता विद्यालय सञ्चालित छन्।

प्रकाशित मिति: : 2023-09-27 12:07:00

प्रतिकृया दिनुहोस्