इन्जिनियरिङ अध्ययनः नाटकीय शैलीमा गरियो शुल्कवृद्धि 

फाेटाे नेपाल लाइभबाट
फाेटाे नेपाल लाइभबाट

इन्जिनियरिङ अध्ययनका लागि देशकै उत्कृष्ट मानिएको पुल्चोक इन्जिनियरिङ क्याम्पसका छ वटा विभाग प्रमुखले एकाएक जिम्मेवारीबाट राजीनामा दिए। उनीहरूले जिम्मेवारीबाट राजीनामामात्र दिएनन्, हस्तान्त्रण पनि गरे। त्यो पनि विद्यार्थी संगठनलाई।

यही असोज १६ गते अप्लाइड तथा केमिकल इन्जिनियरिङ विभागका प्रमुख प्राध्यापक डा. हेमराज पन्त, सिभिल विभागका प्रमुख प्राध्यापक डा. गोकर्ण मोत्रा, आर्किटेक्चर विभागका प्रमुख सह–प्राध्यापक डा. सञ्जय उप्रेतीले जिम्मेवारीबाट राजीनामा दिए।

यस्तै राजीनामा दिनेमा कम्प्युटर इन्जिनियरिङ विभागका प्रमुख सह–प्राध्यापक डा. ज्योती तण्डुकार, इलेक्ट्रिकल विभागका प्रमुख उपप्राध्यापक युवराज अधिकारी र मेकानिकल तथा एरोस्पेस विभागका प्रमुख उप–प्राध्यापक डा. सुदीप भट्टराई थिए।

प्राध्यापकहरूले विभागीय  जिम्मेवारीबाट राजीनामा दिनुको कारण ठुलो छैन। विद्यार्थीहरूले संवेदनहीन शब्द प्रयोग गरेकोमा उनीहरू असन्तुष्ट बने। उनीहरूले राजीनामा पत्रमा भनेका थिए, ‘यही असोज १२ गते स्ववियु सभापतिहरूले जारी गरिएको संयुक्त विज्ञप्तिमा उल्लेखित संवेदनहीन शब्द र नियतप्रति हामी विभागीय प्रमुखहरूको गम्भिर ध्यानाकर्षण भएको छ।’

यो विवादको मूलजड इन्जिनियरिङ अध्ययनका लागि वृद्धि भएको शुल्क विवादसँग जोडिएको छ। १२ गते पुल्चोक, थापाथली, पूर्वाञ्चल क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले विज्ञप्ति जारी गर्दै क्याम्पस सञ्चालन गर्न नसक्ने भए राजीनामा दिन आग्रह गरेका थिए। राजीनामा दिए स्वयम् विद्यार्थीले क्याम्पस सञ्चालन गर्ने विद्यार्थीको भनाइ थियो।

यही विषयलाई लिएर विभाग प्रमुखले राजीनामा दिए। ‘अहिलेको भन्दा गुणस्तर वृद्धिका साथ क्याम्पस चलाएर देखाउने जिम्मा भर्खरै निर्वाचित स्ववियुले लिने भन्ने अभिव्यक्तिप्रति भने कृतज्ञता जाहेर गर्दै विज्ञप्तिमा आह्वान गरे मुताविक यस कुराको गाम्भिर्यतालाई महसुस गरी छलफल हुँदा यस्तो उच्च आकांक्षा बोकेका स्ववियु सभापतिहरूलाई विभाग चलाउन मार्ग प्रशस्त  गरिदिएका छौँ,’ राजीनामा पत्रमा भनिएको छ।

यो विवाद यतिमै रोकिएन। अर्को दिन १७ गते पुल्चोक क्याम्पसका निमित्त प्रमुख लोकनाथ रेग्मीसहित पदाधिकारीले पदबाट राजीनामा दिए। विद्यार्थीको माग बमोजिम इन्जिनियरिङ अध्ययन शुल्क घटाउन नसकिने भन्दै क्याम्पस प्रमुख रेग्मीसहित, विभागीय प्रमुख, निर्देश, प्रशासन प्रमुखलगायतले राजीनामा घोषणा गरे।

पुल्चोक क्याम्पसको यो विवाद उत्कर्षमा पुगेको अवस्था हो।

...त्यो नाटक

क्याम्पस प्रमुखसहित पदाधिकारीले राजीनामा दिनुमा दुई दिनअघि (असोज १५) को ‘नाटक मञ्चन’लाई हेरौँ। त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान डीनको कार्यालयको सबैलाई आश्चार्य पार्ने गरी विज्ञप्ति आयो।

इन्जिनियरिङ अध्ययनका लागि शुल्क वृद्धि नगर्ने र पुरानै शुल्क (तीन लाख १८ हजार)अनुसार विद्यार्थी भर्ना गर्ने र असोज २२ गतेदेखि प्रवेश परीक्षा सञ्चालन गर्ने जानकारी गरायो। जसमा प्राध्यापक डीन शशीधर राम जोशीको हस्ताक्षर छ।

जब डीनले हस्ताक्षर गरेर तीन लाख १८ हजारमा भर्ना खोल्ने विज्ञप्ति जारी गरे, त्यसपछि सुरु भयो ‘नाटक मञ्चन।’

नहोस् पनि कसरी?

पुरानै शुल्कमा इन्जिनियरिङ पढाउन नसकिने बताउँदै इन्जिनियरिङ अध्ययन् संस्थानले शुल्क वृद्धि गरेर ७ लाख ७५ हजार पुर्‍याएको थियो।

यसको विरोधमा पुल्चोक क्याम्पसका विद्यार्थी आन्दोलनमा उत्रिए, अनसन बसे। सहमतिपछि आन्दोलन रोकियो। शुल्क पुनरावलोकन गर्ने सहमति भयो।

सहमतिअनुसार एक समितिले इन्जिनियरिङ अध्ययनका लागि ५ लाख ५४ हजार नयाँ शुल्क सिफारिस गर्‍यो। यो शुल्क विद्यार्थी संगठनहरूले मानेन्।  विद्यार्थीहरूको माग ४ लाख ५० हजार मात्र शुल्क तोक्नुपर्ने माग गरे।

तर, १५ गते डीले जारी गरेको विज्ञप्तिमा पुरानै (तीन लाख १८ हजार) शुल्कमा भर्ना लिने जानकारी भएपछि प्राध्यापक राजीनामा दिने स्थितिमा पुगे। पुरानै शुल्क अनुसार क्याम्पस चलाउन नसकिने भन्दै उनीहरूले राजीनामा दिएका थिए।

डीनको विज्ञप्तिपछि अर्को घटनाको उदय भयो, अपहरणको। जसमा विद्यार्थीले अपहरण गरेर पुरानै शुल्क लिन दबाब दिएको र विज्ञप्ति जारी गर्न पठाएको प्राध्यापकले बताउन थाले। स्ववियु र विद्यार्थी संगठनका नेताहरूले डीन र सहायक डिनलाई अपहरण गरेर यस्तो विज्ञप्ति जारी गर्न लागाएको उपप्राध्यापक डा. सुदीप भट्टराईले असोज १७ गते बताएका थिए।

तर, विद्यार्थी आफूहरूले अपहरण गरेको नभई प्राध्यापकहरूले अपहरण गरेको आरोप लगाए। ‘शुल्कका विषयमा हामीले यही क्याम्पसमा छलफल गरौँ भनेको हो। तर, उहाँहरूले (डीन, सहायक डीन) यहाँ हुँदैन भन्दै आफ्नै गाडीमा बसालेर सिवपुरी डाँडाको रिसोर्टमा लानुभयो। फोन स्वीच अफ गर्न लगाउनुभयो,’ पुलचोक क्याम्पसका स्ववियु सभापति विजयी अर्यालले भने, ‘यसलाई हामीले अपहरण गरेको भन्ने कि उहाँहरूले? अपहरण त उहाँहरूले गर्नुभएको हो नि।’

पुरानै शुल्कअनुसार भर्ना कार्यक्रम सुरु हुने विद्यार्थी संगठनले पनि असोज १५ गते विज्ञप्ति जारी गरेका थिए।

यो नाटक मञ्चन प्राध्यापको राजीनामासम्म पुगेर टुंगिएको छ।

अन्ततः इन्जिनियरिङ अध्ययन शुल्क वृद्धि भएको छ। इन्जिनियरिङ अध्ययन संस्थानले सूचना प्रकाशित गरी चार वर्षका लागि चार लाख ९० हजार शुल्क तोकेको छ। यसअघि तीन लाख १८ हजार रुपैयाँमा पढाइ हुँदै आएको थियो।

डीनको कार्यालयकाअनुसार अब चार वर्षको इन्जिनियरिङ अध्ययन् गर्न धरौटीसहित नियमिततर्फ ५६ हजार ७०० रुपैयाँ, पूर्ण शुल्कीयतर्फ चार लाख ९० हजार रुपैयाँ र विदेशी विद्यार्थीको हकमा १३ लाख १३ हजार ५०० रुपैयाँ शुल्क लाग्ने छ।

शुल्कवृद्धि भएसँग कात्तिक १४ गतेदेखि प्रवेश परीक्षा हुने भएको छ।

यससँगै राजीनामा दिएका प्राध्यापकहरू पुनः आइतबारदेखि काममा फर्किएका छन्। विद्यार्थीसँग सहमति भएपछि शुल्कवृद्धि गर्ने सहमित भएको र आइतबारदेखि काममा पुनः आफूहरू फर्किएको उपप्राध्यापक डा. भट्टराईले बिएल नेपाली सेवालाई जानकारी दिए।

पुल्चोक क्यापसका स्ववियु कोषाअध्यक्ष दिपसागर ज्ञावलीले चार लाख ९० हजारमा विद्यार्थी सहमति भएको बताए। ‘प्राध्यापकको राजीनामा एउटा नाटक मात्र थियो। राजीनामा थिएन। काम गरिरहुन भएको छ,’ उनले भने, ‘शुक्रबार भएको छलफलमा विद्यार्थीहरू चार लाख ९० हजारमा शुल्कमा सहमत हुनुभयो। अब आन्दोलनका कार्यक्रम सकियो।’

प्रकाशित मिति: : 2023-10-09 10:12:00

प्रतिकृया दिनुहोस्