‘दशैं-तिहार के आउँथ्यो र, भूकम्पमात्रै आउँछ’ (भिडियोसहित)

जयपृथ्वी नगरपालिका- १० चैनपुरका ७१ वर्षीय बलबहादुर सुनार र उनकी श्रीमती सदुरमुकाम चैनपुरकाे छेउमा त्रिपालमुनि बस्न थालेकाे १६ दिन भयाे।

चाडपर्व नजिकिँदै गर्दा र बिस्तारै चिसो मौसम सुरु हुँदा भूकम्प पीडितलाई कष्टकर जीवन बिताउनुपर्ने बाध्यता छ। दसैँको रौनकले छोइरहँदा भूकम्प पीडितको बस्तीमा खाने लाउने र बासकै पिरलो छ। बलबहादुरको पनि यस्तै पिरलो छ।

चाडपर्व मनाउने मान्छेको चहलपल र खुसीयाली छाइरहँदा बलबहादुर भने निराश बनेका छन्।

असोज १६ गते गएको भूकम्पले घर भत्काइदिएपछि उनी त्रिपालमा सरेका थिए। दसैँको रौनक छाएसँगै सदरमुकाम चैनपुरमा सामान किन्नेहरुको चहलपहल बढे पनि बलबहादुरका परिवारलाई भने दसैँको रौनकले छोएको छैन्। भूकम्पको त्रासमा बलबहादुर त्रिपाल नजिकै निधारमा हात लगाएर बसेका भेटिए। घर नै नरहेपछि बलबहादुरको गुजारा त्रिपालबाटै चल्दै आएको छ। भूकम्पले घर लगेपछि निराश भएका बलबहादुरकाे दम्पत्तिलाई दसैँको उमङ्गले भने छोएको छैन्।

‘भूकम्पले गर्दा दसैँ आए नआएको कुनै अनुभव नै भएको छैन्,’ उनले भने, ‘मन खल्लो भएपछि दसैँ आएको र नआएको एउटै हो। दु:ख, पीडामा छौँ।’

बलबहादुरकाे बास छैन। केटाकेटी चिसाेले बिरामी हुने अवस्थामा पुगेका छन्। त्यसमाथि बेला-बेलामा भूकम्पले तर्साइरहन्छ, बलबहादुरकाे मन। र, उनलाई जमरा राख्ने मन लागेन। टीका लगाउने मन छैन।

‘दसैँ मनाउनलाई खानेकुरा पनि छैन्। अलिकति युवाले चामल दिएको थियो। त्यो पनि सकियो। अब दैनिक ज्यालादारी गरेर जीवीका चलाउने हामीहरुले कसरी घर बनाउनु र जमरा उमारेर दसैँ मनाउनु?’, उनले भने।

भूकम्प गएकाे केही दिनमै प्रधानमन्त्री चैनपुर पुगेका थिए। तर, उनी फर्किएकाे दुई हप्ता बित्दा पनि उनले वाचा गरेकाे राहत अहिलेसम्म बलबहादुरकाे घरमा पुगेकाे छैन। सरकारले राहत देला र दसैँ मनाउनुपर्ला भन्ने बलबहादुरकाे याेजना थियाे। तर, त्याे सम्भावना पनि कमजाेर बन्दै गएकाे छ। ‘दसैँ मनाउन त सरकारले राहत दिन्छ कि भन्ने आस थियो। अब त्यो पनि सकियाे,’ बलबहादुरले भने।

बझाङमा भूकम्पका कारण जिल्लाका १२ हजार ३७६ वटा घर तथा भवनमा क्षति पुगेको छ। जिल्ला विपत व्यवस्थापन समितिले जिल्लाका १२ वटै पालिकाबाट प्राप्त विवरण सार्वजनिक गर्दै सो जानकारी दिएको छ।

जिल्लामा पूर्ण, आंशिक र सामान्य क्षति भएका १२ हजार ३७६ घर तथा भवन छन्। जिल्ला विपत व्यवस्थापन समितीको विवरणअनुसार जिल्लामा २ हजार ४४५ घरमा पूर्ण क्षति पुगेको छ। ६ हजार ८४ आंशिक र तीन हजार ५२४ घरमा सामान्य क्षति पुगेको छ। भूकम्पबाट १२३ वटा सरकारी भवन तथा कार्यालय पूर्ण क्षति र १५२ भवनमा आंशिक क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ।

जलविद्युत, शौचालय, सामुदायिक भवनतर्फ ५० वटामा क्षति भएको छ।

भिडियाे :

प्रकाशित मिति: : 2023-10-19 19:50:00

प्रतिकृया दिनुहोस्