एक ‘गिलास बियर’ले लथालिङ्ग बनाएको कैयौं जीवन (भिडियाेसहित)

एक गिलास बियरबाट पिउन सुरु गरेका उनले १० बोतल बियर पिउन थालिसकेका थिए। एक्लो छोराको दयनीय अवस्था देखेर आमाले छोरा सुधार्न यत्न गरिन्। छोरालाई सम्झाउँदा–सम्झाउँदै आमा सदाका लागि अस्ताइन् तर छोराले रक्सी पिउन छाडेनन्।


अचेल मिरमिरे उज्यालोमा ब्यूझिन्छन्, काभ्रेका राजकुमार सुन्दास। योगा गर्छन् अनि अरूलाई पनि कसरत गर्न सिकाउँछन्। र, बिहानको खाना खाएर सबेरै काममा पुग्छन्।

लाजिम्पाटको एक स्टोरमा काम गर्ने उनका दिन सामानहरू बेच्दाबेच्दै बित्छ। काममा आफूलाई व्यस्त राख्न पाएकै कुरामा खुसी छन्, सुन्दास। उनी भन्छन्, ‘अहिले आफूलालाई बीजी राखेको छु, त्यसैले खुसी नै छु।’

दिनभरिको थकाइ मेट्न उनी फेरि बूढानीलकण्ठ पासीकोट– ४ मा सञ्चालन भइरहेको  ‘मार्ग दशर्क सुधार केन्द्र’ पुग्छन्। एक वर्षदेखि उनी त्यही सुधार गृहमा आश्रित छन्।

‘मेरो घरभन्दा प्यारो लाग्छ, यो सुधार गृह। त्यसैले रिकभर भइसकेको छु तर पनि यही बसिरहेको छु’ , सुधार केन्द्रले नयाँ जीवन दिएको बताउने सुन्दास भन्छन्, ‘अहिले जे काम गरिरहेको छु, त्यो सबैले यो सुधार गृहमा कृपा हो।’

कसरी पुगे सुधार गृह?

घरका एक्लो छोरा हुन्, सुनदास। त्यसैमाथि ६ दिदीहरूको प्यारो भाइ। उनलाई कुनै कुराको कमी नै थिएन। जे चाहिन्थे त्यही अगाडि पाइहाल्थे। तर, घमण्ड थिएन। काम गर्नुपर्छ भन्ने सोच उनमा सानैदेखि थियो। त्यसैले त उनी कलेज पढ्दै गर्दा जागिरे पनि भइसकेका थिए।

उनी ठमेलको एक होटलमा ‘कुक’को काम गर्थे। तलब सुविधा राम्रै थियो। तिब्बतीयन खाना पकाउन माहिर भइसकेका थिए सुन्दास। उनले पकाएको खाना खाने मानिसहरूको घुइँचो नै लाग्थ्यो। टिप्सहरू पनि टन्नै पाए। भलै, उनी होटलमा काम गर्थे तर कहिल्यै रक्सी र चुरोटको धुँवा उडाएनन्। त्यो कुलतबाट सुन्दास सधैं टाढा बसे।

‘घरमा कसैले मद्यपान र धुमपान गर्नु हुँदैन थियो, त्यसैले मलाई त्यतातिर केही मतलब नै थिएन’, कुलतमा नलाग्नुको कारण खुलाउँदै राजकुमारले बिएल नेपाली सेवासँग बताए।

मेहनती स्वभावका थिए राजकुमार। तर, उनका सबै साथीहरू रक्सीको ‘सारथी’ थिए। त्यही साथीहरूको संगतमा फसे सुन्दास पनि।

सदाझैं पर्यटकहरूको होहल्ला भरिएको होटलमा खाना पकाउँदै थिए, राजकुमार। त्यहीबेला एक हुल साथीहरू होटेलमा छिरे। अनि बियर मगाएर पिउन थाले। र, उनलाई पनि रक्सी पिउन सुझाए।

सुरूमा रक्सी पिउनबाट टाढिएका सुन्दासले साथीहरूको मन राख्न बियर पिउने सोच बनाए। अनि, एकै घुट्कीमा एक गिलास बियर पिइदिए।

पहिलोपल्ट रक्सी पिएर सुन्दास ‘टिल’ भए। संसार नै घुमेको उनले देखे।

‘रक्सी पिएपछि के भो थाह छैन, पूरै संसार घुमेको देखें, रिङगटा नै लाग्यो’, बियर पिउँदाको अनुभव उनले सुनाए,  ‘बियरले मलाई असर गरेको थियो तर पिउँदा रमाइलो नै लाग्यो।’

पहिलोपल्ट रक्सीको नशामा घर पुगेका राजकुमार देखेर निराशिएका थिए परिवार। २५ वर्षका छोराको अवस्था देखेर भावुक भएकी थिइन् आमा। तर, केही बोलिनन्।

भोलिपल्ट बिहान आमाले सम्झाउँदै राजकुमारलाई रक्सी नपिउन आग्रह गरिन्। तर, बियरको त्यो स्वादमा पल्किएका उनले कहाँ सुन्थे होला र! आमाको कुरा। बेवास्ता गरिदिए। छोरालाई रक्सी नपिउनू भन्दैभन्दै एकदिन आमा सदाका लागि बिदा भइन्।

त्यसपछि सुन्दासले काम गर्दै रक्सी पिउने बानी बसाले। उनी झन–झनै रक्सीको नसामा डुब्न थाले। एक गिलासबाट रक्सी पिउन सुरू गरेका उनी बोतलमा पुगे। एक बोतलदेखि उनी १० बोतल पिउन सक्ने भए। उनी रक्सीको ‘एडिक’ नै भए।

दिनदिनै झल्लु भएर घर फर्किने श्रीमान देखेर दिक्कार थिइन्, उनकी श्रीमती। उनले राजकुमारलाई सधैं रक्सी नखान सम्झाइरहन्थिन् तर उल्टै सुन्दासले श्रीमतीलाई भन्ने गर्थे, ‘मैले रक्सी पिएर के बिगारेको छु? तिमीहरूलाई हेरेकै छु। पैसा दिएकै छु, परिवार चलाइरहेकै छु त!

श्रीमतीले सोधेको प्रश्नलाई गलत ठहराएर आफैंलाई सही ठान्थे सुन्दास। तर, रक्सीको तालमा उनी यतिधेरै मातिएका थिए कि पैसाले मात्र परिवार चल्दैन भन्ने कुरा उनले बिर्सिसकेका थिए। परिवार चलाउनका लागि त प्रेम र स्याहार पनि चाहिन्छ।

रक्सीको नशामा रमाउन थालेका सुन्दासले १–२ पटक ‘ड्रग्स’ र ‘सुइँ’ पनि खोपे। तर, त्यसमा उनलाई कुनै सन्तृष्टि नै मिलेन। मात्र रक्सी पिउन रूचाउँथे राजकुमार।

‘म कति छिटो रक्सीको एडिक भएँ, मलाई नै थाहा छैन तर मलाई रक्सी नै पिउन रमाइलो लाग्थ्यो’, ड्रग्सको नशाले आफूलाई खुसी नराखेको बताउँदै उनले भने, ‘मलाई लागुऔषधमा भन्दा धेरै रक्सी पिउनमा मज्जा लाग्थ्यो।’

बियरको झोलमा लठ्ठ परेका उनी ‘लोकल रक्सी’ पनि पिउँथे। बियर किन्ने पैसा नहुँदा सुन्दासले त्यही रक्सीले आफ्नो प्यास मेटाउँथे।

परिवारलाई भन्दा धेरै रक्सीलाई साहरा बनाएका उनी विस्तारै श्रीमतीसँग झगडा गर्न थाले।

दिनदिनै श्रीमतीको कचकच सुनेर दिक्दार बनेका उनले पत्नीसँग सम्बन्ध बिच्छेद गर्ने निर्णायसम्म पुगे। ज्यानभन्दा प्यारो थिए राजकुमार, श्रीमतीका लागि। त्यसैले उनी श्रीमानलाई ‘डिभोर्स’  दिन चाहदैन थिइन्।

श्रीमतीको सहमतिबिना नै राजकुमार हेटौंडाको जिल्ला अदालत पुगे। त्यही पनि रक्सीको नशामा।

‘म श्रीमतीलाई डिर्भोस दिनका लागि उनकै घर हेटौंडा पुगेको थिएँ। त्यहीको अदालतमा मैले रक्सी पिएरै श्रीमतीलाई छोड्ने निर्णय गरें’, विगत सुनाउँदै दुखी हुन्छन् राजकुमार सुन्दास।

श्रीमानले अदालतमा देखाएको हर्कत देखेर दुखी भएकी श्रीमती माइतीघरमा नै बस्न थालिन्।

‘अदालतमा हामीबीच भएको घटनादेखि हामी छुट्टिएर बस्न थाल्यौं,’ उनी भन्छन्, ‘हामी छुट्टिएका होइनौं तर छुट्टाछुट्टै बस्छौं। मेरी सानी छोरी पनि उतै छिन्।’

श्रीमतीसँग अलगिएपछि झनै रक्सीमा ‘पागल’ भए सुन्दास। पिउने बानीको कारण कामबाट निकालिएका थिए राजकुमार। तर पनि उनले रक्सी पिउन छाडेनन्।

गाउँको घर–जग्गा नै धितोमा राखेर उनले रक्सी पिउन थाले। सुन्दासले परिवारलाई सताउनमा कुनै कसुर छाडेनन्। गर्न नहुने सबै काम गरे। ‘मेरै सम्पत्ति हो भनेर घरजग्गा धितोमा राखेर पैसा निकालें अनि रक्सी पिएर झल्लु भएर हिडें। मलाई त्यसो गर्दा मज्जा लाग्थ्यो’, उनले विगतलाई कोट्याए।

पुर्ख्यौली घरजग्गा ऋणमा राखेर रक्सी पिउँदै हिडेका भाइको अवस्था देखेर उनका दिदीहरू पनि दुखी थिए। एक्लो भाइको दशा देखेर विरक्तिएका दिदीहरूले राजकुमारलाई सुधार्ने अठोट लिए। र मार्ग दर्शक सुधार केन्द्रमा राख्ने योजना बनाए।

‘यो सुधार केन्द्रको बारेमा दिदीहरूले बुझ्नुभएको रहेछ, त्यसैले यहाँ बस्न थालें’ उनले भने।

सुध्रिनसक्छ ‘एडिक्ट’ जिन्दगी पनि, जसरी आश्रय सुध्रिए (भिडियाेसहित)

२०७९ सालमा पहिलोपल्ट सुधार गृह पुगेका उनको त्यहाँ बस्ने रहर थिएन। तर दिदीहरूको अगाडि उनको केही बाहना नै चलेन। बाध्यताले उनी सुधारगृहमा बस्न थाले।

सुरुवातका दिनहरूमा उनलाई रक्सीको खुबै तलतल लाग्यो। तर सुधार केन्द्रको ‘डिटेक्सन रुम’ (नशामा लागेकाहरूलाई पहिलो दिन राखिने एक किसिमको कोठा) ले उनलाई सुधार्न थाल्यो। सुधार केन्द्रमा शरीरको चेकअपदेखि औषधि खुवाउने मानिसहरूले उनलाई स्याहार्न थाले। त्यसपछि राजकुमार विस्तारै तङ्ग्रिन थाले।

सुधार गृहमा फेरियो जीवन

सुधार केन्द्र बस्न थालेको महिना दिन बित्दै गयो। उसको दैनिक पनि बदलियो। सुधार गृह जानुअघि सधैं रक्सीको नशामा झ्याप हुने राजकुमारलाई खाना चाहिने भएको थियो। उसलाई भोक लाग्थ्यो र निन्द्रा पनि।

‘मलाई रक्सीको लतबाट सुर्धानका लागि यहाँका दाइहरूले धेरै मेहनत गर्नुभएको छ, त्यसैले पनि मलाई खुसी लाग्छ। यो सुधार गृह मेरो घर जस्तै लाग्छ’, उनले बताए।

रक्सी खाएर परिवारबाट टाढिएका उनी अहिले इमान्दार र मेहनती बनेका छन्। काम गर्छन् पैसा कमाउँछन्। तर पनि निराश देखिन्छन् सुन्दास। आफूले परिवारमाथि गरेको व्यवहार सम्झिएर दुखी हुन्छन्। 

‘रक्सी पिएर हिँड्दा मलाई लाग्थ्यो म केही गर्ने सक्दिनँ तर अहिले मभित्र आत्मविश्वास बढेको छ। सबै काम गर्छु जस्तै लाग्छ’, रक्सीको नशाले सम्बन्धहरू छुट्याउने बताउँदै उनी भन्छन्, ‘श्रीमती मसँग हुँदा सधैं झगाडा गरिरहें तर अहिले पछुतो लाग्छ।’

रक्सीको नशामा आफ्नै घरमा आगो सल्काएका राजकुमारले अहिले आफैंसँग कसम खाएका छन् ‘जीन्दगीमा कहिल्यै रक्सी पिउदिनँ।’


(बूढानीलकण्ठ–पासीकाेटमा विगत एक वर्षदेखि सञ्चालन भइरहेको मार्ग दर्शक सुधार केन्द्रमा सम्पर्क गर्नका लागि ९८४५३४४४९०, ९७४१६८९४६३ नम्बरहरूमा फोन गर्न सकिनेछ।)

प्रकाशित मिति: : 2023-10-27 19:28:00

प्रतिकृया दिनुहोस्