बजार भरिभराउ छ, व्यापार छैन (भिडियोसहित)

BreaknLinks
BreaknLinks

तिहार सुरू भएसँगै गाउँघरमा मात्र हाेइन, बजारमा पनि चहलपहल बढेको छ। तिहारका लागि सामग्री किन्नेहरू बजारमा आइरहेका छन्।

काठमाडौँको व्यापारिक केन्द्र मानिने असन क्षेत्रमा पनि तिहारका सामग्री किन्नेको भीड छ। तर, जति भीड बजारमा देखिन्छ त्यसअनुसार व्यापार हुन नसकेकाे व्यापारी बताउँछन्। 

असमा भाइमसलाकाे व्यापार गर्दै आइरहेका विनय मर्हजनकाे पसलमा विगतकाे व्यापार हुन सकेकाे छैन। ‘अघिल्ला वर्षहरूमा त दिनभर ग्राहकहरूलाई सामान बेचेर काममा व्यस्त हुन्थेँ तर, अहिले त्यति कामै छैन,’ उनले बिएल नेपाली सेवासँग भने।

उनले दिनभरमा धेरै भनेकाे २० हजारसम्मकाे व्यापार हुने गरेकाे बताउँछन्। यस पटक भन्दा कोरोनाको समयमा व्यापार भएको उनले बताए। महर्जन भन्छन्,  ‘कोरोनाको समयमा बरु थोरै भएपनि व्यापार हुन्थ्यो तर अहिले घरभाँडा तिर्न पनि सकेको छैन।’

किन व्यापार कम भएकाे हाेला? उनलाई लाग्छ, मूल्यवृद्धि भएकाले हाे। 

ओखरबाहेक सबै भाइमसलाकाे मूल्यवृद्धि

गत वर्षभन्दा यस वर्ष भाइमसलाको मूल्य भएको छ। यसपालि तिहारका सबै सामानहरु बढेर आएको महर्जनले बताए। जसको मारमा प्रत्यक्ष उपभोक्ता त परेनै व्यापार नहुँदा व्यापारी पनि मारमा परेका छन्।  

त्यसैगरी विगत १४ वर्षदेखि पुष्प व्यावसाय गर्दै आइरहेकी संगीता कार्कीकाे पनि व्यापार हुन सकेकाे छैन।  संगीता गोदावारीबाट उनेका माला ल्याउँछिन् र असनमा बेच्छिन्। उनको दैनिकी नै यही हो। पुष्प व्यावसाय गरेर खुशी रहने उनी हिजोआज निराश छिन्। उनको निराशीको कारण हो– बढ्दो महंगी र घट्दो व्यापार। 

विगतका वर्षहरुको तिहारमा मात्रै ५ लाख भन्दा बढी फूल व्यापार गर्ने उनी यसपटक भने ३ लाख व्यापारमा चित्त बुझाइरहेकी छिन्। दिनभरमा ५०० ओटा भन्दा फूल बेच्ने उनी अहिले करिब १०० ओटा मात्रै बेच्छिन्। 

‘हामी व्यवसायीलाई केही वर्ष कोरोनाले थला पार्यो, बल्ल त व्यापार हुन थालेको थियो अब फेरि मूल्यवृद्धिले समस्या पार्दैछ’, उनले भनिन् ‘ ‘व्यापार गर्ने समय नै यही हो। अब उनेर राखेका फुल के गर्ने हो थाहै छैन।’

०००

यसैगरी तिहारमा फूल, माला लगायतको जति महत्व हुन्छ ढाका टोपीको पनि महत्व त्यतिनै हुन्छ। तिहारमा भाइ टीकाको दिन दिदी–बहिनीले दाजु–भाइलाई टीका लगाएर उपहार स्वरूप ढाका टोपी दिने प्रचलन छ।

त्यसैले तिहारमा ढाका टोपीको व्यापार बढी हुने गर्छ। तिहारमा ढाका टोपी लगाइदिँदा माइतीको मान प्रतिष्ठा बढ्छ भन्ने विश्वासले हरेक चेलीले आफ्ना दाजु भाइलाई उपहारको रुपमा सौहार्दपूर्वक ढाका टोपी दिने प्रचलन छ।

त्यसैले तिहार नजिकिदै गर्दा ढाका टोपीको व्यापार पनि बढ्ने आशमा भएपनि यस पटक भने राम्राे व्यापार नभएकाे व्यवसायी बताउँछन्। 

काठमाडौंको असनमा विगत पाँच वर्षदेखि ढाका टोपी व्यापार गर्दै आएकी रञ्जिता मगरले टाेपीकाे व्यापार हुन नसकेकाे बताइन। ‘पछिल्ला केही दिनमा विभिन्न कार्यक्रमा तथा विवाह महोत्सव हुने समयमा ढाका टोपीको व्यापार राम्रो हुन्छ, त्यसमा पनि तिहार त ढाकाको व्यापारका लागि मुख्य सिजन हो। तर यसपटक भने पहिलेको जस्तो व्यापार भएको छैन,’ मगरले भनिन्।

यस्ताे भन्छन् व्यापारी

प्रकाशित मिति: : 2023-11-11 19:37:00

प्रतिकृया दिनुहोस्