युक्रेनमा आँधीका कारण बाह्र व्यक्तिको मृत्यु, आठ सय गाउँ विद्युतविहीन

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

युक्रेनको दक्षिणमा यस हप्ताको सुरुमा आएको भीषण मौसमका कारण १२ जनाको मृत्यु भएको छ भने खराब मौसम र रूससँगको युद्धका कारण ८०० भन्दा बढी गाउँ विद्युतविहीन भएका छन्।

रूसको आक्रमणबाट प्रभावित दक्षिणी युक्रेनमा सोमबार आँधीबेहरी र हिमपात भएको छ। 

युक्रेन, मस्कोले कब्जा गरेको क्रिमिया र दक्षिणी रूसमा पनि शक्तिशाली हावाहुरी चलेको थियो। 

युक्रेनका आन्तरिक मन्त्री इगोर क्लाइमेन्कोले भने, आँधीका कारण१२ जनाको मृत्यु भएको छ, भने अन्य २३ जना घाइते भएका छन्। 

अधिकारीहरूका अनुसार मौसममा सुधार आएको छ तर सयौं गाउँहरू विद्युतविहीन भएका छन्।

राज्यको दक्षिणी क्षेत्रमा आँधीले पु¥याएको क्षतिका कारण अवरूद्ध सेवा सञ्चालन गर्न तीव्र मर्मत कार्य भइरहेको र युक्रेनले तीन पश्चिमी छिमेकीबाट विद्युत् आयात गरेको कीएभले बताएको छ। 

युक्रेनको ऊर्जा मन्त्रालयले मौसम र युद्धका कारण ‘८१२ बस्ती ऊर्जाविहीन’ भएको जनाएको छ। 

खराब मौसमका कारण ३६८ गाउँहरूमा प्रत्यक्ष असर परेको छ भने बिग्रिएका लाइन मर्मत गर्ने क्रममा अन्य ४४४ गाउँमा बिद्युत सेवा अवरूद्ध बनेको छ। 

युक्रेनले आफ्नो ऊर्जा ग्रिडमा आक्रमण गर्ने डरलाग्दो नयाँ रूसी अभियानविरूद्ध हप्तौंदेखि तयारी गरिरहेको बताएको छ। यस्ता आक्रमणहरूले गत हिउँदमा लाखौंलाई अँध्यारो र चीसोमा दिनरात काट्नु परेको थियो। 

युक्रेनको सरकारी ऊर्जा कम्पनी युक्रेनेर्गोका अनुसार सबैभन्दा कठिन अवस्था दक्षिणी ओडेसा र खेरसन क्षेत्रमा रहेको छ। 

छिमेकी स्लोभाकिया, रोमानिया र मोल्दोभाबाट रातिको समयमा विद्युत् आयात गरिएको युक्रेनेर्गोले बताएको छ।

आँधीका कारण क्रिमिया र दक्षिणी रूसमा चार जनाको मृत्यु भएको मस्कोबाट प्राप्त जानकारीमा उल्लेख छ। 

क्रेमलिन समर्थित क्रिमियाका नेता सर्गेई अक्स्योनोभले प्रायद्वीपका मुख्य शहर सिम्फेरोपोल र समुद्री किनारको रिसोर्ट याल्टासहित १५ वटा नगरपालिकामा ‘आपतकालीन’ अवस्था घोषणा गरिएको बताएका छन्। 

उनले करिब ४३ हजार मानिस विद्युत्विहीन रहेको र ‘मर्मतको काम’ भइरहेको बताए। 

सोमबार आएको आँधीका कारण दक्षिणी रुस, क्रिमिया र कब्जा गरिएको युक्रेनका करिब २० लाख मानिस विद्युतविहीन भएको मस्कोले बताएको छ।

प्रकाशित मिति: : 2023-11-29 22:07:00

प्रतिकृया दिनुहोस्