विभेद र अन्याय देखाइरहेका चित्रहरू (भिडियाे)

चित्रकार अरुणा हिङमाङ र उनले बनाएकाे चित्र
चित्रकार अरुणा हिङमाङ र उनले बनाएकाे चित्र

ओठमा लाली छ। आँखामा गाजल। कानमा मुन्द्रि छ। अनुहार उस्तै देखिन्छ। अर्थात् दुई अनुहार उस्तै छन्। उनीहरू दुबै महिला भएको महिचान गर्न गाह्रो छैन।

ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौंको प्रदर्शनी कक्षमा एक हप्ता दर्शकले देखेको दृष्य हो, यो। दुई महिलाका अगाडि तिखो बिज्ने सिउडी पनि छ।

हप्ता दिन देखाइएको यो दृष्य झट्ट बुँझिदैन। यसमा चित्रकार अरुणा हिङमाङले देखाएकी छिन् पारा लैंगिकहरू महिलाहरूको प्रेम सम्बन्ध। 

समाजले समलिङ्गी विवाहलाई मान्यता दिएको छैन। विभेद गर्छ। तर पारालैङ्गिक महिला–महिलाबीच प्रेम सम्बन्ध हुन्छ भन्ने यहाँ देखाइएको छ।

‘अगाडि काँडे बुट्यान छ। पछाडि दुई महिला छन्। अगाडि काँडे बुट्यानले समाजलाई देखाउँछ भने दुई महिलाले पारालैङ्गिकबीचके प्रेम सम्बन्ध जनाउँछ,’  उनले भनिन्, ‘समाजले अवरोध गरे पनि प्रेम दुई महिलाबीच हुन्छ भन्ने हो।’

चित्रकार हाङमाङले बनाएको चित्रले मात्र होइन, यहाँ रहेका करिब ४० चित्रहरूले केही न केही कथा भनेका छन्। जातीय उत्पीडन र लैंगिक विभेदलाई देखाएका छन्।

चित्रकार सुजन शिवले दुई चित्रमार्फत समाजको विभेदिकरणलाई देखाएका छन्। उनले जातीय विभेद कस्तो छ? पानी कुवालाई देखाएर व्याख्या गरेका छन्। 

एउटा पानीको कुवा छ। पानी लिन गएका महिलाहरूमा दुई जना छुट्टै छन्। कुवा टाढा छन्। चार–पाँच जना महिला कुवामा पानी भरिरहेका छन्। दुई जना महिला मात्र किन दुट्टै बसे त? उनीहरू दलित हुन्। 

जबसम्म पानी भरेर अन्य जात(उपल्लो जात भनिएकाहरू)ले सक्दैनन्, तबसम्म उनीहरूले कुवा छुन पाउँदैनन्। 

यस्तै उनले लैंगिक अल्पसंख्यकहरूमाथि हुने विभेदलाई अर्को चित्रमा देखाएका छन्। समाजले बाहिरी बनावटको आधारमा गरेको विभेदलाई उनले चित्रमा देखाएका छन्।


याे पनि– अब ‘क्यानभास’मा कोरिनेछ, ‘सीमान्त विद्रोह’


दुई अनुहार छ। एउटा महिलाको छ। एउटा पुरुषको छ। महिलाको अनुहार शरीरसहित जोडिएको छ। पुरुषको अनुमारमात्र छ। 

यसको अर्थ के हो? शिव भन्छन्–‘लैंगिक अल्पसंख्यकहरू बाहिर जे हुन्छन्। भित्र त्यही हुँदैनन्। उनीहरू पुरुष जस्तो देखिएपनि उनीहरूको भित्री भाव महिलाको हुन्छ भन्ने देखाउन खोजिएको हो।’ 

यतिमात्र होइन। यही मंसिर १४ गतेदेखि २० गतेसम्म भएको चित्रकला प्रदर्शनीमा प्रदर्शन गरिएको सबै चित्रहरूको आ–आफ्नै भाव छ। महत्व देखाइएको छ। 

सामरी उत्थान सेवा र ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको प्रदर्शनीमा पहिलो पटक लैंगिक अल्पसंख्यकहरूमाथि हुने गरेको विभेद कलामार्फत प्रतिरोध गरिएको छ। 

‘जात व्यवस्था र यौनिकताः कलामार्फत प्रतिरोध’ शीर्षकमा भएको प्रदर्शनीमा ६०० बढीले अवलोकन गरेको आयोजक संख्या ललितकला प्रज्ञा प्रतिष्ठानले जनाएको छ।

३८ जना कलाकारले बनाएको चित्रहरू प्रदर्शनीमा राखिएको थियो। 

भिडियाे

प्रकाशित मिति: : 2023-12-06 17:17:00

प्रतिकृया दिनुहोस्