राज्यको नजरमा नपरेको भरङ्गे

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा पर्ने भरङ्गे सम्पर्कका हिसाबले एकान्तमा पर्दछ। सबैतिरबाट अपायक पर्ने ठाउँमा रहेकै कारण भरङ्गेमा जोकोही मानिस हत्तपत्त पुग्दैनन्। 

कति त चुनावका बेला पनि भोट माग्न पनि भरङ्गे पुग्दैनन्। 'चुनावका बेला भोट माग्न उम्मेदवार त के ? नेतासमेत आउँदैन। यो ठाउँमा उम्मेदवारका लागि भोट माग्न हाम्रै दाजुभाइ आउँछन्। यहाँ भोट दिनु, त्यहाँ भोट दिनु भनेर फर्कन्छन्', स्थानीय वीरबहादुर तामाङले भने, 'एघार घरपरिवार बसोबास गरिएको हाम्रो गाउँ भरङ्गेको विकासमा अहिलेसम्म कसैले ध्यान दिएका छैनन्। यस विषयमा सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी छ।'

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सकखण्डको हुर्लुङबाट जालपा जाने सडक हुँदै कच्ची शाखा सडकबाट भरङ्गे पुगिन्छ। भरङ्गेमा ठूलाठूला डिलमा हिँड्नका लागि भर्‍याङजस्तो खुड्किलो बनाइएका कारण पछिल्लो समय गाउँको नाम नै भरङ्गे रहन पुगेको स्थानीय बासिन्दाले बताएका छन्।

साबिकको दिक्तेल गाविस–६ मुडेमा समेटिएको भरङ्गे हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माभित्र पर्छ तर भरङ्गेलाई पूर्वाधार विकासले छुन सकेको छैन। विकासमा पछिपरेको भरङ्गेमा ११ घर तामाङ समुदाय बसोबास गर्छन्। 

सोल्मास्थित वडा कार्यालय पुग्न उनीहरुलाई कम्तीमा पनि पैदल दुई घण्टा हिँड्नुपर्छ। भरङ्गेवासीले आफ्नै खर्चमा दुःखसुख आठ÷नौ वर्षअघि विद्युत् पुर्याएका छन्। विसं २०७९ मा वडा कार्यालय सोल्माले विनियोजन गरेको रकमले भरङ्गे पुग्ने कच्ची सडक बनाइएको स्थानीय बासिन्दाले बताएका छन्। भरङ्गेबाट रावाबेँसी गाउँपालिका–१ कुभिन्डेको गोपिनी जोड्ने सडक विस्तार गर्न बाँकी नै छ। 

लङ्खुरीबाट खानेपानी योजना ल्याउन भर्खरै नापजाँच भएको बताइएको छ। भरङ्गेमा एक दशकअघि जनसेवा समाज नेपाल जालपाबाट खानेपानी योजना सञ्चालन गरिएको थियो। हुर्लुङ–जालपा सडक निर्माणका क्रममा खानेपानी योजनाको पाइप क्षतविक्षत भएपछि भरङ्गेमा पुनः नयाँ योजना सञ्चालन गर्ने तयारी गरिएको छ। शिक्षा, स्वास्थ्य, यातायातजस्ता आधारभूत आवश्यकतासँग जुधिरहेका भरङ्गेवासीका लागि अहिलेसम्म कुनै पनि योजना तथा परियोजना पुग्न सकेको छैन। 

आधारभूत तहकै पढाइका लागि भरङ्गेका छात्रछात्रा नुनथलाको हुर्लुङस्थित जनकल्याण प्राविमा पुग्छन्। जनकल्याण प्राविबाट कक्षा ३ पार गरेपछि उनीहरु मुढेस्थित सिद्धेश्वरी आवि निगाले पुग्छन्। आर्थिक अवस्था मजबुद हुने अभिभावकले बालबच्चलाई निजी विद्यालयमा लगेर पढाउँछन्।

हाल जनकल्याण प्राविमा भरङ्गेका सातजना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक तीर्थ तामाङले बताउनुभयो। मावली घर भरङ्गे बस्दै आएका विवेक गुरुङ र सुविन तामाङ कक्षा १ मा, विकास तामाङ र समीर तामाङ कक्षा २ मा, सुष्मा तामाङ, सुमिना तामाङ र समीक्षा तामाङ कक्षा ३ मा पढ्छन्। भरङ्गेबाट जनकल्याण प्रावि पुग्न उनीहरुलाई करिब एक घण्टा समय लाग्ने गरेको स्थानीय बासिन्दाले बताएका छन्। 

भरङ्गेका बालबालिका नियमित स्कुल जाँदैनन्। घरैमा गएर सम्झाई–बुझाई गर्दा पनि विद्यार्थीको उपस्थितिलाई नियमित गर्न नसकिएको शिक्षकहरु बताउँछन्। सिद्धेश्वरी आधारभूत विद्यालय निगालेमा भरङ्गेका चारजना विद्यार्थी अध्ययनरत रहेको विद्यालय प्रशासनले जनाएको छ।

सुस्मिता तामाङ र स्मृति तामाङ कक्षा ८ मा, सुशील तामाङ कक्षा ५ मा र सुवास तामाङ कक्षा ४ मा अध्ययनरत छन्। उनीहरुलाई भरङ्गेबाट निगाले आइपुग्न डेढ घण्टा समय लाग्ने गरेको प्रधानाध्यापक बिन्दा थापा बताएकी छन्।

यस्तै, सिद्धेश्वरी आधारभूत विद्यालयमा तल्लो हुर्लुङका अप्सरा राई र सङ्कल्प राई कक्षा ७ मा, प्रदीप राई कक्षा ६ मा, समीक्षा राई कक्षा ५ मा र अनमोल राई कक्षा ४ मा अध्ययनरत छन्। 

प्रकाशित मिति: : 2023-12-31 19:25:00

प्रतिकृया दिनुहोस्