पोखरा विश्वविद्यालय र गोरखपुर विश्वविद्यालयबीच सम्झौता

 पोखरा विश्वविद्यालय र दिनदयाल उपाध्याय गोरखपुर विश्वविद्यालयबीच एकापसमा शैक्षिक एवं अनुसन्धान सम्बन्ध स्थापित गर्ने मूल उद्देश्यका साथ आज एक समझदारीपत्रमा हस्ताक्षर भएको छ।

पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय, ढुङ्गेपाटन, कास्कीमा आयोजित कार्यक्रममा पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा प्रेमनारायण अर्याल र दिनदयाल उपाध्याय गोरखपुर विश्वविद्यालय, गोरखपुर, उत्तरप्रदेश, भारतका उपकुलपति प्रा पुनम टण्डनले हस्ताक्षर गरे। 

समझदारीसँगै दुबै संस्थालाई शैक्षिक र अनुसन्धान सम्बन्ध स्थापित गर्नुका साथै संयुक्त अनुसन्धान तथा सम्मेलनलगायत अन्य शैक्षिक सहकार्यको दिशामा अगाडि बढ्न बाटो खुलेको छ।

समझादारीपछि दुई विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीबीच शैक्षिक, व्यावसायिक र सांस्कृतिक गतिविधिलाई सहयोग गरी अन्तर्राष्ट्रिय सम्झौता, बौद्धिक सहयोग, सांस्कृतिक अन्तक्र्रिया र मित्रता प्रवद्र्धन गर्न सहयोग पुग्ने जनाइएको छ। साथै कुनै पनि कार्यक्रम दुवैतर्फ बाञ्छनीय र सम्भाव्य महसुस भएमा एकापसमा प्रस्ताव गरी दुवै पक्षले आयोजना गर्न सक्ने छन्। 

कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्याल, दिनदयाल उपाध्याय गोरखपुर विश्वविद्यालयका उपकुलपति प्रा पुनम टण्डन र अन्तर्राष्ट्रिय सेलका निर्देशक डा रामवन्त गुप्ता एवं पोखरा विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक डा उमेशसिंह यादवले आ–आफ्नो संस्थाको परिचयसहित शैक्षिक एवं अनुसन्धान क्रियाकलापलाई कसरी प्रगाढ र सुदृढ गर्न सकिन्छ भन्ने विषयमा आ आफ्ना धारणा राखे।

समारोहमा पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा डा दीपकबहादुर भण्डारीलगायत सङ्कायका डीनहरू एवं विभिन्न निकायका प्रमुखको उपस्थिति थियो। 

प्रकाशित मिति: : 2024-01-03 22:12:00

प्रतिकृया दिनुहोस्