पश्चिमी पाकिस्तानमा गोली हानाहान, ६ आतंककारीको मृत्यु

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

पश्चिमी पाकिस्तानको बलुचिस्तान प्रान्तमा सुरक्षा बलसँग रातभर चलेको मुठभेडमा कम्तीमा ६ आतंककारी मारिएको एक अधिकारीले मंगलबार बताएका छन्। 

प्रान्तीय सरकारका प्रवक्ता जान अचकजाईले अर्धसैनिक मुख्यालय र एक प्रहरी चौकीसहित कम्तीमा तीन वटा राज्य सुविधामा सुरक्षा बलहरूले समन्वित हमलालाहरूलाई असफल बनाइदिएको बताए।

उनले मध्य बोलान जिल्लामा हमलाका क्रममा छ आतंककारी मारिएको जानकारी दिए। मेडिकल उद्धार टोलीले हमलामा १३ सर्वसाधारण घाइते भएका र तीमध्ये दुईजनाको अवस्था चिन्ताजनक रहेको जानकारी दिएको छ। 

सशस्त्र पृथकतावादी समूह बलुचिस्तान लिबरेसन आर्मी (बीएलए)ले हमलाको जिम्मेवारी लिएको छ। इस्लामावाद दशकौँदेखि प्राकृतिक स्रोतहरूले समृद्ध पाकिस्तानको सबैभन्दा ठूलो तर सबैभन्दा गरिब प्रान्त बलुचिस्तानमा जातीय पृथकतावादी गुटहरूसँग लडिरहेको छ।

स्थानीय बासिन्दाहरूले बलुचिस्तान क्षेत्र पाकिस्तानको मानव विकास सूचकांकमा लगातार तल्लो स्थानमा रहेकाले आफूहरूलाई तेल र ग्यास भण्डारबाट सम्पत्तिको उचित हिस्सा प्राप्त नभएको बताएका छन्। 

अधिकार समूहहरूले जातीय बलुच नागरिकहरूमाथि सैन्य कारबाहीमा जबरजस्ती बेपत्ता र गैरन्यायिक हत्याहरू समावेश भएको बताएका छन्।

यसै महिना तेहरानले पाकिस्तानमा शरण लिएका इरानविरोधी आतंकवादीहरूमाथि निशाना बनाएपछि इस्लामावादले पनि छिमकी इरानमा शरण लिएका बिएलए लडाकूहरूमा हमला गरेसँगै यस क्षेत्रमा आतंकवादलाई लिएर तनाव बढेको छ।

प्रकाशित मिति: : 2024-01-31 06:17:00

प्रतिकृया दिनुहोस्