के होलान् काँग्रेसीले ‘हिन्दुराष्ट्र’का लागि छोडिगएका हजार ‘सहिछाप’हरू

चौधौँ महाधिवेशनबाट नयाँ नेतृत्व चुनिएपछि लगभग दुई वर्षपछि बल्लबल्ल भएको नेपाली काँग्रेसको महासमिति बैठक हुनुअघि दुई मुद्दा चर्चामा रहे।

पहिलो थियो, महामन्त्री गगन थापाले अघि सारेको ‘एक्लै चुनाव लड्ने’ प्रस्ताव र दोस्रो थियो, हिन्दुराष्ट्र ‘महाअभियान’वालाहरूको ‘हस्ताक्षर अभियान।’

नेपाली काँग्रेसको पार्टी जीवनमा ‘प्राण’ भर्ने आश गरिएको महासमिति बैठक आमनागरिक र पार्टी संगठनको मुद्दाभन्दा ‘मिसन ८४’को अभियानमा निस्किएका महामन्त्री थापाको गठबन्धन र हिन्दु अभियानको ‘ह्याङ’ले ग्रस्तै भयो।

भित्र आगामी निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भनेर बहस चलिरहँदा बाहिर त्यो महाअभियानका ‘अभियन्ता’ काँग्रेसीहरूले सेतो ब्यानरमा हस्ताक्षर गर्न नेता, कार्यकर्तालाई करबल गरिरहेका थिए।

अन्तत: चार दिनसम्म गोदावरी सभाहलबाहिर कोरिएका १ हजारभन्दा धेरैको हस्ताक्षर पोका पारेर त्यो ‘महाअभियान’का संयोजक शंकर भन्डारीले पार्टी सभापति शेरबहादुर देउवालाई बुझाए।

पार्टीको ‘नीति-निर्देशन’सँग जोडिएको यो महासमिति बैठकमा उपस्थित भएका करिब २ हजार महासिमिति सदस्यहरूबीच पदाधिकारीहरूले पेश गरेका विभिन्न प्रतिवेदन र अन्तमा ११ बुँदे प्रस्तावहरू पारित गर्दै बिहीबार सकिएको छ।

पार्टी जनमुखी भइरहेको छ कि छैन? जनताका समस्यामा पार्टी कति चुकिरहेको छ? पार्टी बलियो बनाउन थप कामहरू केकसरी गर्नुपर्छ? सुझाव दिने, यदि पार्टी नेतृत्वले काम गर्न नसकेको भए परिवर्तन गर्नसमेत महासमिति बैठकलाई अधिकार छ।

तर, ४ दिन चलेको महासमिति बैठकमा यी विषय गौण रहे। विशेषत जनताका मुद्धामा केन्द्रित हुनुपर्ने बैठक फगत सत्ता, चार वर्षपछि हुने निर्वचान र बेमौसमी हिन्दुराष्ट्रको विषयमा केन्द्रित रह्यो।

सबै धर्मको सम्मानस्वरुप संविधानमा व्यवस्था गरिएको धर्मनिरपेक्ष राष्ट्रलाई ‘सनातन हिन्दुराष्ट्र’ घोषणा गर्नुपर्ने विषय चर्चामय रह्यो। बैठकको अन्तिम दिन बिहीबार ‘सनातन हिन्दुराष्ट्र’ घोषणा गर्नुपर्ने माग गर्दै महासमिति बैठकमा प्रस्ताव नै पेश भयो।

१ हजार ६३ जना महासमिति सदस्यको हस्ताक्षरसहित सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानका संयोजक पूर्वमन्त्री शंकर भण्डारी प्रस्ताव पेश गर्दै उनले धर्मनिरपेक्ष राष्ट्र खारेज गर्नुपर्ने माग गरे।

गोदावारीको सभाहलमा भित्र बैठक चलिरहँदा बैठक कक्ष बाहिर ४ दिन नै हस्ताक्षर संकलन भयो। भित्र र बाहिर काँग्रेसीहरू सत्ता गठबन्धन, हिन्दुराष्ट्रका विषयमै केन्द्रित रहेर ४ दिन सकाए।

बिहीबार त सभाहलमा रोइलोसमेत गरे काँग्रेसीहरू। हिन्दुराष्ट्रका विषयमा बोल्न नपाएको भन्दै राेष्टम घेरे। सभाहलमा हल्ला गरे। धन्न महामन्त्री विश्वप्रकाश शर्माले हिन्दुराष्ट्रका विषयमा आक्रोशित बनेका काँग्रेसीहरूलाई शान्त पार्न सफल भए, ‘नेपाली काँग्रेस जिन्दावाद’ भन्न लगाएर।

महासमित बैठकमा पेश भएको हिन्दुराष्ट्रको प्रस्ताव अब केन्द्रीय समितिमा छलफल हुनेछ। यसअघि २२ जना केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवालाई हिन्दुराष्ट्रका विषयमा हस्ताक्षर बुझाएका थिए।

महासमिति बैठकलाई सम्बोधन गर्दै पूर्वमहामन्त्री शशांक कोइरालाले देशलाई धर्मनिरपेक्ष बनाइनु दुर्भाग्य रहेको जिकिर गरे। उनले धर्म न सापेक्ष न निरपेक्ष केही नहुने भन्दै भने, ‘धर्म स्वतन्त्र हुन्छ। तर, दुर्भाग्यवस हामीले धर्म निरपेक्ष बनायौँ।’

कुनै बेला तत्कालीन काँग्रेसी नेता खुमबहादुर खड्काले ‘हिन्दुराष्ट्र महाअभियान’ सुरु गरेका थिए। भ्रष्टाचारको मुद्दामा जेल सजाय काटेर निस्किएपछि पार्टीभित्र स्थापित हुने उनीसँग अरु राजनीतिक मुद्दाहरू थिएनन्। आफूलाई फेरि पार्टी कार्यकर्तासँग गाँस्नका लागि खड्काले हिन्दु अभियानको मुद्दा बोके।

तर, रोग र शोकले थलिएका नेता खड्काको त्यहीबीचमा निधन भयो। अहिले यो हिन्दु अभियानको डोरी समाएका काँग्रेसी नेता कार्यकर्ताहरू उनै खुमबहादुरकै अभियानमा पछि लागेकाहरू हुन्।

जनता सडकमा, काँग्रेसी जालझेलमा

संसदमा सबैभन्दा धेरै सांसद भएको र गठबन्धन सरकारको सबैभन्दा ठुलो साझेदार पार्टीको महासमिति बैठक चलिरहँदा देशभरिबाट ‘मिटरब्याज पीडित’हरू काठमाडौँ छिर्दै थिए। लघुवित्तको चक्रीय ऋणले थलिएकाहरू काठमाडौँका सडकमा लखेटिइरहेका थिए।

काँग्रेसको महासमिति बैठकमा जनताका विषय उठ्नुपर्ने थियो। देशभरबाट आएका महासमिति सदस्यले भिन्नभिन्नै समस्या बैठकमा जोडदार उठाउनुपर्ने थियो।

देशका भिन्न समस्या त उठेन नै यतिबेला घरमा चुलो बाल्ने अवस्था नभएपछि सडकमा रहेका जनताको विषयसमेत महासमिति बैठकमा उठ्न सकेन।

महासमिति बैठक सडकका जनताको विषयमा गौण हुनपुग्यो। घरमा मिटरब्याजी सुदखोरले बस्न नदिएपछि मिटरब्याज पीडित पूर्व र पश्चिमबाट दुई हप्ते पैदल हिँडेर काठमाडौँ आएका छन्। लघुवित्त पीडित उस्तै मार सुनाउँदै सडकमा कराइरहेका छन्।

आरती साहको परिवार धर्ना बसेको वर्षदिन पुग्दैछ। सडक ब्यापारीको उठिबास भइरहँदा अभियन्ता ई: जस्ता ब्यक्तिले पटक–पटक आन्दोलन गर्दा देशकै ठूलो पार्टी काँग्रेस सत्ता र बेमौसमी हिन्दुराष्ट्रको विषयमा अल्झिएको छ।

र, ४ वर्षपछि हुने निर्वाचनमा गठबन्धन गर्ने वा नगर्नेमा समिति बैठक विभाजित भएर सकिएको छ। महामन्त्री गगनकुमार थापाले पेश गरेको प्रस्तावमा ४ वर्षपछि हुने निर्वाचनमा गठबन्धन नगर्ने भन्ने विषयमा केन्द्रित रहेर छलफल भएको छ।

जसमा संस्थापन र इतरपक्ष महासमिति बैठकमा पनि प्रष्ट देखिए। संस्थापन पक्षका महासमिति सदस्यले गठबन्धनका विषयमा अहिले नै निर्णय गर्न नहुने मत राखे। इतरपक्ष अर्थात् थापा पक्षका सदस्यले अहिले नै काँग्रेसले निर्वाचनमा गठबन्धन गर्दैनौँ भनेर निर्णय गर्नुपर्ने मत राखे।

यो सबकाबीच यो महासमितिको बैठक भने आगामी निर्वाचनमा एक्लै लड्ने तर अहिलेको गठबन्धन सरकारलाई भने निरन्तरता दिँदै उसलाई सहयोग र साथ दिने निर्णय गर्दै सकिएको छ।

केही नेताहरूले हिन्दुराष्ट्रको बारेमा कुरा उठाए पनि त्यसले भने बैठक र छलफलमा त्यतिधेरै महत्व पाएन। यद्यपि, बाहिर हिन्दुराष्ट्रको पक्षमा हस्ताक्षर गरेका पार्टीका नेता तथा महासमिति सदस्यहरू भने चार दिनसम्म बैठकमै थिए।

प्रकाशित मिति: : 2024-02-22 21:00:00

प्रतिकृया दिनुहोस्