अंक ३–

पल शाह प्रकरण -अंक ३ : नेपाली समाजको मनोदशा र केही संगीन प्रश्नहरू ?

पल शाह प्रहरी हिरासतमा छन्। अहिले उनको स्टाटस थुनुवाको हो। नावालिगले दिएको जबर्जस्ती करणी मुद्दामा अदालतले सात दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि उनी थुनुवा हुन पुगेका हुन्। सोझो भाषामा भन्दा बाहिर राखेर अनुसन्धान गर्न बाधा पुग्ने ठानेर अदालतले उनलाई थुनुवा बनाएको हो।  

थुनुवा भनेको एक किसिमले भन्ने हो भन्ने सम्पूर्ण स्वतन्त्रता गुमाएको त नभनौं, खुम्चाएको मानिस हो। यस्तो अवस्थामा ऊ नितान्त एक्लो हुन्छ। त्यसमा पनि संगीन आरोप लागेको मान्छे त एक किसिमले विक्षिप्त नै हुन्छ। 

पलका लागि सामाजिक सञ्जाल ताते पनि त्यसले उनले भोगिरहेको पीडामा पानी  छ्याप्न सक्दैन। अहिले उनी जे भोगिरहेका छन्, एक्लै भोगिरहेका छन्। 

आम मानिसमा जिज्ञासा हुन सक्छ कि अहिले उनी के गरिरहेका होलान्? आवरणमा जे गरे पनि अहिले उनी सारमा यो घटनाको सत्यसँग सम्वाद गरिरहेका छन्। मान्छेले संसारलाई ढाँटे पनि आफूलाई ढाँट्न सक्दैन। शायद पल अहिले आफूलाई नढाँटेर बाँचिरहेका होलान्।
 
पलले जबर्जस्ती करणी गरे वा मन मिलेर यौन सम्बन्ध राखे वा यी दुबैमध्ये केही गरेनन्, त्यो सत्य कि त पललाई थाहा छ कि ती नावालिगलाई। तर, पृष्ठभूमि र परिस्थितिका आधारमा के चाँहि अनुमान गर्न सकिन्छ भने उनले आफ्नो स्टारडमको दुरूपयोग गर्दै प्रलोभनमा पारेर नावालिगसँग यौनसम्बन्ध राखे होलान्, तीन ठाउँ र फरक समयमा सम्पर्क राख्दा उनले केही वचन पनि दिए होलान्। त्यो वचन पूरा नभएपछि नावालिगलाई आफू कानूनी रूपमा माथि हुने लाग्यो होला र उनी आफ्नो विश्वासमाथि खेलेको भनेर प्रहरीकोमा गएकी होलिन् । अहिलेको परिस्थिति त्यसैले सिर्जना गरेको हो। 

सत्य ठ्याक्कै यही नभए पनि यसैको नजिक छ। यो कुरा पललाई व्यभिचारी ठान्नेलाई पनि थाहा छ, उनलाई शंकाको सुविधा दिनेलाई पनि थाहा छ र उनको पक्षमा सामाजिक सञ्जाल तताउनेलाई पनि थाहा छ। अर्थात् लगभग सबैलाई यही थाहा छ। तर, यो सबै थाहा भएर पनि मानिस भेडा-भेडासँग बाख्रा-बाख्रासँग छन्। र, त्यही अनुसार कोही म्याँ गरिरहेका छन्, कोही भ्याँ।  

पल प्रकरणलाई लिएर नेपाली समाज विभाजित छ। र, यो विभाजन एक किसिमले डरलाग्दो नै छ। यसअघि भएका यस्ता घटनामा हाम्रो समाजले जे जस्तो प्रतिक्रिया दिन्थ्यो, यसपटक त्योभन्दा बिल्कुल फरक प्रतिक्रिया दिइरहेको छ। यी  प्रतिक्रियाले एक किसिमको खुल्ला सन्नाटा सिर्जना गरेका छन्।

यो पंक्तिकार एक आमसञ्चारको अध्येता त हो नै, समाजशास्त्र र तथ्यांकशास्त्रको विद्यार्थी पनि हो। यी सबै भएर खासगरी सामाजिक सञ्जालमा देखिएका क्रिया प्रतिक्रियालाई अध्ययन सामग्री मानेर तथ्यांकमा बदल्ने र विश्लेषण गर्ने हो भने साँच्चै नै उदेकलाग्दो निस्कर्षमा पुग्न सकिन्छ। 

हाम्रो समाज अब एउटी नावालिगले आफू बलात्कृत भएँ भनेको पत्याउँदैन, बरू बलात्कारको आरोप लागेको वालिग मान्छेले भनेको कुरामा विश्वास गर्छ। अथवा, एउटा स्टारको फ्यान भएकै अधारमा मानिसले विवेक र लिंगीय चेत पनि गुमाउँछ र ऊ बर्बराउन थाल्छ कि स्टारलाई बलात्कार गर्न पनि छुट हुन्छ। यसपटक लगभग त्यस्तै स्थिति सिर्जना भएको छ।

यो परिघटनाले नाटकीय मोड लिएर प्रहरीकोमा पुगेपछि फेसबुकमा पलले दुईवटा स्टाटस राखेका छन्। पहिलोमा, उनले आफ्नै चारजना साथीले फसाएको भनेर अडियोक्लिपसहित आफू निर्दोष रहेको बताएका छन्। यी पंक्तिहरू लेखिरहेको बेलासम्म (मार्च १, २०२२) यो स्टाटसमा एकलाख ५१ हजारले प्रतिक्रिया दिएका छन्, ४४ हजारले कमेन्ट गरेका छन् भने १७ हजारले सेयर गरेका छन्। यो नै आफैंमा अजब गजबको आँकडा हो। अझ यी तथ्यांकलाई अर्को तहमा लगेर हेर्यो भने यो स्टाटस मन पराउने ७५ हजार छन् भने माया गर्ने ५३ हजार। तीन हजार पाँचसय त रोइरहेका छन्। उता, आश्चर्य मान्नेको संख्या ८७३ छ भने रिसाउनेको संख्या १४५ मात्र छ। एक लाख ५१ हजारमा यो संख्या त कुनै संख्या नै हैन भने पनि हुन्छ। अझ लिंगिय कोणबाट हेर्ने हो भने यो तथ्यांकमा ६० प्रतिशत जति महिलाको छ। यो आफैंमा यति डरलाग्दो तथ्याङ्क हो कि, समाजशास्त्रीय कोणबाट त्यसको गम्भीर विवेचना आवश्यक हुन्छ। 

एक किसिमले यो स्टाटस नावालिगले जबर्जस्ती करणी गरेको किटानी जाहेरी दिएपछि पलले आफू निर्दोष रहेको भनेर दिएको एक किसिमको ट्रायल बलुन थियो। यो वयानले यति ठूलो समर्थन पाउँनु भनेको पल निर्दोष हुन् अनि नावालिगले उनलाई फसाउन कसैको उक्साहटमा यसो गरेको हो भन्ने तर्कले जितेको हो। अर्थात्, हाम्रो समाज अब एउटी नावालिगले आफू बलात्कृत भएँ भनेको पत्याउँदैन, बरू बलात्कारको आरोप लागेको वालिग मान्छेले भनेको कुरामा विश्वास गर्छ। अथवा, एउटा स्टारको फ्यान भएकै आधारमा मानिसले विवेक र लिंगीय चेत पूरै गुमाएर स्टारलाई बलात्कार गर्न पनि छुट दिनुपर्छ भनेर बर्बराइरहेको छ। यो बर्बराहट साँच्चै नै टिठलाग्दो छ।

ल यो त फ्यानको कुरा भयो भनौ। नेपाली चलचित्र क्षेत्रको प्रतिनिधि प्रतिक्रिया पनि उस्तै उस्तै छ। नायक मात्र हैन, नायिका पनि कोही मुख खोलेर त कोही मौन बसेर पलकै समर्थन गरिरहेका छन्। चलचित्रका पर्दामा अवला नारीको भूमिका निर्वाह गरेर ताली पाउँने नायिकाहरू आज एक नावालिग बलात्कृत भएँ भनेर न्याय माग्न उभिएको बेला कुना पसेका छन्। उनीहरू केही बोल्दैनन्। कम्तीमा अपराधीले सजाय पाउँनुपर्छ, पीडितले न्याय पाउँनुपर्छ त भन्न सक्नुपर्ने थियो, त्यतिसम्म पनि बोलिरहेका छैनन्। चलचित्र क्षेत्रका विभिन्न संघ-संस्था पनि केही सिधै केही घुमाउरो पाराले पलकै पक्षमा उभिएका छन्। 

आफूलाई नागरिक समाज, महिला अधिकारकर्मी, नारीवादी भन्नेहरू पनि हराएका छन्। अरूका लागि मण्डला र वालुवाटार धाउने उनीहरूले यसपटक यी नावालिगका लागि भने त्यतातिरको बाटो नै भुलिदिए। शायद उनीहरू पनि स्टारपावरसँग लठ्ठ भएर यसो गरिरहेका छन्। 

चलचित्रका पर्दामा अवला नारीको भूमिका निर्वाह गरेर ताली पाउँने नायिकाहरू आज एक नावालिग बलात्कृत भएँ भनेर न्याय माग्न उभिएको बेला कुना पसेका छन्। उनीहरू केही बोल्दैनन्। कम्तीमा अपराधीले सजाय पाउँनुपर्छ, पीडितले न्याय पाउँनुपर्छ त भन्न सक्नुपर्ने थियो, त्यतिसम्म पनि बोलिरहेका छैनन्।

हाम्रो समाजले नारी समवेदना त बुझेन भने नावालिगसँगको यौन सम्पर्कको बारेमा कानूनले भन्ने कुरा बुझ्ने कुरै भएन। यो पंक्तिकार उनीहरूले बुझ्ने भाषामा लेखिरहेको छ कि नावालिगमाथिको यौनसम्बन्ध सहमतिमा भए पनि त्यो कानूनले बर्जित गर्छ र त्यसलाई बलात्कार नै मान्छ। अनि, यस्तो बलात्कारका लागि हदम्याद हुदैन। सहमतिमै सहबास भएको भए पनि नावालिगले कुनै पनि बेला सहमति मानिनन् र बलात्कार भयो भनिन् भने त्यसलाई कानूनले बलात्कार नै मान्छ। अहिले नेपालको कानून व्यवस्था यही हो।

अहिले पल शाह यही संगीन अभियोग लागेर थुनुवा भएका हुन्। र, स्वयं नावालिग आफ्नो गोप्य अंग परीक्षण गराएरै किटानीका साथ जबर्जस्ती करणी भएको भनिरहेकी छिन्। यो जति ठूलो प्रमाण के हुन्छ? के एकजना नावालिग नभएको घटनाका लागि यति ठूलो अभियोग लगाएर जोखिम मल्न तयार हुन्छिन्? यदि यो प्रमाणित भएन भने त त्यसको कानूनी मात्र हैन, सामाजिक मार पनि उनलाई पर्छ। यो सबैका लागि तयार भएर उनी कुरूक्षेत्रमा होमिएकी छिन्। अब यसमा कोही संलग्न भयो भनेर विषयान्तर गर्नुले कुनै अर्थ लाग्दैन। कानूञ्चीहरू नै भन्छन्, यदि आरोप प्रमाणित भयो भने आज उक्साउने भनिएकाहरू बलात्कारीलाई कारबाही गर्न र निर्दोषलाई न्याय दिलाउन लागिपरेका कानूनका सहयोगी मानिन्छन् र उनीहरू धन्यवादका पात्र हुन्छन्। 

पल शाह प्रकरण अत्यन्तै परल मात्र हैन, जटिल मोडमा उभिएको छ। यो कति जोखिमपूर्ण मोडमा छ, त्यसको छिनोफानो सूबत: निम्न प्रश्नहरूको उत्तरले गर्नेछन्-  
१. उजुरी दिने साँच्चै नावालिग हुन् कि हैनन् ?
२. स्वास्थ्य परीक्षणमा उनको कुमारीत्व बाँकि देखिन्छ कि देखिदैन?
३. उजुरीकर्ताले दावी गरेअनुसार घटना घटेका स्थान र तिथिमिति मिल्छन् कि मिल्दैनन्?
४. उजुरीकर्ताले होस्टाइल भएर बोली फेर्छिन् कि फेर्दिनन्?

यदि यी प्रश्नहरूको उत्तर उजुरीकर्ताको पक्षमा गए भने अब नायक पल शाह बलात्कारी पूर्णविक्रम शाह हुन कति पनि टाढा छैन। 

यो एउटा पल शाहको प्रश्न हैन। प्रश्न यो क्षेत्र पल शाह प्रवृतिलाई कसरी लिन्छ भन्ने हो? अहिले जुन किसिमको रमिता हेर्ने काम भैरहेको छ, त्यसले यो क्षेत्र राम्रा मान्छेका लागि हैन रहेछ भन्ने भाष्य निर्माण हुदैछ। यसै पनि नौटंकी भनेर एउटा वर्गले दूरीमा राखेकै थियो, यस्तै गतिविधि हुदै जाने हो सामाजिक सञ्जालमा आमा चकारी गर्नेहरू मात्र नेपाली चलचित्रको पक्षमा उभिनेछन्।

यो पंक्तिकार को दोषी र को निर्दोष भनेर फैसला गरिरहेको छैन। उसलाई राम्ररी थाहा छ कि यो उसले गर्ने काम नै हैन। नेपाली चलचित्रलाई माया गर्ने एक सचेत अक्षरकर्मीका नाताले पल शाह प्रकरणमा नेपाली समाज र नेपाली चलचित्र क्षेत्रले जे जस्तो प्रतिक्रिया दिइरहेको छ, त्यो नेपाली समाजको चरित्र हैन भन्ने कुराको हेक्का गराउन चाहन्छ, नेपाली समाज समवेदनाहीन बन्दैगएकोमा चिन्ता व्यक्त गरिरहेको छ। 

सत्य तथ्य के हो, त्यो त समयक्रममा अदालतले दुधको दुध पानीको पानी छुट्याउला नै। तर, अहिलेको सत्य भनेको पल शाहमाथि एक नावालिगलाई बलात्कार गरेको संगीन आरोप लागेको छ। अन्य क्षेत्रमा यस्तो आरोप लागेको मान्छेलाई सम्बन्धित क्षेत्रले तत्काल निलम्बन गरेर निर्दोष प्रमाणित नहुञ्जेल उसका गतिविधिमाथि रोक लगाउँथ्यो। र, पछि निर्दोष सावित भए मात्र उसको निलम्बन फुकुवा गर्थ्यो। तर, दु:खको कुरा नेपाली चलचित्र क्षेत्रले पल शाहलाई निलम्बन त गरेन नै, उल्टै त्यस्ता व्यक्तिको पक्षमा लागेर भगवान नै गुहारिरहेको छ। राष्ट्रको गहनाको दाबी गर्ने क्षेत्र यस्तो अवस्थामा पुग्नु, आफैमा ठूलो विडम्बना हो। 

यो पंक्तिकार नेपाली चलचित्र क्षेत्रका जिम्मेवार संघ-संस्था र व्यक्तिलाई यो परिघटनालाई गम्भीरतापूर्वक लिन अनुरोध गर्दछ। किनकि, यो एकजना पल शाहको मात्र प्रश्न हैन। प्रश्न यो क्षेत्र पल शाह प्रवृतिलाई कसरी लिन्छ भन्ने हो? अहिले जुन किसिमको रमिता हेर्ने काम भैरहेको छ, त्यसले यो क्षेत्र राम्रा मान्छेका लागि हैन रहेछ भन्ने भाष्य निर्माण हुदैछ। यसै पनि नौटंकी भनेर एउटा वर्गले दूरीमा राखेकै थियो, यस्तै गतिविधि हुदै जाने हो भने सामाजिक सञ्जालमा आमा चकारी गर्नेहरू मात्र नेपाली चलचित्रको पक्षमा उभिनेछन्। अनि के अनुहारले खोज्ने यसले राष्ट्रिय सम्मान?

फेरि पनि जो जस्ले बुझिरहेको छैनन्, उनीहरूले बुझ्न जरूरी के छ भने यो मुद्दामा एक नावालिग आफूमाथि बलात्कार भएको भनेर किटानी उजुरी लिएर प्रहरीकोमा पुगेकी छिन् । र, उनलाई कानूनले ठूलो सुरक्षा प्रदान गरेको छ। तर, यस्तो अवस्थामा पनि नेपाली चलचित्र क्षेत्र मुखमा बुजो लगाएर पल शाहको पक्षमा उभिएको छ। उनीहरुको त वर्गीय प्रेम भयो रे पनि भन्न सकिएला । तर, यी नावालिगप्रति नागरिक समाज, मानवअधिकारकर्मी, नारीअधिकारवादीहरू कसरी यति धेरै असंवेदनशील हुन सक्छन्? के यी नावालिगले  न्यायको आश मारेर अर्की श्रीषा कार्की हुनुपर्ने हो? अनि मात्र उनीहरूले माइतिघर मण्डलाको बाटो देख्ने हुन्?  

यो पंक्तिकार श्रीषा कार्कीका लागि आन्दोलन गर्ने चलचित्रकर्मीप्रति जति गर्व गर्छ, पल शाहका लागि मुखमा बुझो लगाउनेहरूप्रति त्यति नै क्षोभ प्रकट गर्छ। यसको अर्थ फेरि पनि पल शाह दोषी नै हुन् भन्ने हैन, तर उनी नावालिग बलात्कारका आरोपी हुन् र अहिले त्यही अभियोगमा प्रहरी हिरासतमा छन्। अभियोग लागेको मानिसलाई निर्दोष नहुञ्जेल कम्तिमा मनबाट निलम्बन गर्ने हो, उसका लागि भगवानसाथ छन् भनेर  पुकारा गर्ने हैन। 


यो पनि पढ्नुहोस् :

श्रृंखला– १: कति बिरोधाभास छ- 'नायक' र 'बलात्कार' !

श्रृंखला– २: यसो गरे सबैको ‘जीत’ हुन्छ !

प्रकाशित मिति: : 2022-03-03 11:00:00

प्रतिकृया दिनुहोस्