जापानमा ४० हजार नेपाली विद्यार्थीले उच्च शिक्षा अध्ययन गरिरहेका छन्। जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीका अनुसार जापानमा नेपालीको संख्या झण्डै १ लाख ६३ हजार रहेकाे र जसमा ४० हजार विद्यार्थीले उच्च शिक्षा अध्ययन गरिरहेका छन्।
साथै जापानमा नेपालीहरू विभिन्न पेसा व्यवसाय, रोजगारी गरिरहेका छन्। सुवेदीका अनुसार जापानमा ८ सयभन्दा बढी नेपालीले रेष्टुरेण्ट व्यवसाय गरेर बसेका छन्। यस्तै, रेमिट्यान्स, रियलस्टेट, इ–कर्मशलगायतका व्यवसायमा संग्लन नेपाली संलग्न छन्।
यसैबीच सुवेदीले विदेशमा खुलेका नेपाली संघ–संस्थाबीच शत्रुता नभइ प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्।
जापानमा रहेको नेपाली समुदायको उदाहरण दिँदै राजदूत सुवेदीले प्रवासमा नेपाली संघ–संस्थाहरू विस्तार हुनु राम्रो पक्ष भएको बताए।
‘विदेशमा नेपाली संघ–संस्थाहरू बढिरहेका छन्। जापानमा पनि सयौं नेपाली संघ–संस्था छन्। सामाजिक काम गर्न संस्था जन्मिनु राम्रो कुरा हो,’ उनले भने, ‘संघ–संस्थाबीच शत्रुता हुनु हुँदैन। राम्रा कार्यका लागि प्रतिस्पर्धा गर्नुपर्छ।’
नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)को सम्मेलनका लागि टोकियो पुगेका पत्रकारहरूसँग कुरा गर्दै सुवेदीले नेपाली संघ– संस्थाहरूसँगको सहकार्य र सहयोगबिना दूतावासका कामकारवाही प्रभावकारी नहुने बताए।