फिल्म नगरेकाे पछुताे...

photo–agency
photo–agency

 बिग बोस–१७ पछि अंकिता लोखंडे अहिले फिल्ममा लागिरहेकी छन्।

अंकिता यतिबेला रणदीप हुड्डाको साथमा रिलिज भएको फिल्म ‘स्वातंत्र्य वीर सावरकर’का कारण चर्चामा छिन्।

उनी पहिलाेपटक सिरियल 'पवित्र रिश्ता' को कारण चर्चित भएकी थिइन्। यो सिरियलले उनलाई लोकप्रियताको शिखरमा पुर्यायो।

‘पवित्र रिश्ता’ पछि अंकितालाई कंगना रनौतले उनको फिल्म ‘मणिकर्णिका’का लागि कास्ट गरेकी थिइन्।

हालै अंकिताले एक मिडिया पोर्टललाई दिएको अन्तर्वार्तामा मणिकर्णिकासँगै अन्य धेरै ठूला फिल्मको अफर आएको बताइन्। तर सुशान्त सिंह राजपुतका कारण उनले यी फिल्म गर्न अस्वीकार गरेकाे बताइन्।

आफ्नो कामका साथै सुशान्त सिंह राजपुतसँगको सम्बन्धका कारण पनि चर्चामा रहेकी अंकिता लोखंडेले आफू सुशान्तसँग बिहे गर्न चाहने भएकाले ठूला बजेटका धेरै फिल्म रिजेक्ट गरेको बताइन्।

अंकिताले रिजेक्ट भएका फिल्ममा सञ्जय लीला भन्सालीको ‘बाजीराव मस्तानी’ जस्ता सुपरहिट फिल्म पनि पर्छन्।

अंकिता भन्छिन् कि त्यो बेला उनी सुशान्तसँग गम्भीर सम्बन्धमा थिइन् र उनीसँग बिहे गर्ने सपना देखेकी थिइन्।

त्यसैले करियरभन्दा व्यक्तिगत जीवन र सम्बन्धलाई बढी महत्व दिँदै उनले धेरै ठूला फिल्मलाई अस्वीकार गरिन्।

भन्सालीकाे फिल्ममा देखिदैंछिन् अंकिता?

जब अंकिताले सञ्जय लीला भन्सालीलाई विवाह गर्नुपर्ने भएकाले फिल्म गर्न नपाउने बताएकी थिइन्, तब उनले अंकितालाई ‘बाजीराव मस्तानी’ जस्तो फिल्म नगर्दा पछुताउने बताएका थिए।

उनलाई लाग्छ कि उनले जीवनमा केही निर्णयहरू गलत लिइन् हाेला तर पछुताे नलागेकाे अंकिता बताउँछिन्।

यी ठूला फिल्मका लागि अडिसन दिने मौका पाएकोमा उनी आफूलाई भाग्यमानी ठान्छिन्। साथै, अंकिताले भविष्यमा सञ्जय लीला भन्सालीसँग काम गर्ने मौका पाउने आशा राखेकी छिन्। 

प्रकाशित मिति: : 2024-04-11 18:00:00

प्रतिकृया दिनुहोस्