प्रदीप र दिव्याकाे फिल्म ‘एक्टर’को पोखराबाट छायांकन सुरु

अभिनेता प्रदीप खड्का र नव-अभिनेत्री दिव्या रायमाझीले फिल्म ‘एक्टर’को छायांकन सुरु गरेका छन्।

पोखरास्थित बिन्ध्यवासिनी मन्दिरमा शुक्रबार पूजाआजा गरेपछि फिल्मको छायांकन सुरु गरिएको हो।

फिल्मको पहिलो सट प्रदीप र दिव्याले दिएका छन्। पोखरामा १० दिन छायांकन हुने निर्माता थमनकुमार भण्डारीले जानकारी गराए। त्यसपछि बाँकी छायांकन काठमाडौँमा हुनेछ।

राजन भुसालको डेब्यु निर्देशनमा बन्न लागेको फिल्ममा प्रदीप र दिव्यासहित राजबल्लभ कोइराला, दिव्यदेव, आना शर्मा, सुशील सिटौला लगायतको अभिनय रहनेछ।

राजबल्लभले यही फिल्मबाट करिब दश वर्षपछि कमब्याक गर्न लागेका हुन्। यतिबेला अमेरिकामा रहेका उनी केही दिनमा नै नेपाल ओर्लिँदैछन्। दुई हप्ताअघि हवन यज्ञसहित फिल्मको शुभ-मुहूर्त गरिएको थियो।

फिल्मलाई यस वर्षको तिहारको अवसर पारेर कात्तिक १५ गते लक्ष्मीपूजामा रिलिज गर्ने तयारीमा निर्माण टिम छ। फिल्मको सह-निर्माता एनिस भुसाल हुन्।

अदृत फिल्म्स र मोती फिल्मस्को प्रस्तुति रहेको फिल्मका छायाँकार नरेन्द्र मैनाली हुन्। फिल्ममा प्रदीपले कलाकारकै भूमिका निर्वाह गर्नेछन्। दिव्याको भने यो पहिलो फिल्म हो। उनी अभिनेता दीलिप रायमाझीकी छोरी हुन्।

प्रकाशित मिति: : 2024-05-10 17:22:00

प्रतिकृया दिनुहोस्