सानो लगानीले पनि रोजगारीमा सहयोग पुर्‍याउँछ- देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो समय युवाहरूको स्टार्ट अप व्यवसायतर्फ आकर्षण बढेको बताएका छन्।

नेपाल स्टार्टअप र एसएमई समिट कार्यक्रममा बोल्दै देउवाले युवा पुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढंगले काम गर्ने प्रयास गरेको भन्दै युवाहरू पछिल्लो समय स्टार्ट अप व्यवसायतर्फ आकर्षित भएको बताएका हुन्।

उनले भने, ‘यस्ता उद्यम संचालन गर्न सहुलियतपूर्ण ऋण, तालिम, सीप विकास र विशेष अनुदान पनि आवश्यक पर्छ। व्यवसायमा टिक्नका लागि उद्यमीले धैर्यसँगै निरन्तरता दिनुपर्ने भएकाले सरकारको साथ, समर्थन र संरक्षकत्व अपरिहार्य हुन्छ। थोरै लगानीमै स्टार्ट अफ व्यवसायलाई प्रभावकारी रुपमा संचालन गर्ने हो भने रोजगारीमा क्रान्ति ल्याउन पनि सकिन्छ।’

उनले स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सृजना गर्नु पर्ने अहिलेको आवश्यकता रहेको पनि बताए।

‘गाउँ गाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सृजना गर्नु पर्ने अहिलेको अवश्यकता हो। गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा सानो लगानीले पनि रोजगारी र आत्मनिर्भरतामा सहयोग पुर्‍याउँछ,’ उनले भने।

देउवाले नेपालमा नागरिकको स्वतन्त्रता, समानता र न्याय सहितको  लोकतान्त्रिक अधिकार प्राप्तिको हरेक आन्दोलनको अग्रमोर्चामा रहि आफ्नो प्राणको आहुति दिएका सहिदहरूको स्मरण गर्दै श्रद्धासुमन पनि व्यक्त गरेका छन्।

प्रकाशित मिति: : 2025-01-29 14:16:00

प्रतिकृया दिनुहोस्