नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ को निर्वाचन परिणाम माओवादीको पक्षमा आउनबाट अब कसैले रोक्न नसक्ने दाबी गरेका छन्।
अनेरास्ववियु क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको सपथ तथा पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
०६४ मा जस्तै अहिले देशव्यापी लहर आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसले थप उत्साह र प्रेरणा दिइरहेको बताए।
उनले भने, ‘२०६४ मा यस्तै उभार थियो, नेतृत्व जता गयो, उतै छुन खोज्ने, बोल्न खोज्ने अवस्था थियो। जनतामा ठूलो आकर्षण थियो, अहिले त्यस्तै देखिएको छ। म बिहानको मर्निङ वाकदेखि दिनभरि जनताकै बीचमा खट्ने गरेको छु, जनताकै उत्साह र प्रेरणाबाट यो संभव भएको छ, म जीवनभर यो अभियान जारी राख्ने छु।’
आफू ७० वर्षे वृद्ध भइसकेको र अहिले विद्यार्थी संगठनमा ३२ वर्षमुनिका साथीहरू आएको उल्लेख गर्दै उनले जनताको बीचमा जान अब नयाँ खालको प्रतिष्पर्धा गर्न आवश्यक रहेको बताए।
संसारभर कम्युनिष्ट पार्टीभित्रको अन्तरसंघर्ष र बहस हुँदा एकता, संघर्ष, रुपान्तरण, नयाँ आधारमा नयाँ एकता नै महत्वपूर्ण सूत्र भएको उल्लेख गर्दै उनले सबैले यसलाई आत्मसात गर्नुपर्ने बताए।
यो कम्युनिष्टहरूको महत्वपूर्ण दर्शन भएकाले व्यक्ति र गुटवादी होइन, मार्क्सवादी भएर अघि बढ्न विद्यार्थी नेतृत्वलाई आह्वान गरे।
आगामी स्ववियु निर्वाचनमा श्रेष्ठता हासिल गर्न आग्रह गर्दै उनले अखिल क्रान्तिकारीको नयाँ केन्द्रीय समितिका अगाडि महत्वपूर्ण चुनौतीको रुपमा रहेको बताए।
स्ववियु निर्वाचनमा अर्जुनदृष्टि बनाउन निर्देशन दिंदै उनले एकताबद्ध भएर सम्पूर्ण तयारीमा लाग्न आग्रह गरे।