पूर्वराजा घर फर्किँदै, जस्तो परिस्थिति आएपनि सामना गर्न तयार छौं- प्रहरी

Break n Links
Break n Links

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको एक साता बसाइँपछि काठमाडौं फर्किंदा राजावादी दल र समूहहरूले उनको स्वागतमा प्रदर्शन गर्दैछन्।

प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ।

आज बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित चाबहिल, गौशालालगायत संवेदनशील क्षेत्रहरूमा सुरक्षाकर्मीहरूलाई परिचालन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका उपरीक्षक संजय बहादुर राउतले बताए।

उनले भने, ‘आज पोखराबाट पूर्वराजा आउँदै  हुनुहुन्छ। बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित चाबहिल, गौशाला, महाराजगञ्जलगायत संवेदनशील क्षेत्रहरूमा सुरक्षाकर्मीहरू परिचालन छन्। आवश्यकताअनुसार सुरक्षाकर्मीहरू परिचालन गरिएका छन्। जस्तो परिस्थिति आए पनि सामना गर्ने गरी रणनीति बनाएका छौं।’

पूर्वराजा शाह पोखराबाट आज दिउँसो काठमाडौं आउँदैछन्। उनको स्वागतका लागि राजावादीहरू काठमाडौंका विभिन्न स्थानबाट जुलुससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडि भेला हुने तयारीमा छन्।

प्रकाशित मिति: : 2025-03-09 11:55:00

प्रतिकृया दिनुहोस्