२०५८ साल जेठ १९ गते दरबार हत्याकाण्ड भयो। तत्कालीन ‘राजा’ वीरेन्द्र र उनका कोही पनि वंश नै रहेनन्। त्यो रहस्यमयी वंशबिनाससँगै ‘गोरखनाथ’ रिसाएको भन्ने मिथकहरू गाइँगुइँ भयो।
त्यो घटनामा बचेका ज्ञानेन्द्र शाह त्यसपछि ‘राजा’ भए। जीवनमा उनी दोस्रोपटक राजा भएका थिए। त्यो सौभाग्यलाई फेरि ‘गोरखनाथकै आशीर्वाद’ भन्ने कथनहरू त्यो बेला चर्चित भएको थियो। जब २०६३/०६३ को जनआन्दोलनसँगै उनले राजगद्दी त्याग्नुपर्ने अवस्था आयो। अनि फेरि ‘गोरखनाथ’ रिसाएको भन्ने मिथकहरू सुरु भएका थिए।
नारायणहिटीबाट निकालेर सरकारले उनलाई नागार्जुन दरबारमा राखेको छ। उनलाई सरकारी सेवा सुविधा छ। सुरक्षाकर्मीहरू छन्। उनी आफैले दरबारमा जस्तै ‘संवाद सचिवालय’ पनि चलाएका छन्। उनका संवाद सचिव डा. फणिन्द्र पाठकले उनका सबै कामकाजहरू हेर्छन्। केही जानकारी दिनुपर्यो भने उनले नै सूचना जारी गर्छन्। त्यसयता पूर्वराजा ज्ञानेन्द्रको दैनिकी देशमा भएका विभिन्न शक्तिपीठहरूको दर्शनमै बितिरहेका छन्। उनी छिमेकी भारतमा पनि पूजाआजका लागि जान्छन्।
कहिलेकाहिँ उनी बाहिर निस्किएर अलि ज्यादा गर्न थालेको भन्दै राजनीतिक दल र सरकार अलि चनाखो भएजस्तो गर्छ। ऐतिहासिक दिवसका अवसरमा उनले आफूलाई ‘राजा’कै हैसियतमा राखेर राष्ट्र र जनताका नाममा सन्देश जारी गर्छन्। गत फागुन ७ प्रजातन्त्र दिवसका बेला उनले दिएको त्यस्तै एउटा सन्देशले अहिले देशमा नयाँ राजनीतिक तरंग ल्याइदिएको छ। खासगरी उनी दर्शन गर्न जाँदा ठाउँठाउँमा ‘राजा आऊ देश बचाऊ’ भन्ने नारा गुन्जिन्छ। त्यसका लागि हजारौं मानिस जम्मा हुन्छन्। गत फागुन ७ गते उनले ‘देश बचाउने हो भने अब हामीलाई साथ दिनूस्’ भन्ने आह्वान गरेका थिए। त्यसलाई राजावादीहरूले स्वागतमात्रै गरेनन्। त्यसबाट हौसिएकाहरूले फागुन २५ गते पोखराबाट फर्किने क्रममा पूर्वराजा ज्ञानेन्द्रलाई भव्य स्वागत गरे।
देशको राजनीति अहिले फेरि ‘राजा आउँछन् र राजा कुनै पनि हालतमा आउँदैनन्’ भन्ने कित्तामा बाँडिएको छ। राजावादीहरूले राजाका पक्षमा र गणतन्त्रवादी भनिनेहरूले उनीहरूको विरुद्धमा एकपछि अर्को आन्दोलन घोषणा गरिरहेका छन्। राजा पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टीका अलावा राजसंस्था चाहने अरुले पनि छुट्टै मोर्चा बनाएका छन्।
यसबीचमा पूर्वराजा ज्ञानेन्द्र फेरि एकपटक देवीदर्शनमा निस्किएका छन्। खासगरी उनले गोरखालाई केन्द्रमा राखेर त्यहाँका गोरखनाथ, गोरखकाली र मनकामनालगायतका मन्दिरहरू दर्शन गर्नेछन्।
गोरखनाथलाई शाहवंश अझ खासगरी राजपरिवारले आफ्नो ‘इष्ट देवता’का रुपमा मान्दै आएको छ। पौराणिक किंवदन्तीहरूमा गोरखनाथकै आशीर्वादले शाहवंशले देशको राजकाज सम्हाल्ने मौका पाएको भन्ने छ।
दरबारिया शाहवंशको उदय गोरखाबाटै भएको मान्यता छ। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकूलपति एंव बरिष्ठ संस्कृतीविद् डा. जगमान गुरुङ पनि यो पौराणिक मान्यताका कैयौ आधारहरू रहेको बताउँछन्। उनी अहिले पूर्वपञ्चहरूले बनाएको राजा फर्काउने एउटा मोर्चामा सक्रिय छन्। र यसपालि ज्ञानेन्द्रको गोरखा भ्रमण उनकै व्यवस्थापनमा हुँदैछ।
‘गोरखा दरबार भनेको श्री ५ हरूको आफ्नो घर, आफ्नो दरबार हो। त्यसकारण श्री ५ ज्ञानेन्द्रले जुन सुकै अवस्था र बेलामा पनि गोरखा दरबार प्रवेश गरिबक्सेर आफ्ना कुलदेवी गोरखकालीको दर्शन, पूजन गर्न सकिबक्सन्छ’ उनले भनेका छन् ‘यसमा पनि २०८१ चैत ९ गते, शनिवार। चैत्रकृष्णअष्टमी गोरखकालीपूजाको पर्व हो। अत: २०८१ चैत ९ गते, शनिवार। चैत्र कृष्णअष्टमीका दिन श्री ५ ज्ञानेन्द्र सरकारवाट गरिबक्सने गोरखकालीपूजालाई शुक्र अस्तको दोष लाग्दैन।बौद्धतन्त्र अनुसार गरिने वज्रभैरवको पूजा त अझ सम्पूर्ण ग्रह गतिको अशुभ फल र दोष मेटाउने पूजा हो।’
द्रब्य शाहदेखि पृथ्वीनारायण शाहलालाई समेत कुनै न कुनै रुपमा गोरखनाथ प्रकट भएर आशीर्वाद दिएको भन्ने दरबारिया पौराणिक कथाहरूमा पाइन्छ।
यसपछि आगामी वैशाख महिनामा यही गोरखकाली मन्दिरमा उनीहरूले दुई दिने अनुष्ठानको तयारी पनि गरेका छन्।
‘गोरखकाली, गोरखनाथहरू भनेका राजाका इष्ट देवता हुन्। हामीले फेरि राजा फर्किने वातावरण बनाउनका आगामी वैशाखमा दुई दिनको अनुष्ठान पनि लगाउने तयारी गरिरहेका छौं’ उनी भन्छन् ‘राजा यहाँ आएर दर्शन गर्नु केही न केही हुँदैछ भन्ने संकेत पनि हो।’