नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईले राजतन्त्रलाई भूतको संज्ञा दिएका छन्।
प्रथम महाधिवेशनअन्तर्गत ‘भाव सम्प्रेषण तथा प्रशंसा अभियान’ उद्घाटनका क्रममा जनकपुर पुगेका भट्टराईले भूतको भ्रम बोकेर हिँड्नेहरू निराशा र काल्पनिक सपनामा बाँचने दाबी गर्दै उनीहरूको वास्तविक संसारसँग सम्बन्ध नभएको टिप्पणी गरे।
उनले भने, ‘हामी पछाडि फर्किने कुरा हुँदैन। मधेशजस्तो क्षेत्र, जहाँ विभिन्न समुदायहरू वर्षौंदेखि उत्पीडनमा परेका थिए, अब जागिसकेका छन्, र तिनलाई छलकपट गर्न अब कठिन छ। लोकतन्त्रलाई सुरक्षित गर्न सबै एकजुट हुन आवश्यक छ। राजतन्त्र भूत हो- भूत भ्रम हो। यस्तो भ्रम बोकेर हिँड्नेहरू निराशा र काल्पनिक सपनामा बाँच्छन्, जसको वास्तविक संसारसँग न सम्बन्ध छ, न सम्भावना।’
भ्रष्टाचार र बेथितिविरुद्ध भट्टराईको धारणा
उनले भ्रष्टाचार र बेथिति सम्बन्धमा धारणा राख्दै भने, ‘आजभन्दा तीन गुणा बढी भ्रष्टाचार राजाहरू र राणाहरूको पालामा हुन्थ्यो। तर उनीहरू त्यति कुटिल थिए कि तिनका गलत कामहरू जनतासम्म पुग्नै दिँदैनथे। त्यसैले जनतालाई शिक्षित नै गराइएन। अहिले जनता पढ्न-लेख्न पाएका छन्। केही क्षेत्रमा अझै शिक्षा आवश्यक छ, तर त्यस समयमा त आधारभूत शिक्षा पनि सीमित व्यक्तिहरूसम्म मात्र सीमित थियो। राजाहरूले आफ्नै सत्ता सुरक्षित राख्नका लागि खोलिएका केही विद्यालयहरूमा मात्र शिक्षाको पहुँच थियो।’
लोकतन्त्रका उपलब्धि रक्षा गर्न नागरिकको भूमिका
भट्टराईले अहिलेको लोकतान्त्रिक व्यवस्थाले जनतालाई स्वतन्त्र रूपमा बोल्ने, आलोचना गर्ने, र सरकार छान्ने अवसर दिएको उल्लेख गरे।
‘अब जनताले नेताहरू छान्ने मात्रै होइन, विकल्पयुक्त सोच भएका नयाँ पुस्ताका सक्षम नेताहरूलाई चयन गर्नुपर्छ। राजतन्त्र फिर्ता ल्याएर पञ्चायती शासन चलाउने सपना देख्नेहरू आफैं द्विविधामा छन्। तसर्थ, सत्ताको भोकले तिर्खाएका नेताहरूले पनि यो सत्य स्वीकार गर्नुपर्छ।’
नयाँ वैकल्पिक शक्ति निर्माणको आह्वान
डा. भट्टराईले पुराना दलहरूबाट अब कुनै परिवर्तन सम्भव नरहेको बताउँदै, आर्थिक क्रान्ति, रोजगार, वैज्ञानिक तथा प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।
‘गाडी लिएर समुद्रको किनारसम्म पुग्न सकिन्छ, तर समुद्र पार गर्न जहाज नै आवश्यक पर्छ। त्यसैले अब पुराना पार्टीहरूले देशलाई कुनै नयाँ उपलब्धि दिन सक्दैनन्। बेरोजगारी हटाउन, वैज्ञानिक र प्राविधिक शिक्षा प्रवर्द्धन गर्न, तथा आर्थिक क्रान्ति ल्याउन वैकल्पिक शक्ति एकजुट भएर अघि बढ्नुपर्छ।’