नेपालमा एमसिसी अन्तर्गतका कामहरू फेरि अगाडी बढ्ने भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै अमेरिकी सहायताहरूको समीक्षा गर्न आदेश दिएपछि यो परियोजनाका कामहरू पनि रोकिएका थिए।
अमेरिकी सरकारले सिधा लगानी रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालमा भित्रिएको सबैभन्दा ठूलो आर्थिक सहायता परियोजना हो। दशकौंसम्मको राजनीतिक विवादपछि यसलाई नेपालको संसदले नै पारित गरेर कामहरू अघि बढेका थिए।
एमसिसी कार्यान्वयन कार्यक्रम एमसिए नेपालले रोकिएका सबै कामहरू अघि बढाउनका लागि अमेरिकाले अनुमति दिएको जनाएको छ।
‘एमसिए–नेपाल कामहरूको पुनः थालनीका लागि व्यवस्थापन गरिरहेको छ भने पारदर्शिताप्रति प्रतिबद्ध रहेको छ’ एमसिएले भनेको छ।
नेपालमा प्रसारण लाइन निर्माण र सडक पूर्वाधार स्तरोन्नतिका लागि ५० करोड डलर अनुदान उपलब्ध गराउने गरी २०७४ भदौ २९ गते नेपाल सरकार र अमेरिकी सरकारबिच कम्प्याक्टमा सम्झौता भएको थियो । त्यसमा नेपाल सरकारको १९७ मिलियन डलर योगदान हुनेछ।
यो परियोजनामार्फत ३ सय किलोमिटर अन्तर्देशीय विद्युत् प्रसारण लाइन, सबस्टेसन निर्माण र ७७ किलोमिटर सडकको स्तरोन्नति र मर्मतको लक्ष्यसहित सम्झौता गरिएको थियो ।
विवादकै बीचमा नेपालमा राजनीतिक दलहरूको १२ बुँदे व्याख्यासहित नेपालको संसद्ले २०७८ फागुन १५ गते एमसिसी सम्झौता पारित गरेको थियो ।
एमसिसीसँगै रोकिएको युइएसएआइडीका परियोजनाहरू भने निश्चित भइसकेका छैनन्। अमेरिकी सरकारले यो परिजनालाई विश्वभरि नै सदाका लागि अन्त्य गर्ने योजना बनाइरहेको छ। नेपालसहित विश्वभरि रहेका यो परिजनाका सबै कामहरू रोकिएका छन् भने लाखौं कर्मचारीहरूलाई बिदामा बस्न भनिएको छ।