शान्ति सम्झौताका बाँकी काम पूरा गर्न सबै दल तत्पर छौं: देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्वकालमा भएका मानवअधिकार उल्लंघनका घटनाहरूको छानविनमार्फत सत्यतथ्य उजागर गरी न्याय दिलाउन कांग्रेस सुरुदेखि नै प्रतिवद्ध रहिआएको बताएका छन्।

बिहीबार संक्रमणकालीन न्यायसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले पीडितलाई न्याय दिने कुरामा दुई मत नरहेकाले वर्तमान सरकार शान्ति सम्झौताका बाँकी काम पूरा गर्न अघि बढिरहेको बताएका हुन्।

उनले भने, ‘द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका घटनाहरूको  छानविनमार्फत सत्यतथ्य उजागर गरी न्याय दिलाउन नेपाली कांग्रेस सुरुदेखि नै प्रतिवद्ध रहिआएको छ। पीडितलाई न्याय दिने कुरामा कुनै पनि दुई मत छैन। वर्तमान   सरकार शान्ति सम्झौताका बाँकी काम पूरा गर्न अघि बढिरहेको छ।’

उनले संक्रमणकालीन न्यायका लागि वर्तमान सरकार, राजनीतिक दलहरू पीडितलाई न्याय दिलाउने विषयमा स्पष्ट रहेको बताए। उनले संक्रमणकालीन न्याय नेपालले आफ्नै घरभित्रबाट समाधान गरेर विश्वका लागि उदाहरणीय बन्न सक्नुपर्नेमा जोड दिए।

उनले भने, ‘सक्रमणकालीन न्यायका लागि सरकारले भर्खरै सत्य निरुपण तथा मेलमिलाप, वेपत्ता छानविन आयोगको पदाधिकारिको नियुक्तिका लागि सिफारिस समिति गठन गरिसकेको छ। आयोगले शान्ति सम्झौताका मर्मअनुसार सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लंघनका विषयमा सत्य अनुसन्धान सुरु गरेर न्याय दिलाउने नै छ। वर्तमान सरकार, राजनीतिक दलहरू पीडितलाई न्याय दिलाउने विषयमा स्पष्ट छौ। सरोकारावाला पक्षहरूसँग पनि छलफल र अन्तर्क्रियाबाट सत्य निरुपण हुने नै हो। यस विषयमा विश्वास दिलाउन चाहन्छु। सत्य निरुपण तथा मेलमिलापका विषयमा सर्वोच्च अदालतले पनि मार्गदर्शक फैसला गरिसकेको छ। संक्रमणकालीन न्याय नेपालले आफ्नै घरभित्रबाट समाधान गरेर विश्वका लागि उदाहरणीय बन्न सक्नुपर्ने आवश्यक छ।’

प्रकाशित मिति: : 2025-03-27 13:43:00

प्रतिकृया दिनुहोस्