हेटौंडामा एक्कासी सडक भासिँदा माछा बोक्ने सिंगल क्याप बोलेरो गाडी खाडलमै बेपत्ता भएको छ।
शुक्रबार अपरान्ह हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ को सीमाना नजिकै गैरीगाउँमा सडक भासिँदा ना४च ४८३३ नम्बरको बलेरो गाडी बेपत्ता भएको मकवानपुर प्रहरीले जनाएको छ।
गाडी रोकिराखेको जमिन एक्कासी भासिँदा केही सेकेन्डमै गाडी खाडलमा बेपत्ता भएको प्रत्यक्षदर्शीले बताएका छन्। गाडीका चालक र सहचालक भने गाडी भासिनुभन्दा अघि नै निस्केकाले जोगिएका प्रहरीले जनाएको छ।
गाडी भासिएपछि सडकमै पानीको दह बनेको छ। गाडी भासिएको एरियामा माछा पोखरी र बोरिङ रहेकोले बोरिङको कारण जमिन भासिएको हुनसक्ने अनुमान गरिएको छ।
प्रहरीले दह जमेको पानी खोलेर गाडी खोज्ने प्रयास गरिरहेको बताएको छ।