प्राविधिक समस्यालाई ‘लोडसेडिङ’सँग जोडिएकोमा हितेन्द्रको आपत्ति

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बिहीबार बेलुका विद्युत आपुर्तिमा देखिएको समस्यालाई लोडसेडिङसँग जोडेर सामाजिक सञ्जालमा आएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै उनले प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकुल अवस्थालाई लोडसेडिङसँग जोडेर ‘अब इन्भर्टर र मैनबत्तीका दिन आए’ भन्दै सामाजिक संजालमा अभिव्यक्त भनाइप्रति कतिपनि सत्यता नरहेको दाबी गरे।

उनले भने, ‘मौसमजन्य गतिविधिका कारण विद्युतीय संरचनामा भएको क्षति तथा देखिएको प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकुल अवस्थालाई लोडसेडिङसँग जोडेर अब इन्भर्टर र मैनबत्तीको दिन आए भन्दै सामाजिक संजालमा अभिव्यक्त भनाइप्रति कत्तिपनि सत्यता छैन र अब नेपालमा पुनः लोडसेडिङ शुरु हुने दिन आउँदै नआउने कुरा आम उपभोक्तालाई जानकारी गराउछौं।’

त्यस्तै उनले ढल्केवर मुजफरपुर ४०० केभी डबल सर्किट लाइनको दुवै सर्किटमा एक साथ समस्या देखिँदा विद्युत अचानक अवरुद्ध हुन पुगेको स्पष्ट पारे। बेलुकाको समयमा लोड बढ्ने भएकाले आपुर्ति व्यवस्था मिलाउने प्रयास असफल भएको पनि उनले जानकारी गराए।  

उनले भने, ‘रक्सौल-परवानीपुर, मैनैया-सम्पतिया, कुशहवा-कटैया १३२ केभी लाइनहरूमार्फत नेपालतर्फको विद्युत गृहहरू सञ्चालन गरी आपुर्ति व्यवस्था मिलाउन प्रयास गरिएको थियो। मागभन्दा कम उत्पादनका कारण सिस्टम स्टेबल नभइ लाइन ट्रिपिङ्ग भइ विद्युत प्रणाली सञ्चालन गर्न सकिएन।’

विद्युत प्रणालीमा देखिएको समस्या दिर्घकालिन रुपमा समाधान गर्नका लागि प्राधिकरण प्रतिवद्ध रहेको र आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिन तत्कालिन, मध्यकालिन र दिर्घकालिन योजना बनाइ भइरहेको उनले बताए।

प्रकाशित मिति: : 2025-05-16 15:22:00

प्रतिकृया दिनुहोस्