भारतमा अप्रिल ११ देखि आम चुनाव, सात चरणमा निर्वाचन हुने

भारतका प्रसुख निर्वाचन आयुक्त सुनिल अरोडा। तस्बिरः पिटिआई

भारतमा सत्रौं लोकसभाको निर्वाचन घोषणा भएको छ। प्रमुख निर्वाचन आयुक्त सुनिल अरोडाले आइतबार साँझ यसको घोषणा गरेका छन्।

लोक सभाको चुनाव ७ चरणमा सम्पन्न गराइनेछ। पहिलो चरणको चुनाव ११ अप्रिल, दोस्रो चरणको १८ अप्रिल, तेस्रो चरणको २३ अप्रिल, चौथो चरणको २९ अप्रिल, पाँचौ चरणको ६ मे, छैटौं चरणको चुनाव १२ मे र सातौं चरणको चुनाव १९ मेमा हुनेछ। २३ मेदेखि मतगणना शुरु हुने प्रमुख आयुक्त अरोडाले बताएका छन्।

उम्मेदवारको पहिलो चरणको नामांकन १८ मार्चमा हुनेछ भने अन्तिम नामांकन २५ मार्चमा हुनेछ। उनले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कडा कारबाही गरिने स्पष्ट पारेका छन्। आयोगले ९९.३६ प्रतिशत मतदातासँग फोटोसहितको मतदाता परिचयपत्र रहेको जनाएको छ। वर्तमान लोकसभाको कार्यकाल ३ जूनमा समाप्त हुँदै छ। लोक सभाका ५४३ सिटमा चुनाव हुनेछ। निर्वाचन आयोगले निर्वाचानका क्रममा राति १० बजेदेखि बिहान ६ बजेसम्म लाउडस्पिकर प्रयोग गर्न नपाइने जनाएको छ।

पहिलो चरणमा २० राज्यका ९१ सिटमा, दोस्रो चरणमा १३ राज्यका ९७ सिटमा, तेस्रो चरणमा १४ राज्यका ११५ सिटमा, चौथो चरणमा ९ राज्यका ७१ सिटमा, पाँचौं चरणमा ७ राज्यका ५१ सिटमा, छैटौं चरणमा ७ राज्यका ५९ सिटमा र सातौं चरणमा ८ राज्यका ५९ सिटमा चुनाव हुनेछ।

निर्वाचन तिथि घोषणा भएलगत्तै सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष अमित शाहले १ अर्ब ३० करोड जनतासँग आफ्नो दललाई आशीर्वाद दिन अनुरोध गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि निर्वाचनमा भाग लिने घोषणा गरिसकेका छन्।

त्यस्तै प्रतिपक्षी दल भारतीय कांग्रेसले पार्टीका अध्यक्ष राहुल गान्धीको नेतृत्वमा निर्वाचनमा जानेछ ।

लोकसभा निर्वाचनका लागि झण्डै ९० करोड नागरिक मतदानका लागि योग्य रहेका छन्। भारतमा जम्मा एक अर्ब २५ करोड जनसङ्ख्या रहेको बताइएको छ ।

प्रकाशित मिति: : 2019-03-10 20:54:01

प्रतिकृया दिनुहोस्