विप्लव समूह प्रहरी पक्राउबाट बच्न ठाउँ परिवर्तन गर्दै

तस्बिरः विप्लव माओवादीको फेसबुक पेज

राजनीतिक दलको नाममा चन्दा आतंक र हिंसात्मक गतिविधि गर्दै आएको कम्युनिस्ट पार्टी (विप्लव) समूहलाई पक्राउ गर्न प्रहरीले देशैभर आफ्नो जासुसी संयन्त्र प्रयोग गरेको छ।

नेपाल प्रहरी मात्र होइन नेपाली सेनाको इन्टेलीजेन्स्, सशस्त्र प्रहरी बलको इन्टेलीजेन्स र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले प्रहरीलाई विप्लव गतिविधि नियन्त्रणमा सहयोग गर्दै आएका छन्।

प्रहरी निकै आक्रात्मक भएर लागेपछि विप्लव समूहले पनि प्रहरीको आँखा छल्न विभिन्न खालका उपाय लगाउँदै आएको छ।

स्रोतका अनुसार प्रहरीको आँखा छल्न विप्लव समूहले तराईका नेता कार्यकर्तालाई पहाड र पहाडका नेता कार्यकर्तालाई तराईमा सरूवा गरेको छ ।

‘देशैभर प्रहरीले नेता कार्यकर्ता पक्राउ गर्न थालेपछि प्रहरीले नचिनुन् भन्नका लागि सरूवा गरिएको छ, त्यो सूचना प्रहरीमा पुगिसकेको छ,’ एक उच्च प्रहरी अधिकारीले बिएलसँग भने।

ती अधिकारीका अनुसार पहाडमा खटिएकालाई तराईमा झारिएको छ भने तराईकालाई पहाडमा सरूवा गरेर पठाइएको छ ।

त्यस्तै गरी पार्टीका केन्द्रीय स्तरका नेता पनि टेलिफोन नलाग्ने र प्रहरीको कम पहुँच भएको जिल्लामा पुगेको सूचना प्रहरीमा छ।

नाम उल्लेख नगर्ने सर्तका नेपालगञ्जका एक प्रहरी अधिकारीले भने, ‘नेपालगञ्जमा सधै देखिने विप्लव समूहका नेतालाई जुम्ला कालिकोट, रूकुम, रोल्पा खटाइएको छ। त्यहाँकालाई यता ल्याइएको छ, उनीहरुलाई चिन्नै मुस्कील छ।’

प्रहरीले गएको वैशाख यता करिब ४ सय बढी विप्लव समूहका नेता कार्यकर्तालाई पक्राउ गरिसकेको छ।

कहिले कति पक्राउ ?

वैशाख – ६२ जना

जेष्ठ – ६१ जना

असार – ५२ जना

साउन ४८ जना (पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा लगायत केन्द्रीयस्तरका केही नेतासहित)

भदौ – ४२ जना

असोज – ३३ जना

कात्तिक – २ जना

मंसिर – ४ जना

पुस – १२ जना

माघ – २३ जना

फागुन – ५० जना

माथिको संख्यामा विप्लवका नेता कार्यकर्ता प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तम सुवेदीले जानकारी दिए।

गत फागुन १० गते ललितपुरस्थित एनसेल मुख्यालयमा एक जनाको ज्यान जानेगरी भएको बम विस्फोटपछि प्रहरीले विप्लव समूहका सदस्यलाई खोजिखोजी पक्राउ गरिरहेको छ।

‘एनसेललगाएत देशभरीका घटनामा संलग्नता देखिएका विप्लव समूहका नेता कार्यकर्तालाई पक्राउ गर्ने क्रममा छौ’, प्रवक्ता सुवेदीले भने, ‘राजनीतिक नारा बोकेर बम बिस्फोट गराउँदै हिड्न अपराध हो, त्यसो हुन हामी दिँदैनौं, पक्राउ परेकालाई कानुन बमोजिम कारवाही हुन्छ,’ उनले भने ।

सहर छाडेर गाँउ पसे विप्लव

प्रहरीले विप्लप बस्ने बासस्थानहरू पत्ता लगाएर सर्च अप्रेशन थालेपछि विप्लव र पार्टीका उच्च नेताहरू पहाडी इलाकामा सरेको प्रहरीको दाबी छ।

स्रोतका अनुसार विप्लव अहिले रूकुम रोल्पाका विकट गाँउ पुगेका छन् भने पार्टी प्रवक्तालगायतका नेताहरू अर्घाखाँचीका विकट गाँउमा पुगेका छन् ।

प्रहरीले गएको साता विप्लवको जिल्ला कपिलवस्तुमा छापा मारी अत्याधुनिक हतियारसमेत बरामद गरेको थियो।

त्यो बेला बिप्लव दाङमा रहेको र दाङबाटै उनी रोल्पातिर लागेको प्रहरी उच्च स्रोतले जानकारी दियो।

‘विप्लवको वाच गर्ने काम जारी छ, सरकारको संकेत आउन बित्तिकै एक घण्टामा पक्राउ पर्छन्, अहिले विप्लव भन्दा मुनिका नेताहरु पक्राउ सूचीमा छन्,’ प्रहरी उच्च स्रोतले भन्यो।

यो पनि हेर्नुहोस्

प्रकाशित मिति: : 2019-03-12 08:56:06

प्रतिकृया दिनुहोस्