हङकङमा प्रदर्शनकारीमाथि अश्रृग्यास र रबरको गोली प्रहार

तस्वीरः एजेन्सी

हङकङमा सुपुदर्गी कानुनको विरोध झन तीब्र बनेको छ। बुधबार हङकङका स्थानीय वासिन्दा चीनसँगको सुपुदर्गी कानुनको विरोधमा सड्कमा उत्रिएपछि प्रहरीले प्रदर्शनकारीलाई रोक्न लाठीचार्ज र अश्रृग्यास हान्नु परेको थियो।

प्रदर्शनकारीले प्रहरीलाई ढुंगाले हिर्काएपछि प्रत्युत्तरमा प्रहरीले रबरको गोली हिर्काएको हङकङबाट प्रकाशित समाचारमा उल्लेख गरिएको छ।

चीन विरोधी व्यक्तिलाई चीन सरकारसमक्ष सुपुदर्गी गर्ने कानुन पास गर्न स्थानीय सरकारले एउटा विधयक संसदमा ल्याउने निर्णय गरेपछि यसको सर्वत्र विरोध भएको हो।

मानव अधिकारवादी संघ–संस्थाले चीनलाई सुपुदर्गी गर्ने कानुन पास भएको खण्डमा हङकङको स्वायत्तता र नागरिकहरूको मानवअधिकार जोखिममा पर्ने भन्दै विरोध गर्दै आइरहेका छन्।

यसअघि पनि हङकङमा ठूलो स्तरमा चिनियाँ सरकारको विरोध हुँदै आइरहेको छ। तर, यसपालि पहिलेको तुलनामा लाखौंको संख्यामा हङकङवासी सडकमा ओर्लिएका हुन्।

सन् २०१४ मा चीनको हस्तक्षेपविरूद्ध हङकङमा ‘अम्ब्रेला आन्दोलन’ भएको थियो। लोकतन्त्रको नाममा भएको त्यतिबेलाको आन्दोलन तुहाउन चीन सफल भएको थियो।
यसपालि भएको आन्दोलनलाई पनि स्वतन्त्रतासँग जोडेर हेरिएको छ।

प्रकाशित मिति: : 2019-06-13 18:12:23

प्रतिकृया दिनुहोस्