पूर्वसांसद एवं राज्यमन्त्री सञ्जय साहलाई पुनः जन्मकैद

तस्बिरः एजेन्सी

जनकपुर । जनकपुरका सञ्चार उद्यमी अरुण सिङ्हानीया हत्याकाण्डका आरोपी पूर्वसांसद एवं राज्यमन्त्री सञ्जय साहलाई जिल्ला अदालत धनुषाले सोमबार जन्मकैदको फैसला सुनाएको छ ।

यसअघि अदालतले पाँच जनाको ज्यान जाने गरी भएको जनकपुर बम काण्डमा साहलाई जन्मकैदको सजाय सुनाएको थियो।

सिङ्हानीया हत्याको करीब १० वर्षपछि गत १४ जेठदेखि जिल्ला अदालत धनुषामा सुनवाई शुरु भएको थियो। मुद्दाको सुनवाई गर्दै जिल्ला अदालत धनुषाका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले पूर्वसांसद साहसहित दुई जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

अदालतले हत्यामा संलग्न रहेको भन्दै सुटर मनक लामालाई पनि जन्मकैदको सजाय सुनाएको छ । लामाले सञ्जयले भनेपछि आफूले सिङ्हानियाको हत्या गरेको अदालतसमक्ष बयान दिएका थिए । साह अहिले ललितपुरको नख्खु कारागारमा छन् भने लामा पूर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागारमा छन् ।

यसैगरी साहको नजिकका भनिएका रामविनोद यादवलाई तीन वर्ष, एकलाल सहनीलाई १० वर्ष, चन्द्रदीप यादवलाई १० वर्ष, पवन लामालाई १० वर्ष र मुकेश चौधरीलाई २० रुपैयाँ जरिवाना गरिएको हो । घटनामा संलग्न भनिए पनि रामकरण, ओमप्रकाश यादव र अंसी राईनले सफाइ पाएका छन् भने दीपेन्द्रलाई मुलतबीमा राखिएको छ ।

प्रकाशित मिति: : 2019-07-02 21:25:42

प्रतिकृया दिनुहोस्