श्रीलंकामा सरकारले नै गर्यो प्रहरी प्रमुख र रक्षा सचिवलाई पक्राउ

Agency

पदीय दायित्व पुरा नगरेको आरोपमा श्रीलंकाले आफ्नो प्रहरी प्रमुख र रक्षा सचिवलाई पक्राउ गरेको छ।

गत इस्टर महिनामा श्रीलंकाको राजधानी कोलम्बोमा आतंकवादी हमला हुँदा २ सय ५८ जनाले ज्यान गुमाएका थिए। मानवता विरोधी आतंकवादी हमलाको पूर्व जानकारी पाउँदा पनि उनीहरूले पदीय दायित्व पुरा नगरेको आरोप सरकारले लगाएको छ।

प्रहरी प्रमुख दापुला डि लिभेरा र रक्षा सचिव हेमासिरी फर्नान्डोलाई २१ अप्रिलमा भएको बम बिस्फोटको पूर्व जानकारी भएको तर उनीहरूले आफ्नो जिम्मेवारी पुरा नगरेको बताइएको छ।

यी दुईविरूद्ध मानवता विरोधी काममा गैरजिम्मेवार रुपमा प्रस्तुत भएको भन्दै सरकारले मुद्धाको तयारी गरेको छ। घटना लगत्तै प्रहरी प्रमुख दापुलालाई निलम्बन गरिएको थियो। उनलाई पक्राउ गर्न निमित्त प्रहरी प्रमुख चन्दना विक्रमारत्नेलाई आदेश दिइएको थियो।

श्रीलंकाको इतिहासमा पदमा रहेका प्रहरी प्रमुख र रक्षा सचिवलाई पक्राउ गर्ने आदेश दिएको पहिलो अवसर हो।

प्रकाशित मिति: : 2019-07-03 23:48:47

प्रतिकृया दिनुहोस्