दीपक मनाङे नेकपा प्रवेश गर्दै

राजीव गुरूङ अर्थात ‘दीपक मनाङे’ आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्दै छन्। उनलाई गण्डक प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विहिबार पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ।

गत वर्ष मनाङबाट प्रदेश सभाको निर्वाचन लडेका मनाङे निर्वाचित भएका थिए। सुरुमा उनी तत्कालिन नेकपा एमालेको टिकटबाट निर्वाचन लड्न लागेका थिए। तर, पार्टीभित्र विवाद उब्जिएपछि उनी स्वतन्त्र उम्मेदवारको हैसियतले निर्वाचन लडेका थिए।

तत्कालिन एमाले र माओवादी केन्द्रबीच सहमति भएर नेकपा पार्टी गठन भएपछि उनी कम्युनिष्ट राजनीतिमा हाम्फाल्न लागेका हुन्।

उनले ब्रेक एन लिंक्ससँग छोटो कुराकानी गर्ने क्रममा आफू अब राजनीतिमा सक्रिय हुने बताएका छन्।

‘म पहिलेदेखि मनाङको विकाशमा सक्रिय थिए। अब झन् सक्रिय हुनेछु,’ उनले पार्टी प्रवेश गर्नुअघि भने।

विवादास्पद छवीका मनाङे गत बर्ष ज्यानमुद्धाको अभियोगमा जेल परेका थिए। अदालतको निर्णय नआउँदासम्म उनी २७ हजार ३ सय ७५ रुपैयाँ धरौटीमा रिहा भएका थिए।

प्रकाशित मिति: : 2019-07-04 08:20:40

प्रतिकृया दिनुहोस्