
बिएल संवाददाता
रामेछाप
रामेछापका विभिन्न खोलामा आएको बाढीले सयौँ रोपनी धान खेतमा क्षति पुर्याएको छ।
मन्थली नगरपालिका– १ को रणजोर खोला, मन्थली– २ को कठजोर खोला लगायतमा आएको बाढीले किसानले धान लगाएको खेत बगाएर क्षति पुर्याएको छ। कठजोर खोलाले किनारका सयौँ रोपनी धान लगाएको खेत कटान र पुरेर क्षति पुर्याएको वडाध्यक्ष सुरेन्द्र कार्कीले जानकारी दिए।
खोलाले एकै व्यक्तिको १० रोपनीसम्म खेतमा क्षति पुर्याएको उनले जानकारी दिए। खोलाको बाढीले एक जनाको घर र एकजनाको मतानसहितको खेत बगाएको उनले बताए। खोलामा बाढी आउने क्रम जारी रहेकोले अझै थप क्षति हुने जोखिम रहेको उनले जानकारी दिए।
यसैगरी जिल्ला सदरमुकाम मन्थली भएर बग्ने रणजोर खोलाले पनि किसानले धान लगाएको खेत कटान गर्नुका साथै पुरेर क्षति पुर्याएको छ। खोलामा आएको बाढीले कुलाहरू समेत बगाएको कारण बाँकी खेतमा रोपाइँ गर्न र पानी लगाउन समस्या परेको स्थानीय किसान तीर्थ सुवेदीले जानकारी दिए।
गएराति पनि रातभरि पानी परेकाले जिल्लाका अन्य स्थानमा पनि क्षति भएको अनुमान गरिएको छ। क्षतिको विवरण भने आइसकेको छैन।
१ .
२ .
३ .
४ .
५ .