
बिएल संवाददाता
काठमाडौं
पन्ध्रौं महाधिवेशनमा सभापतिमा डा.शेखर कोइराला सर्वसम्मत,आगामी निर्वाचनमा गगन थापा प्रधानमन्त्रीको प्रस्तावित उम्मेद्वार र यो संसदको अवधिभरी सत्ता समिकरणमा देउवाको नेतृत्वमा सरकारमा जाने सहमति सहति नेपाली काँग्रेस फेरी एकजुट भएर अघि बढ्न सक्नुपर्छ।
नेपाली काँग्रेसका नेताहरुबीच वि.सं.०४६ सालको परिवर्तनपछि पनि पार्टी सञ्चालन र सरकारमा प्रतिनिधित्व गर्ने ब्यक्तिहरुको चयनका विषयमा तमाम असहमति र तिक्तता थिए। मुख्य गरी गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईबीच। अनि सर्वमान्य नेता गणेशमान सिंह पनि एउटा पीलर झैं सर्वमान्य नेता भएर पार्टीमा खडा थिए। तर पनि नेता त्रयले संसदीय अभ्यास, सरकार र सडकलाई आफ्नो पकडमा राखेका थिए।
वि.सं.२०४८ सालमा भएको कलबलगुढी महाधिवेशन चलिरहँदा काँग्रेस भित्र नेतृत्वका लागि सकसपुर्ण स्थिति थियो। तर नेता भट्टराई, सिंह र कोइरालाबीच सर्वसम्मत नेतृत्व चयन गर्ने सहमति भएको थियो। नतिजा सरकार चलाउने भाग कोइरालाको काँधमा र पार्टी सञ्चालन गर्ने जिममेवारी भट्टराईले पाएका थिए। त्यो पार्टी भित्रको शक्ति सन्तुलनका हिसावले नेतृत्व तहका नेताहरुले देखाएको सुझबुझपुर्ण निर्णय थियो।
त्यस अघि पनि वि.सं.२०२६ साल देखि ०३३ साल सम्म काँग्रेस त्रिकोणत्मक नीति लिएर व्यवस्थित भएर चलेको थियो।जतिबेला वी पी कोइरालाको नेतृत्वमा प्रवासबाट संघर्ष चर्काउने,भट्टराईको अगुवाइमा असहयोग आन्दोलन र शुवर्ण शमशेर राणाको नेतृत्वमा राजा र अन्य शक्तिसँग संवाद गर्ने नीतिबाट अघि बढेको थियो।
नेपाली काँग्रेस २०४८ सालको महाधिवेशनबाट शक्ति सान्तुलन कायम गर्न गरिएक प्रयास कम्जोर भईदिए। त्यसो हुन नसक्दा आन्तरिक गुटबन्दीले कोइराला नेतृत्वको सरकार ढलेको थियो। २०५ संसदिय सिटमा १ सय १० सांसद सहित सरकार बनाएको काँग्रेसमा त्यहाँबाट सुरु भएको गुटबन्दीको चरमता निकै सकसपुर्ण देखिएको थियो। परिणाम वि.सं.२०५१ सालको निर्वाचनमा एमालेले काँग्रेसलाई संसदीय निर्वाचनमा उछिनेको थियो।
सत्ताबाट बाहिरिएका कोइराला केन्द्रीय सदस्य मात्रै थिए। कोइराला संगठन विस्तारमा देश दौडाहमा निरन्तर लागे। वि.सं. ०५३ मा भएको महाधिवेशनबाट कोइराला संगठनमा मजवुत पकड बनाएरै सभापतिमा निर्वाचित भएका थिए। उसो त पञ्चायत कालमा कोइराला संगठनमा भिजिसकेका महामन्त्री थिए। तर वि.सं.२०५६ सालको आम चुनाव सम्म पुग्दा सभापति कोइरालाले काँग्रेसको खस्कँदो अवस्था र एमालेको चढाईलाई मध्यनजर गर्दै कृष्णप्रसाद भट्टराईको छविलाई चुनावमा प्रयोग गर्ने निर्णय लिएका थिए। त्यही सुझबुझपुर्ण निर्णयले भट्टराईलाई भावि प्रधानमन्त्रीको उम्मेद्वार घोषणा गरेर चुनाव जिताएका थिए। भट्टराईको छवि र लोकप्रियताले काँग्रेसमा प्राण भरेको चुनाव थियो ०५६ सालको आम निर्वाचन। तर भट्टराई पुरै कार्यकाल प्रधानमन्त्री रहन पाएनन्। कोइरालाले प्रधानमन्त्री भए तर कोइरालालाई पार्टी भित्रैबाट सहयोग भएन सरकार ढल्यो।
त्यहींबाट शुरु भयो काँग्रेसको गुटबन्दीको नयाँ अध्याय। काँग्रेसको दशौं महाधिवेशन सम्म आईपुग्दा शेरबहादुर देउवा सभापतिका प्रतिष्पर्धी भएर उदाईसकेका थिए। कोइराला सँग सभापतिमा पराजित भएका देउवा संस्थापनबाट रुष्ट भएकाहरुका लागी एउटा मजवुत पीलर भईदिए। त्यही अवधि थियो काँग्रेस विभाज सम्म पुग्यो। वि.सं. २०५९ साल ताका काँग्रेसका लागि नभएर प्रजातन्त्र नै खतरामा पर्दै गयो। दरवार हत्या काण्ड सँगै बदलिएको दरवारले राजनीतिक दलहरुमाथि अंकुश लगाउन थाल्यो। अर्का तर्फ माओवादीको विद्रोहले काँग्रेसको संगठन तहसनहस भईरहेको अवस्था थियो।
फेरि वि.सं.०५६ सालको झैं सुझबुझपुर्ण निर्णय लिने बेला आएको छ काँग्रेस भित्र। काँग्रेस आन्तरिक ध्रुविकरणको चरम शिकार हुँदै गईरहेको अवस्था छ। सभापति रहेका देउवाको वर्हिगमनको सेरोफेरो छ। यसबीच एमाले सँग सत्ता साझेदारीमा काँग्रेस। दुई दलको सहमति कार्यान्वयन हुने हो भने सभापति देउवा फेरि प्रधानमन्त्री हुने सम्भावना छ। तर यसबीच २०८२ मंसिरमा काँग्रेसको नियमित महाधिवेशन हुनुपर्ने अवस्था छ। त्यसो भएमा देउवा सभापति पनि रहने छैनन र प्रधानमन्त्री हुने सम्भावना न्युन रहनेछ। यो अवस्थामा काँग्रेसमा सभापतिका आकांक्षीहरू बढ्दै छन्। मंसिरमा महाधिवेशन हुने हो भने निर्वाचित सभापति संसदीय दल र प्रधानमन्त्री हुने अवसर पाउने छन्। तर यो त्यति सहज भने देखिंदैन। कारण एक मात्रै हो कि निर्धारित अवधिमा महाधिवेशन हुन्छ वा हुँदैन निश्चित छैन्।
काँग्रेसको संस्थापन पक्ष आफ्नो उत्तराधिकारीको लिगेसीका लागि संघर्षरत छन्। काँग्रेस भित्रको अर्को पक्ष अघिल्लो महाधिवेशनमा सभापतिमा पराजित पक्ष डा.शेखर कोइरला र महामन्त्री गगनकुमार थापाबीच संसदीय दलको चुनावबाट बढेको मनमुटाव साम्य भएको देखिंदैन।
सभापतिबाट बाहिरिंदै गरेका देउवालाई साथ दिइरहेकाहरू भित्र नेतृत्व दावीको संकट देखिन्छ। उता इतर पक्ष भनिनेहरुबीच पनि विश्वासको संकट झल्किन्छ। यो अवस्थामा काँग्रेसले आगामी आम निर्वाचनमा गगन थापालाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर डा.शेखर कोइरालाको नेतृत्वमा सर्वसम्मत सभाति चयन सहित कार्य समिति विस्तार गर्न सक्ने हो भने ०४८ सालको महाधिवेशनमा भट्टराई नेतृत्वमा झैं पार्टी गोलबद्ध भए अघि बढ्ने सम्भावना देखिन्छ।
सम्भावना त कति सम्म देखिन्छ भने निर्धारित अवधिमा महाधिवेशन गराउने शर्तमा सत्ता समिकरणबाट काँग्रेसले सरकारको नेतृत्व गर्ने अवस्था आएमा आगामी चुनावी कार्यकालको प्रधानमन्त्रीका लागि देउवालाई नै अवसर दिएर अघि बढ्न सक्नुपर्छ। वि.सं.०८४ को आम निर्वाचनमा गगन थापालाई प्रधानमन्त्रीको उम्मेद्वार प्रोजेक्ट गर्न सक्ने सुविधा छ काँग्रेसलाई। जसरी उतिबेला गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला सहमत भएर काँग्रेसलाई सम्हालेको विषय काँग्रेसले बिर्सनुहुँदैन।
कम्युनिष्ट शक्तिको प्रभाव बढी रहेको त्यो अवस्थामा गिरिजाप्रसाद कोइरालाले काँग्रेसलाई जोगाएर अघि बढाएका थिए। यतिबेला पनि गैर काँग्रेस पक्ष हावी भइरहेको अवस्थाको जायजा लिन काँग्रेसले नै पहलकदमी लिन जरुरी देखिन्छ। यदी काँग्रेस एकजुट भएन भने लोकतन्त्र, गणतन्त्र र संसदीय अभ्यास नै संकट उन्मुख देखिन्छ। अन्तमा काँग्रेसको चरम गुटबन्दी यसैगरी अघि बढ्यो भने आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने घोषण गरेको काँग्रेस सुरक्षित रहेर प्रतिष्पर्धामा उत्रिन पनि आफ्नै दल भित्र सहमति कायम गरेर अघि बढ्न सक्नुपर्ने अवस्था देखिन्छ।
१ .
२ .
३ .
४ .
५ .