
बिएल संवाददाता
झापा
नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरबाट हुने इन्धन ढुवानीको बिलिङमा अनियमितता हुने गरेको रहस्य बाहिर आएको छ । कार्यालय प्रमुख र अनलाइन वितरणका कर्मचारीको मिलेमतोमा इन्धन वितरण तथा इन्धन ढुवानीको बिलिङमा अनावश्यक चलखेल हुने गरेको रहस्य सार्वजनिक भएको हो ।
गत मसिंरदेखि सो कार्यालयको प्रमुखका रुपमा पुष्कर कार्की रहेका छन् । त्यहाँ कार्यरत कार्की, निगमको अनलाइन वितरण हेर्दै आएका अर्का कर्मचारी दिनेश यादव र सनम कार्कीको मिलोमतोमा इन्धन वितरण तथा इन्धन ढुवानीको बिलिङ गर्दादेखि नै चलखेल हुने गरेको दाबी आर्थिक दैनिक डटकमले सार्वजनिक गरेको हो ।
आर्थिक दैनिक डटकमले लेखेको छ– स्रोतका अनुसार निगमको प्रादेशिक कार्यालयले वितरण गरेको पेट्रोलियम पदार्थ र ढुवानी हुने इन्धन परिमाणमा आफू नजिकका केही व्यवसायी एवं इन्धन ढुवानी व्यवसायीका बीचमा मोटै कमिसनका भरमा एनओसीले बिलिङ गर्ने गरेको छ ।
प्रादेशिक कार्यालयको अनलाइन वितरण हेर्दै आएका कार्की र यादव तथा एनओसीमा इन्धन ढुवानीको लगत राखी आयात भएको इन्धनको बिलिङ गर्ने जिम्मेवारीमा रहेका सिताराम चौधरीको योजना अनुसार नै प्रादेशिक प्रमुख कार्की त्यस्तो काममा संलग्न भएको खुलेको पनि समाचारमा दाबी गरिएको छ ।
सनम कार्कीले लामो समयदेखि प्रादेशिक कार्यालय विराटनगर, एयरपोर्ट इन्धन डिपो विराटनगर र धुलावारी एनओसी डिपो झापाको वरिपरी मात्रै काम गर्ने गरेका छन् ।
कार्की, यादव, चौधरी र इन्धन क्वालिटी कन्ट्रोलको हेल्फरमा कार्यरत खुसीलाल ताजपुरिया र प्रादेशिक प्रमुख पुष्कर कार्कीबीचको सेटिङमा इन्धन तापक्रमको बहाना बनाएर व्यापक अनियमितता हुने गरेको स्रोतको दाबी छ ।
एक डिग्री तापक्रम घट्दा करिब १८ लिटर बराबरको इन्धनको हिसाब मिलाउनुपर्ने हुन्छ । त्यसका लागि ढुवानी भएर ट्याङ्करमा आएको इन्धनको तापक्रम लिने काम हेल्पर खुसीलालले गरेसँगै बिलिङ गर्ने सीताराम चौधरी हुँदै वितरण हेर्ने सनम कार्की र दिनेश यादवको स्वीकृतिपछि कार्यालय प्रमुख पुष्कर कार्कीले अन्तिममा सदर गर्ने गरेको स्रोतले बताएको छ ।
त्यसैगरी डिजेलको डिप लिने काममा राखिएका विजय चौधरीले समेत सेटिङ मिलाउने गरेका छन् । आयल निगमको मेकानिकल (मिस्त्री) भएर पनि उनले डिजेलको डिपमा बसेर डिलरदेखि इन्धन ढुवानीसम्म सेटिङ मिलाउने गरेका दाबी गरिएको छ ।
१ .
२ .
३ .
४ .
५ .