
बिएल संवाददाता
काठमाडौं
नेकपा एमालेनिकट नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा गजेन्द्रप्रसाद थपलिया निर्वाचित भएका छन्।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलको आर्शीवाद पाएका अर्का उम्मेद्वार दीपेन्द्र भण्डारीलाई ५० मतले पराजित गर्दै थपलिया विजयी भएका हुन्।
थपलियाले १५४ मत पाउँदा भण्डारीले १०४ मत मात्र पाए। एघारौं राष्ट्रिय अधिवेशनमा अध्यक्ष, उपाध्यक्ष र सचिवबाहेक सबै पदमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो। निर्वाचनपछि थपलियाको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो।
उपाध्यक्षमा गोविन्द शाही १५३ मतसहित विजयी भए भने उनका प्रतिद्वन्द्वी विपिनकुमार चित्रकारले १०२ मत पाए। सचिवमा अर्जुनकुमार सिंहले ९६ मत ल्याउँदा ईश्वरी कडरियाले १६१ मत ल्याएर जित निकाले।
महाधिवेशनका क्रममा ओलीले चुनाव चाहेका थिएनन्। भण्डारीलाई अध्यक्षसहित सबै पदाधिकारी सर्वसम्मत चयन गर्ने ओली समूहको जोडबल थियो। एमाले शीर्ष नेतृत्व खासगरी केपी, ईश्वर र शंकरले परिषद्को अध्यक्ष बनाउन चाहेका भण्डारीलाई थपलियाले चुनौती दिए।
थपलियालाई रोक्नका लागि ओली समूहले अनेक प्रयास गरेको थियो। ईश्वर पोखरेल आफैं चुनावी मैदानमा खटिएका थिए। तरपनि भण्डारीलाई चुनाव जिताउन सकेनन्।
०००
परिषदको महिला उपाध्यक्ष राधा अधिकारी, महासचिव दिपेन्द्र श्रेष्ठ, उपमहासचिव सुशील विक, विदेशी मामिला सचिव लाक्पा शेर्पा, प्रचार सचिव टीका ढकाल तथा आर्थिक सचिव कृष्णकुमार लम्साल सर्वसम्मत चयन भएका छन्।
१ .
२ .
३ .
४ .
५ .