
बिएल संवाददाता
काठमाडौं
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगर प्रहरी प्रमुख राजु पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका छन्।
गत चैत २१ गते प्रशासकीय प्रमुख गुरागाईंलाई महानगर कार्यालय प्रवेश गर्ने क्रममा पाण्डे नेतृत्वको नगर प्रहरीले उनलाई अवरोध गरेको थियो। सोही घटनाको छानबिनका लागि पाण्डेलाई बढीमा ६ महिनाका लागि निलम्बन गरे गुरागाईंले जाँचबुझ समिति बनाएका हुन्।
समितिले प्रतिवेदन नबुझाएसम्मका लागि आजैका मितिबाट पाण्डेलाई निलम्बन गरिएको गुरागाईंले जानकारी गराएका छन्।
समितिले प्रतिवेदन नदिएसम्म बढीमा ६ महिना निलम्बनमा राखिएको प्रशासकीय अधिकृत गुरागाईंले पाण्डेलाई दिएको पत्रमा उल्लेख छ । छानबिन समितिका सदस्यहरूको नाम गोप्य राखिएको छ ।
पाण्डेलाई गुरागाईंले पठाएको निलम्बन पत्रमा भनिएको छ-
२०८१ चैत २१ गते महानगरपालिका कार्यालयमा घटेको अवाञ्छित एवं गैरकानूनी हुलहुज्जत र हातपात युक्त घटना तपाईंको प्रत्यक्ष संलग्नता र अगुवाइमा घटेको पाइएको र सो अभियोगमा तपाईंलाई ७ बुँदे स्पष्टीकरण सोधिएकोमा स्पष्टीकरण चित्तबुझ्दो र विश्वासयोग्य नभएको हुँदा सो घटना समबन्धमा विस्तृत जाँचबुझ गराई सत्यतथ्य पत्ता लगाउन महानगर प्रहरी ऐनको दफा २१ को उपदफा ४ बमोजिम एक जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको छु।
अतः चाँचबुझको काममा प्रभाव नपरोस् भनेर जाँचबुझका क्रममा आवश्यक पर्ने सूचना, कागजपत्र बुझ्ने बुझाउने सहजताको लागि ऐन दफा ३९ को उपदफा ५ ले दिएको अधिकार प्रयोग गरी तपाईंलाई आजका मितिले लागु हुनेगरी आवश्यक जाँचबुझ गरी प्रतिवेदन पेश नगरेसम्म बढीमा ६ महिनासम्मको लागि निलम्बन गरेको छु।