६ महिनामा २० देशका ३६ पत्रकार मारिए

Agency

सन् २०१९ को ६ महिनाभित्र २० देशका ३६ जना पत्रकारले ज्यान गुमाएका छन्। जेनेभास्थित प्रेस एमब्लेम क्याम्पेन (पिईसी) ले यस वर्षको जनवरीदेखि जुनसम्मको रिपोर्ट हालै सार्वजनिक गरेको छ। 

पिईसीका अनुसार ६ महिनाभित्र ज्यान गुमाउने पत्रकारमा सबैभन्दा बढी ल्याटिन अमेरिकामा छन्। ल्याटिन अमेरिकामा मात्र १५ पत्रकारले ज्यान गुमाएका छन्।
रिपोर्टमा मेक्सिको र अफगानिस्तानमा १४ पत्रकारको हत्या भएको जनाइएको छ।

पिईसीका महासचिव ब्लेस लेम्पेनले भने, ‘यो समस्यासँग लड्न अन्तर्राष्ट्रिय समुदायले छुट्टै स्वतन्त्र संस्थाको स्थापना गर्नु जरुरी भइसकेको छ। हाल विभिन्न देशमा रहेका संस्थाहरू पत्रकारको सुरक्षाका लागि प्रभावकारी देखिएका छैनन्।’

सिरिया र इराकमा पछिल्लो समय कम लडाई भएकाले यसको प्रभाव पनि देखिएको छ। यी दुवै देशको पत्रकारहरूको स्थितिमा यस पालि निकै सुधार पाइएको पिईसीले जानकारी दिएको छ।

पिईसी विगत लामो समयदेखि पत्रकारहरूको सुरक्षामा कार्यरत रहँदै आएको छ। उसले सरकार, विभिन्न संघ–संस्था र नागरिक समाजसँग पत्रकारहरूको सुरक्षाको लागि लबिङ गर्दै आइरहेको छ।
जेनेभामा स्थापना भएको पिईसी संयुक्त राष्ट्रसंघको एक गैरसरकारी विशेष परामर्शदाता संस्था हो। यसको काम असुरक्षित क्षेत्रमा काम गरिरहेका पत्रकारहरूको सुरक्षा र उनीहरूलाई कानुनी संरक्षण दिलाउन लबिङ गर्नु हो।

प्रकाशित मिति: : 2019-07-07 13:00:16

प्रतिकृया दिनुहोस्