अन्तर्राष्ट्रिय संस्थाको नेतृत्व छोडेर साझा पार्टीको नेतृत्वमा डा. सिद्धि अर्याल

तस्बिरः बिएल

सय वटाभन्दा बढी देशमा काम गर्ने विश्व परामर्श दातृ संस्था क्युइडि ग्रुपको एसिया क्षेत्रका निर्देशक डा.सिद्धि अर्यालले सो पदबाट राजीनामा दिएर केन्द्रीय सदस्यका रूपमा साझा पार्टीमा आवद्ध भएका छन्।

संयुक्त राज्य अमेरिकाबाट अन्तर्राष्ट्रिय स्वास्थ्यमा स्नातकोत्तर र विश्व स्वास्थ पद्धति विकासमा विद्यावारिधि गरेका ४४ वर्षिय सिद्धी अर्यालले गत १८ वर्ष यता विभिन्न अन्तर्राष्ट्रिय संगठनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थिए।

क्युइडि ग्रुपका निर्देशक हुनअघि डा अर्याल मलेरिया कन्सोर्टियमका एसिया निर्देशक, युएनडिपि/युएनएड्सका एसिया क्षेत्रका सल्लाहाकार पनि रहिसकेका छन्। उनी पछिल्ला केही वर्षदेखि म्यानमारलाई आधार बनाएर कार्यरत रहेको साझा पार्टीले जनाएको छ।

डा अर्यालले संसारका दर्जनौँ देशहरूका राष्ट्रिय, प्रान्तीय तथा स्थानीय निकायहरूका स्वास्थ्य पद्धति सुधारका लागि नीति निर्माण गर्ने, रणनीतिक योजना बनाउने र कार्यानवयनका संरचनाहरू तयार पार्ने कार्यको नेतृत्व गरेका छन्।

संयुक्त राष्ट्र संघ लगायतका अन्तराष्ट्रिय दाताहरू, नागरिक समाज र विकास संस्थाहरूसँग सम्मन्वय गरेर काम गर्दै आएका अर्याल भन्छन्, ‘मैले एउटा इमानदार मध्यम वर्गीय परिवारबाट उठेर हालसम्म जे पाएँ, त्यो धेरै पाएँ। मलाई लाग्यो, नेपालको जुन अवस्था छ, अब म चुप लागेर बस्नु हुँदैन। त्यसका लागि नेपालीहरूले बढ्दोरूपमा आशा र विश्वास गरिरेहका साझा पार्टी निर्माणमा सहभागि हुनुबाहेक अर्को विकल्प थिएन। म अब मेरो वुद्धि, विवेक र इमानदारीले भ्याएसम्म साझा पार्टीको निर्माण र त्यसमार्फत नेपालको रूपान्तरणमा सरिक हुनेछु।’

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले एकै पुस्तामा नेपालको रूपान्तरण गर्न हामीलाई सबै नेपालीहरूको साथ र सहयोगको खाँचो रहेको औल्याए। ‘सिद्धी अर्यालजस्ता क्षमतावान् र स्वदेश तथा विदेशको व्यापक अनुभव संगालेका नेपालीले प्रतिष्ठित अन्तराष्ट्रिय जागिर छोडेर पार्टी निर्माणमा सहभागि हुनुले हामीलाई हाम्रो लक्ष्यमा पुग्न बलियो संकेत प्रदान गरेको छ,’ उनले भने।

प्रकाशित मिति: : 2019-07-07 18:03:28

प्रतिकृया दिनुहोस्