३ प्रश्न 

‘यो सरकार चाँडै ढल्छ, कांग्रेस-एमाले मिलेर स्थायित्व दिनसक्छन्’

उमेश थापा

काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक हुन्, पदम गिरी। पर्वतबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका गिरी एमालेभित्र स्पष्ट वक्ता मानिन्छन्। यसअघि ४२ दिनसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका उनलाई संसद र सरकारप्रति प्रमुख प्रतिपक्षको रणनीतिका बारेमा बिएल नेपाली सेवाले ३ प्रश्न सोधेकाे छ:

१.एमाले र कांग्रेस मिलेर सरकार बनाउन कत्तिको सम्भव देख्नुहुन्छ?

देशको अवस्थालाई मध्यनजर गर्ने हो भने एकअर्कासँग सहकार्य गर्न आवश्यक छ। जनतामा आशा र विश्वास जगाउनका लागि पनि राजनीतिक पार्टीले केही समय सहकार्य गर्नैपर्छ। एमाले र कांग्रेसले मिलेर देशलाई स्थायित्व दिनसक्छन्। मुलुकलाई सुशासन दिनसक्छन्। समृद्धिको बाटोमा डोर्‍याउन सक्छन्।

जनतामा अहिले राजनीतिक पार्टीबाट विश्वास गुमेको अवस्था छ। यो फिर्ता ल्याउनुपर्छ। पुराना पार्टीको अस्तित्व जोखिममा परेको छ। त्यसलाई मजबुत बनाएर अघि बढ्ने बेला हो यो।

२. यो सरकारको आयु कति हो जस्तो लाग्छ तपाईंलाई? यो सरकारले गरिरहेको कामलाई तपाईंले नियाल्दा के जस्तो लाग्छ?

जस्तो कि नक्कली भुटानी शरणार्थी प्रकरण सरकारले खोजेर ल्याएको होइन। ठगिएका व्यक्तिहरूले प्रहरी गुहारेपछि बल्ल सरकारले थाहा पाएको हो। महिनौँदेखि पैसा बुझाएर अमेरिका जान आशामा कुर्दै बसे। अमेरिका पनि जान नपाउने र पैसा डुब्ने अवस्था भएपछि उजुरी दिनैपर्ने बाध्यता आइलाग्यो। अनि धमाधम उजुरी दिन थालियो, कसैले चाहेर पनि ढाकछोप गर्न सकेनन्। अनि विस्फोट भएर बाहिर आयो।

जब अति हुन्छ,  त्यसपछि खति हुन्छ भनेझैं भयो। आफूहरु जोगिनका लागि राजनीतिक दलसम्म धाउने काम भयो। तर, कसैको केही लागेन। अनुसन्धानले हाँगाबिगाँ समात्यो। अपराध गर्नेहरू समातिए।

एकाध कामलाई हेरेर यही सरकार रहिरहन्छ भनेर ठोकुवाका साथ भन्न सक्ने अवस्था छैन। यो सरकार जुनसुकै बेला ढल्न सक्छ। किनभने विभिन्न स्वार्थ समूहको जोड मिलेर बनेको छ, यो सरकार। यसले कुनै पनि क्षेत्रमा आशातित काम गर्न सकेको छैन। जनताको पनि यस सरकारलाई सर्मथन छैन।

सांसदहरू पनि सरकारको काम कारबाहीबाट निराश छन्। संसदभित्र होस् या बाहिर चर्को आलोचना भइरहेको छ। यो सरकारको जग भत्किइसकेको छ। मलाई लाग्छ, यो सरकार धेरै जाँदैन, एकाध महिनामा ढल्छ।

३. नयाँ पार्टीहरूलाई एमालेले हेर्ने नजर के हो?

राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ पार्टी हो। पुरानाले केही गर्न नसकेपछि जनताले उहाँहरूलाई विकल्प बनाउनुभएको हो। तर, उहाँहरुले जनताको अपेक्षाअनुसार काम गर्न सकिरहनुभएको छैन। जनताले उहाँहरुमाथि जुन विश्वास गर्नुभएको छ, उहाँहरू त्यसमा उत्रिन जरुरी छ।

पार्टीले यसलाई गहन जिम्मेवारीको रुपमा लिनुपर्छ। आफ्नो सिद्धान्त, विचार के हो? उहाँहरु यसमा प्रष्ट हुन जरुरी छ। उहाँहरुको परीक्षा अझै बाँकी नै छ। हेर्दै जाऔँ के हुन्छ।

प्रकाशित मिति: : 2023-07-16 20:13:00

प्रतिकृया दिनुहोस्